जुम्लामा विकासका योजना सार्वजनिक: सिञ्जा राजमार्गलाई ३० करोड

 साउन २२, २०७६ बुधबार १३:३६:२७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्ला प्रदेशसभा (ख) का सांसद पदमबहादुर रोकायाले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका गतिविधि र विकास योजनाका विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।

नेपाल पत्रकार महासंघ-जुम्लाको आयोजनामा जुम्लामा गरिएको पत्रकार सम्मेलनमा सांसद रोकायाले कर्णाली प्रदेशबाट आफ्नो क्षेत्रमा विनियोजन गरिएको बजेट र भइरहेका विकास निर्माणका कामका बारेमा जानकारी दिनुभएको हो ।

सांसद रोकायाले प्रथामिकतामा नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले सिञ्जा खस संग्राहलय, पाण्डवगुफा, केदारनाथ मन्दिर प्रदेश निर्वाचन क्षेत्र (ख)अन्तरगत पर्ने चार गाउँपालिका सिञ्जा, कनकासुनदरी, हिमा र तिलाका प्रदेश सरकारको राताे किताबमा परेका ८५ वटा योजना सार्वजनिक गर्नुभएको हो ।

उहाँले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलन समेत हुने जानकारी दिनुभयो । सांसद रोकायाले सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माण लगायतका योजना र भइरहेका कामहरुबारे जानकारी दिनुभयो ।

प्रदेश सांसद रोकायाले सिञ्जा आर्थिक क्षेत्र समेत अगाडि बढाइने बताउनुभयो । पत्रकारहरुले भइरहेका योजनाहरु यथाशीघ्र कार्यान्वयन हुनुपर्ने सुझाव दिएका छन् । सांसद रोकायाले खस सभ्यता संरक्षणसँगै आधुनिक विकासमा जोड दिने बताउनुभयो ।

यसैगरी नेपालपत्रकार महासंघका अध्यक्ष बमबहादुर महतले जिल्लाको सञ्चार क्षेत्रमा ध्यान दिनजोड दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया