नगरप्रमुखलाई 'टुरिस्ट मेयर' काे संज्ञा दिँदै कांग्रेस कार्यकर्ताले गरे नाराबाजी

 साउन १९, २०७६ आइतबार १८:५:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई नेपाली कांग्रेसका कार्यकर्ताले 'टुरिस्ट मेयर' को संज्ञा दिँदै नाराबाजी गरेका छन् । 

उपमहानगरको गतिविधिभन्दा बढी समय विदेश र राजधानी केन्द्रित भएको आरोप लगाउँदै नेपाली कांग्रेस तुलसीपुर नगर कमिटिको आयोजनामा विरोध र्‍याली निकाल्दै नगरप्रमुखयरविरुद्ध मुर्दावादको नारा लगाइएको हो । 

अहिले नगरप्रमुख भारत भ्रमणमा हुनुहुन्छ । रामदेव बाबालाई भेट्न दलबलसहित नगरप्रमुख भारतमा सयर गरिरहेको र नगरको पैसा फजुलमा खर्च भएको आरोपसमेत कांग्रेस कार्यकर्ताहरुले लगाएका छन् ।  

नगरपालिकाभित्र नै नगरप्रमुखविरुद्ध मुर्दावादको नारा लागेपछि अवस्थालाई साम्य पार्न धौधौ भएको थियो । 'टुरिस्ट मेयर मुर्दावाद, उपमहानगरभित्र सुशासन कायम गर, विदेश सयर हैन नगरको विकासमा ध्यान देऊ' भन्दै कांग्रेस कार्यकर्ताले बजार परिक्रमा गर्दै उपमहानगरको कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । पूर्व सांसद गेहेन्द्र गिरीको अगुवाइमा विरोध कार्यक्रम भएको हो ।

सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको हुनाले तुलसीपुरमा प्रर्दशन गरेको नेपाली कांग्रेसले बताएको छ । दुई तिहाइ सरकारले जनताको ढाड सेकेको आरोप पनि कांग्रेसले लगाएको छ । दिनदहाडै सडकमा नागरिकहरुमाथि खुकुरी प्रहारको अवस्था आउँदासमेत नगर सरकारले शान्ति सुरक्षा दिन नसकेको आरोप कांग्रेसले लगाएको छ । 

नेपाली कांग्रेस तुलसीपुर नगरकमिटिको आयोजनामा गरिएको प्रर्दशनले बजारका विभिन्न टोलको परिक्रमापछि तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । 

कांग्रेसले नगर उपप्रमुख माया आचार्यलाई विभिन्न मागसहितको १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उप प्रमुख माया आचार्यले मागहरु गम्भीर भएर हेर्ने बताउनु भयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया