‘शान्त मस्तिष्क र योग ध्यानकाे अभ्यासले स्मरणशक्ति र जिन्दगी सही ढंगले अघि बढ्छ‘

 साउन १८, २०७६ शनिबार १७:४७:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – योग, अध्यात्म र ज्योतिष विज्ञानकाे पनि जानकार विदुर फुयाँल आफूलाई मोटिभेटर(उत्प्रेरक) तथा मेमोरी मास्टरका रुपमा चिनाउनुहुन्छ।

‘मोटिभेसन’ (उत्प्रेरणा), ‘कन्सन्ट्रेशन (एकाग्रता), र ‘टेक्निक’(तरिका) सम्बन्धी जानकारी गराउन उहाँ देशका विभिन्न जिल्लामा रहेका स्कुल-कलेजमा पुगिरहनुहुन्छ । हालसम्म उहाँ देशका ३२ जिल्लामा पुगेर विभिन्न स्कुल-कलेजमा शिक्षक तथा विद्यार्थीलाई यसबारे जानकारी गराइसक्नुभएको छ । उहाँले यसै क्षेत्रमा ११ वर्ष बिताइसक्नुभएको छ ।

यसै सिलसिलामा केही दिनअघि लमजुङ पुग्नुभएका फुयाँललाई भेटेर उज्लायो सहकर्मी श्यामशितल परियारले  संक्षिप्त कुराकानी गर्नुभएको छ ।

यहाँ मोटिभेसन, कन्सन्ट्रेशनसम्बन्धी जानकारी गराउनका लागि देशका विभिन्न जिल्लामा पुगिरहनु हुन्छ, अनुभव कस्तो रहन्छ ? 

हिजाेआजधेरै विद्यार्थीहरु पढ्न चाहदैँनन् । उनीहरु पढाइबाट टाढा हुन चाहन्छन् । पढाइलाई बोझ ठान्छन् । पढाइलाई बाेझ हाेइन मोज कसरी बनाउन सकिन्छ ? भनेर सिक्न २०६५ सालमा म डा. योगी विकासानन्दको आश्रममा बसेँ । त्यहाँ बस्दा मान्छेको जीवनमा वास्तवमा ३ चीज‘मोटिभेसन’ (उत्प्रेरणा), ‘कन्सन्ट्रेशन (एकाग्रता), र ‘टेक्निक’(तरिका) थाहा नभएर पढ्न मन नलाग्ने रहेछ भन्ने कुरा सिकेँ ।

मान्छे के गर्दा एकाग्र हुन्छ, के खानुपर्छ धेरैलाई थाहा छैन । कतिपय विद्यार्थी पढ्न आवश्यक छ र ? के पढेर हात्ती ठूलो भएको हो र ! भन्ने जस्ता कुरा गर्छन् । हामी कसरी प्रेरित हुने ?  

खासमा मस्तिष्कको दायाँ पाटोलाई प्रयाेग नगरेका कारण पढाइ गाह्रो भइरहेको छ । यसलाई कसरी पढाइमा प्रयाेग गर्ने, कुन तरिकाले पढ्ने भन्नेमा धेरै मान्छे अलमलिएका छन् । यसबारे जानकारी गराउन नै हामी हिँडिरहेका छौँ ।

मान्छे सफलताको भोको हुन्छ । मान्छेले जीवनमा कसरी सफलता हासिल गर्न सक्छ ?

सफलताका लागि सबैभन्दा पहिले तपाईँ कुन विषयमा सफल हुने त्यो स्पष्ट हुनुपर्छ । विषय स्पष्ट भएपछि निरन्तर मेहनत गर्नुपर्छ, बीचैमा छाड्नुहुँदैन । जीवनमा त्यस कुराप्रतिकाे कल्पना भइराख्याे भने तपाईँ सफल हुन सक्नुहुन्छ ।

तपाई ‘मेमोरी मास्टर’ पनि हुनुहुन्छ । स्मरणशक्ति कसरी वृद्धि गर्न सकिन्छ ?

हामी धेरै जंक फूड(पत्रु खाना), खान्छौँ । प्राय बजारिया चीजमा मस्तिष्कलाई हानी गर्ने कुराहरु हुन्छन् । हामी गाउँघरमा सर्वसुलभ रुपमा पाइने तीलको अचार, केरा, स्याउ, गाईको दूध, दही घ्यू लगायतका कुरा खान छोडेर बजारिया चीज खान अभ्यस्त भएका छौँ । यसले गर्दा हाम्रो स्मरणशक्ति कम भएको छ ।

अर्को कुरा हामीले मस्तिष्कलाई अनावश्ष्क तनाव दिएका छौँ । गाउँघरमै उपलब्ध हुने खानाका साथै मस्तिष्कलाई शान्त राख्ने र अलिकति योग, ध्यानमा लागे, हाम्रो स्मरणशक्ति र जीन्दगी सही ढंगले अघि बढ्छ ।

व्यस्त जीवनशैलीका साथै पछिल्लो समय प्रायः अधिकांश मानिस कुनै न कुनै रुपमा तनावमा रहेको पाइन्छ । तनाव भुलेर सुख–खुसीसाथ कसरी जीवन जिउन सकिन्छ ?

संसारमा आइसकेपछि हर्षका स्थान पनि हजार छन्, दुःखका स्थान पनि हजाराैँ छन् । मुर्ख मान्छे हर्षमा खुसी हुन्छ । दुःखमा दुःखी हुन्छ । तर विद्धानले दुवैलाई सामान्य हिसाबले लिन्छ । जबसम्म हामीले सफलता र असफलतालाई एउटै ढंगले लिन सक्दनौँ, तनाव भइरहन्छ । हामीले सफलता र असफलतालाई एउटै ढंगले लिन सकेमा तनाव कम हुन ।

हाम्रो खानपान, बसाइ, उठबसका कारणले पनि तनाव हुन सक्छ । योग, ध्यानमा लागे, सही ढंगले सही खानेकुरा खाए तनाव कम गर्न सकिन्छ ।

स्वस्थ्य जीवनशैली कसरी अवलम्बन गर्न सकिन्छ ?

स्वस्थ्य जीवनशैली हाम्रो बिहानबाट सुरु हुन्छ । बिहानको सयमलाई ‘आवर अफ पावर’ अर्थात शक्तिकाे समय भनिन्छ । यदि तपाइ चाँडो उठ्नुभयो, बिहान योग, ध्यान गर्नुभयो, योग ध्यान नगरे पनि कसरत गर्नुभयो र राम्रो खानपान गर्नुभयो भने स्वस्थ हुन सक्नुहुन्छ ।

आहार–विहारका साथै हाम्रो निद्रा राम्रो भयो भने हामी स्वस्थ हुन्छौ ।

आजकाल त हामी मोबइल धेरै चलाउँछौँ, फेसबुक धेरै चलाउँछौँ । राति पार्टीतिर लाग्छौ । यी कारणले गर्दा नै हाे हामी स्वस्थ नभएको ।

र अन्त्यमा मानव जीवनमा योग र अध्यात्मको के महत्व छ ?

योग र अध्यात्म जीवनको अन्तिम ठाउँ हो । यसले तपाईँलाई सफलता–असफलता, पाएको–नपाएको कुरा सहजतासँग लिन सिकाउँछ । मर्नुभन्दा अघि केही नहुँदा र कोही नहुँदा पनि आफैँसँग खुसी हने विद्या योग हो ।

जतिसुकै मानसम्मान, धनसम्पति कमाए पनि यदि तपाईँ खुशी हुन सक्नुहुन्न, स्वस्थ हुनुहुन्न भने त्यो व्यर्थ हुन्छ । योग र अध्यात्मले तपाईँलाई त्यो चीज दिन्छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया