अरुण तेस्रोको प्रगति २२ प्रतिशत, समयमै काम सक्न ऊर्जामन्त्रीको निर्देशन

 साउन १९, २०७६ आइतबार १४:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २२ प्रतिशत सकिएको छ । 

भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएनले निर्माण गरिरहेको आयोजनाको काम २२ प्रतिशत सम्पन्न भैसकेको कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा सीईओ धिमानले सुरुङको काम १२ प्रतिशत सकिएको पनि जानकारी दिनुभयो । 

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्याकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभयो । 

‘सरकार र ऊर्जामन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौँ, तपाईँहरुले समय सीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ’, मन्त्री पुनले भेटमा भन्नुभयो ।

एसजेभीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण तेस्रो जलविद्युत् परियोजना समय सीमाभित्र नै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारको तर्फबाट सहयोग प्राप्त भैरहेको जनाउँदै स्थानीयले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा पछिल्लो समय लगानीको लागि राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको गर्न इच्छुक रहेको मन्त्री पुनसँग भन्नुभयाे । 

९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको झन्डै २२ प्रतिशत अर्थात १ सय ९८ मेगावाट विद्युत् २५ वर्षसम्म भारतले नेपाललाई निःशुल्क दिनेछ । २५ वर्षपछि भने आयोजनाको स्वामित्व नेपालकै हुनेछ । 

आयोजनाको  शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया