चीन पठाइने रुपसी र भद्रको चितवनबाट बिदाई (तस्बिरसहित)

 असार २६, २०७५ मंगलबार १५:७:११ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेपाल सरकारले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दुई गैँडा रुपसी र भद्रलाई मंगलबार चितवनवाट बिदाई गरिएको छ । 

रुपसी र भद्रलाई राष्टिय प्रकृति संरक्षण कोष सौराहा परिसरवाट दुई वटा मिनी ट्रकमा छुट्टाछुट्टै राखेर नेपाली सेनाको गस्तीमा काठमाडौं पठाइएको हो । भाले गैँडा ‘भद्र’ र पोथी गैँडा ‘रुपसी’ लाई विशेष प्रकारको खोरमा राखी काठमाडौं पठाइएको हो ।

असार २८ गते काठमाडौंबाट चीन पठाउन लागिएको गैँडालाई चितवनवाट औपचारिक बिदाई गरी पठाइएको छ । संरक्षण, प्राकृतिक प्रजनन् र अध्ययनका लागि चीन सरकारलाई गैँडा उपहार दिन पाउनु महत्वपूर्ण रहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो । गैँडा उपहारले दुई देशको बीचको सम्बन्ध अझै राम्रो हुने उहाँको धारणा छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, वन तथा वातावरण मन्त्रालयका सह सचिब राधा वाग्ले, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालको सहभागिता रहेको थियो ।    

गैँडासँगै चीनसम्म चितवन निकुञ्जका चकित्सक डाक्टर कमल गैरे, प्राविधिक किरण रिजाल र तीन जना सहयोगी समेत जाने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । चितवनबाट काठमाडौंसम्म गैँडा छोड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल लगायतको टोलीसँगै गएको छ । 

खोरमै रहेर गैँडाले खान पिउन सक्ने गरी बनाइएको बताउँदै ढकालले मंगलबार साँझ काठमाडौं पुर्‍याएपछि गैँडालाई प्रकृति संरक्षण कोषको कार्यालय सातदोबाटोमा खोरमै राखिने जानकारी दिनुभयो । ‘तीन दिनसम्म खोरमा राख्दा कुनै समस्या नहुने गरी खोर बनाइएको छ’, उहाँले भन्नुभयो, ‘चीनले गैँडालाई चार्टड कार्गाे जहाजमा लैजाने तयारी छ ।’ 

रुपसी र भ्रद्रलाई निकुञ्जवाट नियन्त्रणमा लिएर पिट बुमा निर्माण गरी राष्टिय प्रकृति संरक्षण कोष सौराहा परिसरमा राखिएको थियो । बुमामा नै राखिएका अर्काे एक जोडी गैँडालाई साउन पहिलो साता पठाउने तयारी गरिएको छ ।

२०७३ असार २६ गते नेपाल सरकारले चीन लाई गैडा उपहार दिने निर्णय गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न देशमा हाल सम्म २६ वटा गैँडा उपहार स्वरुप पठाइएको तथ्याङ्कले देखाएको छ । ढकालका अनुसार अमेरिकामा ६ वटा, भारतमा ४ वटा गैँडा पठाइएको तथ्यांक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो । 

जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रिया, थाइल्याण्ड, बर्मा र पाकिस्तानमा २÷२ वटा गैँडा पठाइएको थियो । पहिलो पटक सन १९८५ मा भारतको दुधुवामा चारवटा गैँडा पठाइएको थियो । पछिल्लोपटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । सन् २०१५ को गणना अनुसार नेपालमा जम्मा ६ सय ४५ वटा गैंडा पाइन्छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६ सय ५ वटा गैँडा रहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया