गाउँका सडकमा पहिरो र भेल !

 असार २६, २०७५ मगलवार १०:३०:५६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं –  यो वर्षको वैशाखमा मात्रै बझाङका रुमैली, थलारा, सबेडाको चौठ्या, लुयाटा मटेलालगायतका ठाउँमा आएको बाढी र पहिरोमा परेर १० जनाले ज्यान गुमाए ।  ७ हजार रोपनी जमिन बगर बन्यो । दर्जनौं पशु चौपाया मरे । केहि घर परिवार विस्थापित भए ।  गाउँमा उज्यालोको एकमात्र विकल्प बनेका कयौं लघु जलविद्युत आयोजना पनि बाढीले बगायो । सडककै कारण थलारा  गाउँपालिका वडा नम्बर ८ को आमवगरमा त गाउँ नै जोखिममा परेको छ । बैशाखमै यस्तो बाढी र पहिरोको प्रकोप भोगेका बझाङका धेरैजसो गाउँका नागरिक बर्खामा के हुने हो भन्ने डरले थुरुरु छन् ।

तेह्रथुमका ६ वटा स्थानीय तहका ४३ वटै वडामा सडक पुगेका छन् । अन्धाधुन्ध खनिएका केहि सडकमा हिउँदमा त गाडी चल्छन्, तर बर्खामा भने धेरैजसो सडकमा कतै पोखरी नै बनेका हुन्छन् भने कतै बाटोको नामो निशानो नहुने गरी सडक बगेका भेटिन्छन् । मध्यपहाडी लोकमार्गमा गएको बर्ष एक सय भन्दा धेरै ठाउँमा पहिरो गएको थियो । २६ किलोमिटर लामो जिल्ला भित्रने बसन्तपुर–म्याङलुङ सडकमा पनि पहिरै पहिरा छन्, २६ किलोमिटर पार गर्न न्युनतम ६ घन्टा लाग्ने गरेको छ । जिल्लाका मेन्छ्यायम गाउँपालिकाका कुनै पनि सडक बर्खामा चल्दैनन् । लालीगुराँस गाउँपालिकामा पु¥याइएका सडकमा सानो पानी पर्दा पनि पहिरै पहिरो देखिन्छ ।

बझाङ र तेह्रथुम त उदाहरण मात्रै हुन् । अरु जिल्लाका पनि धेरैजसो  गाउँमा बनाइएका अव्यवस्थित सडकको हालत बयान गरिनसक्नु छ । सडकका कारण धेरै गाउँ पहिरोको जोखिममा परेका छन् । अन्धाधुन्ध खनिएकै सडकको कारणले सानो पानी पर्दा पनि ठुलो बाढी आइरहेका छन् । सडककै कारण धेरै पहाडी क्षेत्रमा माथिबाट पहिरो झरेर वस्ती नै सोहोर्ने हो कि तलबाट गाउँ नै तान्ने हो भन्ने खतरा बढ्दै गएको छ ।

‘डोजर इन्जिनियरिङ’ को कमाल, गाउँगाउँमा पहिरोको बेहाल

‘गाउँमा डोजर पुगेपछि आफूलाई पायक पर्ने ठाउँबाटै बाटो लैजान डोजर चालकलाई बेलुकी लोकल कुखुरा र रक्सी खुवाउने अनि आफूलाई अनुकूल हुने ठाउँबाट बाटो खनाइएका धेरै उदाहरण हामीले देखेका छौं’

राष्ट्रिय राजमार्ग र सहायक राजमार्गसडक विभागले बनाउँछ । विदेशी सहयोग र विभिन्न सहायता परियोजनाका ठूला सडक पनि सडक विभाग अन्तर्गत नै बन्दै आएका छन् । यस्ता राजमार्ग बनाउँदा प्राविधिक अध्ययन गरिन्छ र केही हदसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि गरिन्छ ।

राष्ट्रिय राजमार्ग र सहायक राजमार्गबाहेकका अरु सडक साविकको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास तथा  कृषि सडक विभाग, डोलिडारले बनाउँदै आएको छ । डोलिडारले पनि सकभर इन्जिनियरिङ हिसाबले कुन ठाउँबाट सडक खन्दा ठीक छ भनेर प्राविधिक अध्ययन त गर्छ, तर सडक योजनागाउँगाउँमा पुग्दा राजनीतिक दल र पहुँचवालाले प्राविधिक अध्ययन उल्टाएर आफूलाई पायक पर्ने ठाउँबाट बाटो खन्ने गर्छन् ।

‘गाउँमा डोजर पुगेपछि आफूलाई पायक पर्ने ठाउँबाटै बाटो लैजान डोजर चालकलाई बेलुकी लोकल कुखुरा र रक्सी खुवाउने अनि आफूलाई अनुकूल हुने ठाउँबाट बाटो खनाइएका धेरै उदाहरण हामीले देखेका छौं’ डोलिडारमा कार्यरत एक इन्जिनियरले उज्यालो अनलाइनसँग भने, ‘पहुँचवालाले प्राविधिकलाई नै किनेर आफू अनुकूलको ठाउँमा बाटो खनाउँछन्, पहुँच नहुनेले डोजर ड्राइभरलाई मासु र रक्सी खुवाएर भएपनि मनलाग्दी बाटो खन्ने गरिएको छ ।’

डोलिडारले जिल्लाका सदरमुकामदेखि स्थानीय तहका केन्द्रसम्म जोड्ने २५ हजार ७ सय २८ किलोमिटर र ३१ हजार ९ सय ४ किलोमिटर गाउँ छिचोल्ने गरी ५७ हजार ६ सय ३२ किलोमिटर सडक बनाएको छ । ५७ हजार किलोमिटर ग्रामिण सडकमध्ये जम्मा २ हजार किलोमिटर सडकमा मात्रै कालोपत्रे गरिएको छ । कच्चीबाहेकको अधिकांश सडकले गाडीलाई भन्दा पनि पहिरोलाई निम्त्याइरहेका छन् ।

डोलिडारले प्राविधिकहरुमार्फत अध्ययन गरेर र वातावरणीय अध्ययन गरेरै सडक बनाउने भएपनि स्थानीय तहमा गएको बजेटबाट खनिने धेरै बाटोले विकासको सट्टा विनाश निम्त्याइरहेको छ । डोलिडारको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमका संयोजक तथा सिनियर डिभिजनल इन्जिनियर महेशचन्द्र न्यौपाने भन्नुहुन्छ, ‘प्रत्येक व्यक्तिको घर घरमा बाटो पुर्‍याउने सपना बाँडिएको हुन्छ, चुनाव जित्नकै लागि प्राविधिक रुपमा सम्भव भए पनि/नभए पनि बाटो खनिएको हुन्छ, त्यसरी खनिएको बाटोले विकास भन्दा कयौं गुणा बढी विनाश नै निम्त्याएको छ र निम्त्याउने छ ।’

यो वर्ष र आउँदो वर्ष पहिरोको जोखिम झनै उच्च 

देश संघीयतामा गैसकेपछि वडाले आफूले चाहेको क्षेत्रमा बजेट खर्च गर्न सक्छन् । गाउँघरमा विकास भन्नेबित्तिकै घरघरमा मोटरबाटो भन्ने बुझाइ रहेको छ । चालू आर्थिक वर्षमा धेरैजसो स्थानीय तहले बजेटमा बाटो निर्माणमै खन्याएका छन् । कुनै अध्ययनविना नै रातारात गाउँमा बाटो खनिएको छ । गएको हिउँदमा र अहिले वर्खा लागिसकेपछि पनि गाउँमा धेरै सडक खनिएको छ ।

जभाभावी बाटो खन्दा गाउँमा पहिरो र ठूलो बाढीको डर भएको डोलिडारको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमका संयोजक तथा सिनियर डिभिजनल इन्जिनियर महेशचन्द्र न्यौपाने बताउनुहुन्छ । ‘यो आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा गाउँ गाउँमा धेरै सडक खन्ने योजना रहेका छन्, स्थानीय तह र वडाले आफ्नो अधिकारक्षेत्र रहेका सडक जथाभावी खन्ने गरेको देखिएकाले यो वर्षा र आउँदो वर्षमा गाउँगाउँमा धेरै पहिरो जाने सम्भावना रहेको छ ।’

‘इन्जिनियरलाई नपत्याउँदाको असर’

गाउँमा इन्जिनियर अध्ययन हुनुपर्छ, सर्वे हुुनुपर्छ भन्ने आवाज उठ्यो भने इन्जिनियरलाई पैसा खान लागेको आरोप लगाइन्छ, नेताले नै इन्जिनियर चाहिन्न भन्छन् अनि त्यस्ता बाटोमा पहिरो नगए के जान्छ त ?

लामो समय स्थानीय सडकको क्षेत्रमा काम गरेका सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत पनि गाउँमा नेताले जता भन्छन त्यतै त्यतै खनिएका सडकले बर्खामा विनाश निम्त्याएको बताउनुहुन्छ ।

‘गाउँमा इन्जिनियर अध्ययन हुनुपर्छ, सर्वे हुुनुपर्छ भन्ने आवाज उठ्यो भने इन्जिनियरलाई पैसा खान लागेको आरोप लगाइन्छ, नेताले नै इन्जिनियर चाहिन्न भन्छन् अनि त्यस्ता बाटोमा पहिरो नगए के जान्छ त ? सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत भन्नुहुन्छ, ‘इन्जिनियरलाइ सर्वे गराउँदा पैसा खर्च हुन्छ भनेर सर्वे नै नगरी खनिएका सडकले विपत्ती निम्त्याउने बाहेक अर्को फाइदा दिने देखिन्न, इन्जिनियरलाई त भूमिका नै दिइएको छैन ।’

यसरी खनिएका सडकले बर्खामा गाउँ नै जोखिममा परेको र यसले आर्थिक बृद्धि भन्दा पनि आर्थिक घाटा लागेको बस्नेतको भनाई छ । ‘कुनै सर्वे नै नगरी गाउँका माथी माथी बाट बाटो खनिएको छ, खनेको ठाउँबाट पानी पस्यो भने त त्यस्ले गाउँलाई नै साहोर्ने त हो नी’ उहाँले थप्नुभयो, ‘हामीले आर्थिक विकासका लागि खनेका सडकले विकास होइन विनाश मात्रै निम्त्याएका छन् ।’

‘यस्तो विकासले उकालो होइन, ओरालो झरिन्छ’

पहिले ठूलो पानी पर्दा मात्रै बाढी पहिरोका समाचार सुनिन्थे, तर अहिले सानो पानी पर्दा पनि गाउँ गाउँका बाटोको माटो बगाएर ठूलो बाढी आइहाल्छ । गाउँमा पैसा भए बाटो खन्न, न इन्जिनियर चाहिन्छ, न त प्राविधिक नै । यसरी खनिएका सडक हिउँदमा मात्रै चल्छन्, वर्खा लागेपछि यस्ता सडकले सुबिस्ता होइन, उल्टै दुःख नै दिइरहेका छन् ।

वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकार मोहन मैनाली अहिले बनेका सडकले विकास होइन विनाश निम्त्याइरहेको बताउनुहुन्छ । विकासको नाममा कुनै प्राविधिक र वातावरणीय अध्ययन नै नगरी एउटा डाँडा दजनौं ठाउँमा चिरा पार्दा त्यसले आउँदा दिनमा वस्ती चिरा पार्ने खतरा रहेको मैनालीको भनाई छ ।

‘यो उकालोभन्दा पनि ओरालो लाग्ने बाटो हो, हामीले बाटोमार्फत एकातिर जानीजानी बाढी पहिरोको त्रास निम्त्याइरहेका छौं, केही समय पहिलो पाल्पा, गोरखा र धादिङमा पहाडी क्षेत्रको लागि उपयुक्त हुने बाटोको परीक्षण भएको थियो, त्यो सफल पनि भएको थियो, तर अहिले त्यस्ता विधि छाडेर आफूखुसी बाटो खन्ने प्रवृत्तिले हाम्रा डाँडा धुजाधुजा भएका छन्’ मैनालीले भन्नुभयो ।

वातावरण र पहाडको भविष्य ख्यालै नगरी बाटो बनाउन राजनीतिक दलहरु नै अघि सरेकोमा मैनाली भन्नुहुन्छ, ‘यस्ता बाटोमा राजनीति जोडिएको छ भने त्यो अदूरदर्शी राजनीति हो, किनकी ५ वर्षपछि त त्यो बाटोले विकास होइन, विनाश ल्याउँछ भन्ने सबैलाई राम्ररी थाहा छ, राजनीति गर्ने मान्छेले त ५ वर्ष पछाडिको अवस्था सोचेर राजनीति गर्नुपर्ने हो नि ।’ 

अन्तिम अपडेट: भदौ ६, २०७५

अर्जुन पोख्रेल

अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया