मुआब्जा बुझेर पनि संरचना नहटाउँदा विस्तार भएन सडक

 साउन १७, २०७६ शुक्रबार ७:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – मुआब्जा बुझेर पनि संरचना नहटाउँदा दाङको लमही कोइलाबास सडकमा पर्ने गढवा बजार खण्डको सडक विस्तार र कालोपत्रेको काम हुन सकेको छैन । 

यो सडकमा पर्ने जग्गाधनी मध्ये ८० प्रतिशतले मुआब्जा बुझिसकेको गाउँपालिकाले जनाएको छ । तर स्थानीयले भने पालिकाले नै आफ्ना संरचना नहटाएकाले आफूहरुले पनि नहटाएको बताउने गरेका छन् ।

यो सडकखण्डमा केही घरहरु तत्कालीन गढवा गाविसले निर्माण गरी भाडामा दिएको थियो । पालिकाले आफ्नो संरचना नभत्काएकाले मुआब्जा बुझेका जग्गाधनीहरुले पनि घर नभत्काएका बताएका छन् ।

जग्गाको मुआब्जा पाएकाहरुले पनि काम गर्ने बाटो नखोलिदिएको वडा नम्बर ६ का अध्यक्ष बालचन्द्र हमालले जानकारी दिनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले वर्षायाम सकिने बित्तिकै सार्वजनिक सूचना निकाले गाउँपालिकाका संरचना भत्काउने तयारी भैरहेको जानकारी दिनुभयो । 

गढवाको जस्तै समस्या कोइलाबास बजार र लमही नगरपालिका भित्रको सडकमा पनि छ । काम गर्ने क्षेत्र क्लियर नगरिदिएकाले करिब ३ किलोमिटर क्षेत्रमा कुनै पनि काम नभएको सडक निर्माण कम्पनी कुमार कालिका जेभिका प्रतिनिधि मुकेशकुमार शाहले बताउनुभयो ।

यी क्षेत्रमा पर्ने जग्गा धनीमात्रै समस्या बनेका भने होइनन् । सडक क्षेत्रमा गाडीएका विद्युत तथा टेलिफोनका पोल, खानेपानीका पाइप पनि सडक विस्तारमा समस्या बनेका छन् । यसका समाधानका लागि सम्बन्धित निकायले अहिलेसम्म चासो देखाएका छैनन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया