प्रदेश ३ बाट स्वतन्त्र पत्रकार परिचय पत्र वितरण सुरु

 साउन १६, २०७६ बिहिबार २०:३५:४९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ ले बिहिबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ ।

सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सीएमआइएस) वेब एप्लिकेसन सफट्वेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गरी सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ परिचयपत्र वितरण सुरु गरेको हाे। 

काठमाण्डौमा सूचना तथा प्रसारण शाखाको उदघाटनका अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारहरुलाई बिहीबार स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र वरिष्ठ पत्रकार युवराज घिमिरेलाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गर्नुभएकाे थियाे ।

पत्रकारहरु राजकुमार रेग्मी, सुरेन्द्र पाण्डे, चिरञ्जीवी ढुंगाना, अरुणदेव जोशी, मनोज दाहाल, मात्रिका पौडेल, गंगा बिसी, अर्जुन खडका, सरस्वती कर्माचार्य, मणि लोहनी, छेटु शेर्पा र दिपा दाहालले सञ्चार रजिष्ट्रारको कार्यालयबाट स्वतन्त्र पत्रकार परिचयपत्र प्राप्त गरेका छन् । अंग्रेजी र नेपाली दुवै भाषामा रहेको परिचयपत्रमा राहदानी नम्बर, बाहकको मोबाइल नम्बर, रक्त समूह पनि उल्लेख गरिएको छ ।

गर्भनेन्स अटोमेसन सोलुसनले तयार गरेको सफ्टवेयरमा प्रदेश भित्र काम गर्ने पत्रकारहरुले आफनो ठाउँबाट अनलाइनमार्फत निवेदन दिन मिल्ने गरी निर्माण गरिएको छ ।  सफटवेयरमा पत्रकारहरुको व्यक्तिगत, शैक्षिक, तालिम, भ्रमण र अन्य विस्तृत विवरण पनि राखिएको हुन्छ । 

‘प्रदेश भित्रका कुनै पनि जिल्लाबाट अनलाइन मार्फत आफनो निवेदन दर्ता गर्न मिल्ने प्रणाली विकास गरिएकोले पत्रकारहरु प्रदेशको राजधानी हेटौडा वा काठमाडौ शाखामा पुगिराख्नु पनि पर्दैन, आफू कार्यरत जिल्लाबाट आफनो विवरण अपडेट गराएपछि प्राप्त भएका कागजात अध्ययन गर्छौँ, परिचयपत्रलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउँदैछौ’ सञ्चार रजिष्ट्रार रेवती सापकोटाले भन्नुभयाे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले काठमाण्डौमा स्थापना गरिएको शाखा कार्यालयबाट काठमाण्डौ उपत्यका र वरिपरिका जिल्लाका पत्रकारहरुले सहज रुपमा सेवा लिन पाउने व्यवस्था गरिएको बताउनुभयाे । ‘संघीयता कार्यान्वयनको क्रममा जनताको नजिकमा सरकार पुग्ने यसरी नै हो । प्रदेश सरकार श्रमजीवी पत्रकार र सञ्चार माध्यमप्रति सकारात्मक छ’, मन्त्री जम्कटेलकाे भनाइ थियाे । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया