‘कश्मीरी नागरिककै लागि निर्णय लिइएको हो भने हामीलाई जनावरझैँ किन थुनियो ?’

 साउन २१, २०७६ मंगलबार १४:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको संविधानको धारा ३७० खारेज गरेपछि सोमबार साँझ राज्यका पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती र उमर अब्दुल्लाहलाई पक्राउ गरिएको छ । उनीहरुलाई श्रीनगरमा रहेको सरकारी गेस्ट हाउस ‘हरि निवास’ मा राखिएको छ ।’ 

श्रीनगरका म्याजिस्ट्रेटका अनुसार महबुबा मुफ्तीको गतिविधि राज्यको शान्ति भङ्ग गर्ने खालको भएको बताएका छन् ।

महबुबा मुफ्तीलाई पक्राउ गरिएपछि उनकी छोरी सना मुफ्तीले केन्द्र सरकारको निर्णय कश्मीरीको हितका लागि हो भने किन पूर्व मुख्यमन्त्रीहरुलाई पक्राउ गरियो त भनेर प्रश्न गरेकी छिन् । बीबीसीसँग कुरा गर्दै सनाले आइतबार राति मात्रै कश्मीरी नेताहरुले आफूलाई नजरबन्दमा राखिएको थाहा पाएको बताएकी छिन् ।

उनले भनिन्, ‘सबैभन्दा पहिले उमर(अब्दुल्लाह) साहबले ट्वीट गर्नुभयो । त्यसपछि मेरी आमाले थाहा पाउनुभयो । सोमबार साँझसम्म उहाँहरु नजरबन्दमा हुनुहुन्थ्यो । साँझ ६ बजे मात्रै थाहा भयो कि उहाँहरुलाई सतर्कताका लागि भन्दै हिरासतमा लिने कुरा थाहा भयो । लगभग साँझ ७ बजेतिर ४–५ जना अधिकारी आए । जिल्ला अधिकारी पनि आए । उनले मेरी आमालाई एक आदेशको कागज थमाए । आवश्यक सामान लैजानका लागि केही समय पनि दिए ।’

सनाका अनुसार उनीहरुको घर र उनकी आमा महबुबा मुफ्तीलाई राखिएको हरि निवास १० मिनेटको पैदल दूरीमा पर्दछ । उनलाई परिवारका सदस्यसँग सम्पर्क गर्न पनि दिइएको छैन ।

कहिलेसम्म हिरासतमा राखिन्छ केही थाहा छैन

सना मुफ्ती भन्छिन्, 'जम्मू–कश्मीरका अधिकारीलाई कहिलेसम्म स्थानीय नेताहरुलाई हिरासतमा राखिन्छ केही थाहा छैन । उनीहरु त केबल ‘माथिको आदेश’ पालना गरिरहेका छन् ।'

उनी भन्छिन्, ‘जब यहाँका संवैधानिक प्रमुख राज्यपाललाई नै यहाँ के हुँदैछ भन्ने थाहा छैन भने यी अधिकारीलाई के थाहा हुन्छ र ? हामीसँग त भोलि पर्सिसम्म छोड्छौँ भनेका छन् तर केही भरोसा छैन । म यो आशा गर्छु मेरी आमा सुरक्षित हुनुहुन्छ । यस्तो वातावरणमा जे पनि गर्न सकिन्छ ।’

सनाले कश्मीरबाटै राजनीति शास्त्रको अध्ययन गरेकी हुन् । पछि उनले इंग्ल्याण्डको वोरविक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स गरिन् । उनले दुबई र लण्डनमा पनि जागिर गरिन् । उनी आजभोलि भने धेरैजसो कश्मीरमै बस्ने गर्छिन् ।

उनी भन्छिन्, ‘मेरो हजुरबुवा (मुफती मोहम्म्द सईद) को देहान्त भएपछि म आमासँगै बस्ने गरेकी छु । उहाँको राजनीति यात्रा र भिजनमा सहयोग गरिरहेकी थिएँ । 

असन्तुष्टि व्यक्त गर्न प्रतिबन्ध 

धारा ३७० मातहत जम्मू–कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाएकोमा कश्मीरी युवा खुशी नभएको र ठगिएको महसुस गरेको सना बताउँछिन् ।

उनी भन्छिन्, ‘पहिले आक्रमणको आशंका भन्दै अमरनाथ गैरहेका यात्रीहरुलाई रोकियो । हामीसँग झुट बोलियो । आज चोर बाटो अपनाउँदै संसदमा धारा ३७० हटाउने अवैध फैसला गरियो । कश्मीरी युवालाई यो निर्णयप्रति असन्तुष्ट जाहेर गर्ने अनुमति पनि दिइएन । तपाईँ कति समयसम्म मानिसहरुलाई घरमा थुनेर राख्नुहुन्छ ? यदि यो निर्णय कश्मीरीकै लागि हो भने उनीहरुलाई जनावरलाई झैँ किन थुनेर राखिएको छ ?’

उनी कश्मीरीहरुले धर्मनिरपेक्ष र लोकतान्त्रिक भारतलाई रोजेको बताउँछिन् । अहिलेको निर्णय सम्पूर्ण कश्मीरीका लागि धोका भएको उनी ठान्छिन् ।

महबुबा मुफ्तीको गिरफ्तारीबारे उनी भन्छिन्, ‘मेरी आमाले सन् २०१६ देखि २०१८ सम्म बीजेपीले समर्थन फिर्ता लिएसम्म इमान्दारितापूर्वक काम गर्नुभयो । मुख्यधाराका नेताहरुलाई एन्टी नेशनलको रुपमा हेरिँदै यस्तो व्यवहार गरिएको छ ।’

कश्मीरको बर्बादी तीन परिवारका कारण होइन

गृह मन्त्री अमित शाहले सोमबार राज्यसभामा आफ्नो भाषणमा मुफ्ती परिवारप्रति निशाना साँधेका थिए । धारा ३७० ले केबल कश्मीरका तीन परिवारलाई फाइदा भएको उनले बताएका थिए ।

अमित शाहको वक्तव्यप्रति टिप्पणी गर्दै सना भन्छिन्, ‘ केन्द्र सरकारका धेरै मन्त्रीहरु ठूला नेताका छोराछोरी त छन् ।’ उनी भन्छिन्, ‘तपाईँहरु सबैलाई सरलीकरण गर्दै कश्मीरको बर्बादी तीन परिवारका कारण भएको हो भन्दै हुनुहुन्छ । तर भारत सरकारको गलत निर्णयका कारण कश्मीर तहसनहस भएको हो । बाँकी भारतमा आफ्नो राजनीतिक हैसियत बलियो बनाउन नै कश्मीरीहरुको घाँटीमा सधैँ तरबार राखियो ।’

सना भन्छिन्, ‘यदि हाम्रो परिवार यति नराम्रो थियो भने हामीसँग गठबन्धन सरकार किन बनाएको त ? नेशनल कन्फ्रेन्सलाई केन्द्र सरकारमा किन सहभागी गराएको त ?’

धारा ३७० हटेपछि कश्मीरको हालत फेरिन्छ त ?

भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० हटाउने निर्णय गरेको छ ।

प्रदेशका राज्यपालको सिफारिसमा राष्ट्रपतिको आदेशबाट धारा ३७० हटाउने निर्णय गरिएको हो । गृहमन्त्री अमित शाहले सोमबार राज्यसभामा यसबारेमा जानकारी दिँदै विधेयक प्रस्तुत गरेका थिए । अमित शाहले जम्मू–कश्मीर राज्यको पुनर्गठनका बारेमा पनि विधेयक प्रस्तुत गरे । अब जम्मू–कश्मीर दुई प्रदेशमा विभाजित हुने भएको छ ।

दिल्ली र पुण्डुचेरीजस्तै जम्मू–कश्मीर र लद्दाख केन्द्रशासित प्रदेश बन्नेछन् । जम्मू–कश्मीरमा विधानसभा हुनेछ भने लद्दाख बिनाविधानसभाको प्रदेश बन्नेछ । 

धारा ३७० हटाएपछि कश्मीरमा शान्ति पुनर्स्थापना हुन्छ भन्नेमा भने शंकै छ ।

धारा ३७० हटेपछि के–के हुन्छ त ?

  • अहिलेसम्म जम्मू–कश्मीरमा स्थायी नागरिकको दर्जा पाएका कश्मीरीले मात्रै त्यहाँ जमिन किन्न सक्छन् । धारा ३७० हटेपछि भारतको जुनसुकै राज्यका नागरिकले पनि त्यहाँको जमिन किन्न सक्नेछन् ।
  • अहिलेसम्म केबल स्थायी नागरिकले मात्रै प्रदेश सरकारको जागिर खान पाउँथे । अब त्यो बाटो सबैलाई खुल्नेछ ।
  • अहिलेसम्म कानुन व्यवस्था मुख्यमन्त्रीको जिम्मेवारीमा हुन्थ्यो । तर अब यो सबै व्यवस्था पूर्णतया केन्द्र सरकारको अधिनमा हुन्छ । गृहमन्त्री आफ्ना प्रतिनिधि उपराज्यपालका माध्यमबाट कानुन व्यवस्था सम्हाल्नेछन् ।
  • संघीय संसदले बनाएको हरेक कानुन अब त्यहाँको प्रदेशको विधानसभाको सहमतिबिना नै लागु हुन्छ ।
  • धारा ३७० हटेपछि प्रदेशको छुट्टै झण्डाको औचित्य पनि समाप्त हुन्छ । अब भारतकै झण्डा जम्मू–कश्मीरमा फहराइनेछ ।
  • जम्मू–कश्मीर विधानसभाको कार्यकाल ६ वर्षबाट घटाएर ५ वर्ष बनााइनेछ ।
  • महिलाहरुका लागि लागु स्थानीय पर्सनल कानुन निष्प्रभावी हुनेछ ।
  • संसद वा केन्द्र सरकारले नै जम्मू–कश्मीरमा इण्डियन पेनल कोड(आईपीसी) वा रनबीर पेनल कोड(आरपीसी) लागु गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
  • पहिलेदेखि कार्यान्वयनमा रहेको स्थानीय पञ्चायत कानुनमाथि पनि पुनर्विचार हुन सक्नेछ ।

निर्णयमा स्वागत र विरोध

जम्मू–कश्मीरको पछिल्लो घटनाका क्रमममा भारत सरकारको कदमको स्वागत र विरोधका दलहरु उभिएका छन् ।

आम आदमी पार्टी, बिजु जनता दल, बहुजन समाज पार्टी, शिव सेना लगायतका दलहरु सरकारको स्वागतमा उभिएका छन् । कांग्रेस, जनता दल युनाइटेड, भारतीय कम्युनिष्ट पार्टीलगायत जम्मू–कश्मीरका क्षेत्रीय पार्टी भने यसको विरोधमा उभिएका छन् ।

सोमबार राज्यसभाबाटै यी विधेयक पास भैसकेका छन् । मंगलबार लोकसभाबाट पनि यो विधेयक पारित हुनेछ । किनकी बीजेपी नेतृत्वको सरकारलाई दुई तिहाई समर्थन प्राप्त छ । राज्यसभामा भएको मतदानमा विधेयकको पक्षमा १२५ भोट र विपक्षमा ६१ भोट खसेको थियो ।

उता पाकिस्तानले जम्मू–कश्मीरको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतको डरलाग्दो खेल भन्दै अन्य देशहरुसँग कुटनीतिक संवाद थालेको छ । 

–एजेन्सीहरुको सहयोगमा

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया