१०० नम्बरमा ‘ब्लफ कल’ आउन थालेपछि प्रहरीलाई सास्ती

 साउन १८, २०७६ शनिबार १५:५५:४२ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला प्रहरी कार्यालय डोटीमा नागरिकलाई सूचना दिन सजिलो होस् भनेर राखेकाे पैसा नलाग्ने १०० नम्बरको फोनमा अनावश्यक फोन आउन थालेपछि प्रहरीलाई निकै सास्ती भएको छ । 

पैसा नलाग्ने १०० नम्बरमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालय डोटीको कन्ट्रोल रुममा बस्ने प्रहरीहरु हैरान भएका छन् । 

घटना, दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्री नम्बरमा घटना, दुर्घटनासम्बन्धी गलत सूचना दिने, गाली गर्ने तथा महिला प्रहरीको ड्युटी भएको समयमा गलत व्यक्तिले जिस्काउन थालेपछि केही समय यता डोटी प्रहरी कार्यालयले सास्ती बेहोर्नु परिरहेकाे छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार प्रहरीको १०० नम्बरमा दैनिक २ सयको हाराहारीमा फोन आउने गर्दछ । गाउँमा भएका घटनाको बारेमा त्यही फोन मार्फत समयमै जानकारी पाएर समस्या समाधानको लागि तत्कालै कारबाही अगाडि बढाउनुपर्नेमा गलत सूचना आएपछि हैरान भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सही सूचना आउनुको साटो गलत खबर टिपाइदिँदा प्रहरीलाई त्यसको पुष्टि गर्नमै समस्या हुने गरेको छ, गलत तथा अनावश्यक खबरले जिल्लालाई नै तरंगित बनाउने गर्दछ ।’

दिनहुँ ‘ब्लफ कल’ आउन थालेपछि प्रहरी जवानलाई फोन उठाउने काम पनि असजिलो लाग्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो । ‘१०० नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएपछि सानादेखि ठूला मान्छेले फोन गर्ने र गलत खबर दिने गरेकाले हैरानी बनाएको छ’, उहाँले भन्नुभयो ।  

‘ब्लफ कल’ का कारण निकै सास्ती बेहोर्नुपरेको गुनासो गर्दै महिला प्रहरी जवान कुसुम कार्कीले भन्नुभयो, ‘मध्यरातमा फोन गर्छन्, फोन उठाउँदा सिधै अश्लील कुरा गर्छन्, कहाँबाट को बोलेको भनेर सोधेपछि झ्याप्पै फोन राख्छन् ।’ उहाँका अनुसार पुरुष मात्र नभइ महिलाले पनि गाली गर्न थालेका छन् । 

प्रहरीका अनुसार यस्ता गाली गर्ने तथा गलत सूचना दिनेहरुले प्रायजसो एनसेलको सिम कार्ड प्रयोग गर्ने गरेका छन् । फोनको ड्युटीमा खटिने प्रहरीका अनुसार अनावश्यक कुरा गर्दै फोन गर्ने गरेको र यताबाट झपारेपछि मात्र फोन राख्ने गरेका छन् । 

गलत सूचना दिने तथा गाली गरेको भन्दै जिल्लाको केआईसिंह गाउँपालिकाका एक जनालाई प्रहरीले केही समय अगाडि पक्राउ गरे पनि उनले त्यस्तो नगरेको प्रमाणित भएपछि छोडिएको थियाे । 

यता जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यान्नद माझीले यस्ता अनावश्यक सूचना दिने तथा फोन गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएसम्म समस्या समाधान नहुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया