जब मोबाइलमा सन्देश आयो – बागमती सफाइ गर्न बुद्धनगरमा भेटौँ

 साउन १९, २०७६ आइतबार १०:१०:९ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – कोटेश्वरका चन्द्र दंगालको मोबाइलमा पहिलो पटक सन्देश आयो । सन्देशमा शनिबार बागमती सफाइ अभियानमा सहभागी हुन बुद्धनगरमा भेटौँ’ भनेर लेखिएको थियो । उहाँ भन्नुहुन्छ ‘मलाई त करोडौँको चिट्ठा परेको मेसेज आएजस्तै खुशी लाग्यो ।’ बागमती सफाइको यो अभियानले उहाँलाई फुरुङ्ग बनायो । उहाँले सफा बागमती बगेको कल्पना गर्नुभयो । शनिबार कहिले आउला र बागमती सफाइका लागि गइहालौँ भनेजस्तै भयो ।

भोलिपल्ट बागमतीको किनारमा पुग्नुभएका दंगाल भन्नुहुन्छ ‘त्यसपछि त बागमतीले मोहनी लगाएजस्तै भयो, कहिले शनिबार आउला र बागमती किनारामा फोहोर सोहोर्न पुगुँला जस्तो हुन्थ्यो, मरेका कुकुरदेखि कुहिएको फोहोर सोहोर्दा पनि कहिल्यै घिन लागेन, लेदो जस्तो नदीमा पसेर कसरी धेरै फोहोर झिक्न सकिन्छ भन्ने लाग्थ्यो ।’

नेतादेखि कलाकार हुँदै प्रतिष्ठित व्यक्तिहरु सफाइ अभियानमा सहभागी हुन बागमती किनारमा पुग्थे । कोहीले फोहोर तानेर, कोहीले छोएर, कोहीले छोएजस्तो गरेर वा कोही किनारमा उभिएर सफाइको चर्चा गरे । सामाजिक सञ्जाल र सञ्चार माध्ययममा छाए । त्यही भीडमा दंगाल भने चुपचाप नदीमा पसेर फोहोर तानिरहनुहुन्थ्यो । 

झण्डै ३० वर्षअघि संखुवासभाबाट काठमाण्डौ आउँदा बागमतीमा सङ्लो पानी बगेको दृश्य उहाँको आँखामा झलझली आउँथ्यो । त्यतिबेला बागमतिमा माछा पाइन्थ्यो । अहिले बागमतीको यो अवस्था देखेर उहाँका आँखा रसाए । सफाइ अभियान सुरु हुनुभन्दा अघि नै बागमतीको दुर्गन्ध कोठासम्म पुग्दा यो नदी कसरी सफा बनाउन सकिएला भन्ने उहाँलाई लागिरहन्थ्यो । त्यही इच्छाले गर्दा फोहोर सोहोर्न आउनु भन्ने सन्देशले पनि उहाँलाई खुशी दियो । 

बागमती सफाइ अभियानको सुरु सुरुमा बागमतीको पानी छुन त के किनारमा केहीबेर उभिन पनि मानिसलाई निकै कठीन हुन्थ्यो । दुर्गन्ध यति धेरै थियो कि जो कोही गाडीमा चढेर बागमती पुल तर्दै गर्दा पनि सास रोक्थे । तर हरेक शनिबार बिहान एक घण्टाभन्दा बढी त्यही नदीमा डुबेर फोहोर तान्दा पनि दंगाललाई केही भएन । उहाँको मनमा एउटै कुरा आउँथ्यो ‘यो नदीमा कहिले सङ्लो पानी बग्ला ।’

सफाइ अभियानमा आउने जाने लाखौँ भए । तर हप्ता नबिराइ आउने सयौँको संख्यामा उहाँ पनि चिनिन थाल्नुभयो । सरसफाइको कामदार व्यवस्थापन गर्ने एक निजी कम्पनीमा काम गर्ने दंगाल नदी किनारमा पुगेदेखि त्यो दिनको अभियान नसकिँदासम्म फोहोर झिक्नमै व्यस्त रहनुहुन्थ्यो । 

कोही फोटो/भिडियो खिच्नमा व्यस्त हुन्थे । यसरी बागमती किनारामा फोटो भिडियो खिच्नेप्रति पनि उहाँ सकारात्म हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सामाजिक सञ्जालमा सरसफाइ गरिएको एउटा फोटो कसैले राख्यो भने पनि अरु धेरैले सरसफाइ गर्नुपर्छ भन्ने बुझ्छन्, कसैले नदी किनारमा पुगेर नदी सफाइ आवश्यक छ भन्यो भने पनि अरु धेरै जना सरसफाइप्रति आकर्षित हुन्छन्, त्यसैले फोटो भिडियो खिच्नेले पनि सरसफाइमा महत्वपूर्ण सहयोग गरिरहेका हुन्छन् ।’

बागमतीबाट मनोहरामा

बागमती सफाइ महाअभियानको दोस्रो हप्तादेखि सुरु भएको उहाँको बागमती यात्रा २ सय हप्तासम्म चल्यो । शनिबार बिहानै उठेर ढल मिसिएको बागमतीसँग खेल्नु उहाँको नित्यकर्म जस्तै भयो । बागमतीमा जाँदै गर्दा उहाँको ध्यान मनोहरा नदीतर्फ मोडियो । 

सहायक नदीहरु सफा नगरी बागमती सफा हुँदैन भन्ने उहाँलाई लाग्यो । त्यसअघि नै रामकुमार श्रेष्ठको सक्रियतामा रुद्रमती सफाइ अभियान सुरु भइसकेको थियो । हरेक बुधबार हुने बागमती सफाइ अभियानबारेको छलफलमा उहाँले मनोहरा नदी पनि सफा गर्नुपर्ने प्रस्ताव राख्नुभयो । प्रस्तावसँगै मनोहरा नदीमा गएर सफाइ अभियान सुरु गर्ने जिम्मेवारी पनि उहाँमाथि नै आयो । 

अनि मोडियो यात्रा मनोहरामा

बागमती नदी सफाइ महाअभियानको २ सय हप्ता पूरा भएपछि मनोहरा नदी सफाइ गर्ने योजना बन्यो । उहाँले मनोहरा नदी क्षेत्रका विभिन्न व्यक्तिसँग भेटघाट, छलफल गर्नुभयो । विभिन्न संघ संस्था, विद्यालय, समूहसँग छलफल गर्नुभयो । 

छलफल, समन्वय गर्दै जाँदा बागमती सफाइ अभियान सुरु भएको २२० औं हप्तादेखि मनोहरा नदी सफाइ अभियान पनि सुरु भयो । सुरुका दिनमा केही व्यक्ति जम्मा हुने र सफाइ अभियान सञ्चालन गर्ने क्रम चलिरह्यो । कोही नयाँ थपिने त कोही छाड्ने क्रम चलिरह्यो । 

कुनै हप्ता बाबुछोरा मात्रै  

मनोहरा नदी सफाइ अभियान सुरु भएको ५० औं हप्तापछि उहाँ लगायतको सक्रियतामा हनुमन्ते नदी सफाइ अभियान पनि सुरु भयो । हनुमन्ते नदी सफाइमा त्यहाँका जनप्रतिनिधि तथा संघसंस्थाले सक्रियता देखाएको कारण चाँडै गति लियो । तर मनोहराको अभियान सेलाउँदै गयो । अभियान यति सेलायो कि ५५ औं, ५६ औं हप्तामा पुग्दा सफाइ अभियानमा चन्द्र दंगालका बाबुछोरा मात्र हुनुभयो । बाबुछोरा मात्र भए पनि अभियान छाड्नुभएन ।  

अभियान कसरी अघि बढाउने भन्ने चिन्ताकाबीच उहाँले वडा तथा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्नुभयो, वडा सदस्यहरुले टोलटोलमा पुगेर सबैलाई अनुरोध गरे । सबैको पहलमा अभियान फेरि ब्युँतियो । अहिले हप्तामा एक ट्रक भन्दा धेरै फोहोर संकलन हुन्छ । अहिले फोहोर संकलनसँगै घरबाट निस्कने फोहोर सकेसम्म घरमै व्यवस्थापन गर्नको लागि टोलटोलमा पुगेर छलफल गर्ने काम भैरहेको र यसको नेतृत्व सम्बन्धित वडा कार्यालयले लिएको उहाँ बताउनुहुन्छ । 

फेरिएको परिचय

अहिले उहाँको परिचय नै फेरिएको छ । सक्रिय सरसफाइ अभियन्ताको रुपमा उहाँ चिनिनुहुन्छ । नहिच्किचाइकन फोहोरको डङ्गुरमा पसेर सफा गर्ने उहाँ सरसफाइको आवश्यकताका बारेमा अरुलाई पनि सम्झाउँदै हिँड्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘आफ्नो परिवारको लागि मात्र दशकौँ बिताएको म अहिले अभियन्ता भनेर चिनिंदा ज्यादै खुशी छु, कम्तीमा अरुका लागि केही गरेको छु भन्ने लागेको छ, म साइबाबालाई विश्वास गर्छु र उहाँले भन्नुभएको जस्तै अरुको लागि केही गर्न पाउँदा ज्यादै खुशी पनि छु ।’

सङ्लो पानी बगेको हेर्ने रहर  

उहाँको एउटै धोको चोभारबाट सङ्लो बागमती बाहिरिएको हेर्नु छ । आफू काठमाण्डौ आउँदा बागमतीको सङ्लो पानीमा माछा पौडिएको देखेको इतिहास वर्तमानमा फेरिएको हेर्ने रहर पूरा हुने विश्वास पनि उहाँमा छ । उहाँ भन्नुहुन्छ, ‘जनप्रतिनिधि आएका छन्, सबै काम पालिकाहरुले गर्न पाउँछन्, उनीहरुले ढल व्यवस्थापन गरिदिने हो भने र नदीमा फोहोर फ्याँक्ने काम रोक्ने हो भने त्यो सम्भव छ, हामी उहाँहरुलाई अनुरोध गरिरहेका छौँ।’

फोहोर घरमै रोकौँ

अहिले काठमाण्डौ उपत्यकाको सडकमा निस्कने आधाभन्दा धेरै फोहोर घरमै रोक्न सक्ने उहाँको दावी छ । आफूले फोहोर उठाउनेलाई पठाउन तथा सडकमा फ्याँक्न छाडेको धेरै समय भैसकेको बताउने दंगाल कुहिने फोहोरलाई मल बनाएर तथा नकुहिने फोहोरलाई बिक्री गरेर व्यवस्थापन गर्न सकिने बताउनुहुन्छ ।

घरघरमै फोहोर व्यवस्थापनको लागि नगरपालिका तथा गाउँपालिकाहरुले भूमिका खेल्नुपर्ने दंगाल बताउनुहुन्छ । सड्ने फोहोरबाट कसरी मल बनाउने र नसड्ने फोहोर कसले किनेर लैजान्छ भन्ने कुरा टोलटोलमा पुगेर बुझाउने र फोहोर बस्तु पुनःप्रयोगका लागि संकलन गर्नेहरुलाई केही सुविधा दिने हो भने आधाभन्दा धेरै फोहोर घरमा व्यवस्थापन हुने उहाँको दाबी छ । यसो गरेमा फोहोर व्यवस्थापनको लागि अहिले देखिएको समस्या कम हुने उहाँको सुझाव छ । 

शरीरले सक्दासम्म नदी सफाइमा 

परबाटै हेर्दा बान्ता हुने खालको दुर्गन्धमा सफा गरिरहनुभएका दंगाल इच्छाशक्तिकै कारण स्वास्थ्यमा समस्या नआएको बताउनुहुन्छ ।

अहिले त सफाइमा जाने लत नै बसेको बताउने दंगाल आफूले सकुञ्जेल सफाइ अभियानमा जाने भन्दै उहाँ सडक, नदी तथा सार्वजनिक ठाउँ सरसफाइको लागि सबैसँग आग्रह गर्नुहुन्छ । 

अन्तिम अपडेट: असोज ३, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया