सर्लाहीमा रासायनिक मल अभाव: भारतबाट महँगाेमा ल्याउनु पर्ने बाध्यता

 साउन २१, २०७६ मंगलबार १९:२३:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - धान र उखुमा मल हाल्ने बेलामा सहज रुपमा रसायनिक मल नपाएपछि सर्लाहीका किसानहरु समस्यामा परेका छन् ।

कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सहजरूपमा मल वितरण गर्न नसकेपछि यहाँका किसानहरु चर्को मूल्य तिरेर भारतीय मल खरिद गर्न बाध्य भएका छन्।

बजारमा मल पाउन छोडेपछि सर्लाहीमा भारतीय मलको तस्करी बढेको छ। धान र उखु बाली गोडमेल गरेर मल हाल्नुपर्ने बेलामा सहजै रासायनिक मल नपाएपछि धान र उखुको उत्पादन घट्ने किसानहरुले गुनासो गरेका छन्।

कृषि सामग्री लिमिटेड मलंगवा शाखा र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जिल्लामा रहेका १५० सहकारी संस्थालाइ रसायनिक मल उपलब्ध गराउदै आएका थिए । कृषि सामग्री लिमिटेड मलंगवाले अहिले प्रति सहकारीलाइ २० बोराको दरले युरिया वितरण गरिरहेको छ भने त्यसकै हाराहारीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले पनि मल वितरण गरिरहेको छ ।

खेतीको मुख्य समयमा मल नपाएपछि तस्करसँग प्रति बोरा १२ सयका दरले मल खरिद गर्नुपरेको मुर्तियाका किसान महेश्वर कार्कीले गुनासो गर्नुभयो। सर्लाहीमा किसानलाइ सहज मल पुर्‍याउन ९० हजार बोरा युरिया मल आवश्यकता पर्ने कृषि सामग्री लिमिटेड मलंगवा शाखाका प्रमुख बज्रमणि लामाले जानकारी दिनुभयो।
कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले स्थानीय सहकारी संस्थालाइ प्रति बोरा ७५० का युरिया मल उपलब्ध गराउँदै आएको छ । त्यसरी सहकारी संस्थाबाट उपलब्द गराइको मल किसानलाइ प्रति बोरा नौ सय भन्दा बढीमा बिक्री गर्न नपाइने प्रमुख लामाको भनाइ छ। 

सहकारी संस्था मार्फत किसानलाइ पठाएको मल बीच बाटोबाटै सहकारीका सञ्चालकले महँगोमा बिक्री गरेर रसायनिक मलको कृत्रिम अभाव सिर्जना गर्न खोजेको दशनामी कृषि सहकारी संस्था हरियाका अध्यक्ष महेश बरालले बताउनुभयो।

नेपाली रासायनिक मलको चरम अभाव भएपछि धेरै किसान मल लिन यतीबेला भारतीय बजारमा पुग्ने गरेका छन्। नेपाली किसानले उताबाट नेपाल मल ल्याउँदा शसस्त्र प्रहरीले सीमामा किसानसँग प्रति बोरा २० रुपैयाँ लिने गरेको गौढैता नगरपालिका-१ बगदहका किसान बद्री राय यादवले गुनासो गर्नुभयो।

 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया