बाढीले बझाङका सयौं परिवारको बिल्लिबाठ : लालपूर्जा भएर पनि सुकुम्बासी !

 जेठ ६, २०७५ आइतबार १७:१४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ, वैशाख ६ – थलारा गाउँपालिका–९, अफ्लाबगरका कैले दमाईसँग झण्डै ७ रोपनी जमिनको लालपूर्जा छ । तर जमिन भने छैन ।

लालपूर्जा अनुसार हुने खाने मै पर्नुपर्ने भए पनि यथार्थमा उहाँको नाममा एक पैताला जमिन पनि छैन । ऐलानी जग्गामा बारबेर गरेर बनाएको झुपडीमा उहाँको ८ जनाको परिवार बस्दै आएको छ । 

२०५७ साल र २०७० सालमा आएको बाढीले खेतीयोग्य जमिन बगाएपछि यहाँका धेरै घरपरिवार अहिले सुकुम्बासी जीवन बिताइरहेका छन् । त्यसपछि पनि बर्सेनिजसो आउने बाढीपहिरोले खेतीयोग्य जमिन कटान गरी बगाएपछि थलारा गाउँपालिकामा मात्र झण्डै ७५ परिवारको हालत उस्तै बन्न पुगेको छ । कृषि नै मुख्य पेशा भए पनि जग्गा नहुँदा ज्यालामजदूरी गरेर परिवारको खर्च जोहो गरिरहेको उनीहरुको भनाई छ ।

जिल्लाको बुङगल क्षेत्रको पनि अवस्था उस्तै छ । बाढीका कारण बर्सेनी नदी किनारका बस्ति बगाउँदै र जमिन बगरमा परिणत हुने क्रम रोकिएको छैन । बाढीका कारण मेरो जमिन यहाँ थियो भन्ने पनि एकिन गर्न नसकिने अवस्था रहेका बुङगल नगरपालिका दहबगरका मानबहादुर धामीले बताउनुभयो । आफ्नो नाममा रहेको १२ रोपनी जमिन बाढीले बगाएको र अहिले पाखोमा घर बनाएर बसेको उहाँको भनाई छ । 

मानबहादुर र कैले जस्ता कतिलाई बाढीले बिल्लिबाठ बनायो भन्ने तथ्यांक कुनै निकायसँग छैन । एक हजार जति परिवारको हातमा लालपूर्जा भए पनि जमिन नभएको देखिएको सरकारी निकायको अनुमान छ । बुङ्गल भएर बग्ने कालंगा नदिने दहबगरको लौनेदेखि केदास्यूको देउरासम्म र सेती नदीले मेलबिसौनादेखि देउरासम्मको हजारौ रोपनी खेतीयोग्य जमिन बालुवामा परिणत गरेको छ । 

बाढीका बेला दिइने राहात सामाग्री बाहेक सरकारी पक्षबाट कुनै सहयोग नभएको पीडितको गुनासो छ । यस्तै सेती नदीले समेत साइपाल गाँउपालिकादेखि मष्टा, तल्कोट, जयपृथ्वी नगरपालिका, थलारा, केदारस्युँ, छविसपाथीभेरा, गाउँपालिकाको खेतीयोग्य जमीन बगर बनाएको मात्र छैन, कतिपयको जमिन भएको ठाउँमा सेती नदी बगिरहेको छ । तटबन्धन नहुँदा बर्सैपिच्छे खेतीयोग्य जमीन बगरमा परिणत भइरहेको स्थानीय बासिन्दाको गुनासो छ । 

अन्तिम अपडेट: मंसिर ११, २०७५

तपाईको प्रतिक्रिया