जिम्बाब्वे : ५० लाख मानिस भोकमरीको चपेटामा

 साउन २३, २०७६ बिहिबार ११:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ । 

जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ । विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ । 

डब्ल्यूएफपीका प्रमुख डेभिड बीज्लेले भनेका छन्, 'अधिकांश मानिसहरु संकटमा छन् र भोकमरीतर्फ बढिरहेका छन् ।' कुनै समय खाद्यान्नको सम्पन्न जिम्बाब्वे पछिल्लो केही वर्षदेखि खाद्यान्नको समस्याबाट ग्रसित छ । 

सुक्खाका कारण अन्नपात नराम्रोसँग प्रभावित भएका छन् भने खाद्यान्नको मूल्यमा पनि निकै बढोत्तरी भएको छ । 

पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य 'पनबिजली प्लान्ट'मा पनि असर पुगेको छ । जसका कारण पूरै देशको बिजुली आपूर्ति प्रभावित भएको छ । 

गएको मंगलबार अपिल जारी गर्दै डब्ल्यूएफपीका प्रमुख बीज्लेले झण्डै २५ लाख जनसंख्या भोकमरीको चपेटामा परिसकेको बताए । 

राष्ट्रिय आपतकालको घोषणा

प्रमुख बीज्लेले भने, ‘हामीहरु भोकमरीको चपेटामा परेका मानिसहरुको बारेमा कुरा गरिरहेका छौँ । यदि हामीले उनीहरुको लागि मद्दत जुटाउन सकेनौँ भने उनीहरुको अवस्था झन् नाजुक हुन्छ ।’ उनका अनुसार जिम्बाब्वे अभूतपूर्व सुक्खाको सामना गरिरहेको छ । यो वर्षको सुरुवातमा इदाइ चक्रवातका कारण निकै असर पुगेको थियो ।

चक्रवातका कारण मालावी र मोजाम्बिक पनि प्रभावित भएको थियो र झण्डै ५ लाख ७० हजार नागरिक प्रभावित भएका थिए, जसमा दशौँ हजार मानिसहरु घरबारविहीन भएका थिए । 

पछिल्लो हप्ता अर्थमन्त्री म्थुली नक्यूबले सरकारले गएको जनवरीदेखि ग्रामीण र शहरका झण्डै ७ लाख ५७ हजार मानिसहरुलाई अन्न र अनाज प्रदान गरिरहेको बताए । 

नोभेम्बर २०१७ मा लामो समयसम्म शासन गर्दै आएका रोबर्ट मुगाबेले छोडेपछि राष्ट्रपति बनेका एमर्सन मांगाग्वाले गएको मंगलबार देशमा सुक्खापन देखिएपछि राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । 

यद्दपि संयुक्त राष्ट्रसंघको पहलमा २९ दशमलव ४ मिलियन डलरको कोषको अपिल जारी गरिएको छ । तर पनि जिम्बाब्वेले भने सुक्खाको असर बाँकी राज्यमा पनि फैलिएका कारण कोषको मात्रा बढाउनु पर्ने बताएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया