संसदीय सुनुवाइ विशेष समितिद्वारा तीन सदस्यीय उपसमिति गठन

 असार २६, २०७५ मंगलबार १३:५३:५५ | उज्यालो सहकर्मी

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल रहनु भएको ३ सदस्यीय उपसमिति गठन गरेको हो । 

उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । त्यही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि जेष्ठ सदस्य कर्णले बताउनुभयो ।

समितिले सभापति चयन प्रक्रियामा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । नियमावलीमा गरिएको व्यवस्था अनसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूची तय गरिएको जेष्ठ सदस्य कर्णले बताउनुभयो ।

१५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहनु भएको छ । त्यसैगरी राष्ट्रियसभाबाट समुन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र देव समितिमा रहनु भएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया