यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीकाे प्रशिक्षण सुरु

 साउन २३, २०७६ बिहिबार १३:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीले बिहीबारदेखि अनौपचारिक प्रशिक्षण सुरु गरेको छ ।

औपचारिक रुपमा प्रशिक्षण भने सोमबारदेखि मात्रै सुरु हुने बताइएकाे छ । प्रतियोगिताका लागि १ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा प्रशिक्षक विनोद दासले काठमाण्डौमा उपलब्ध खेलाडी समेटेर अनौपचारिक प्रशिक्षण सुरु गरेका हुन् । बिहीबार त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणको पहिलो दिन १६ जना खेलाडी उपस्थित छन् ।

सोमबारदेखि अघिल्लाे महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइनेछ । नेपालले इस्टर्न रिजन च्याम्पियनको हैसियतमा एसिया कप खेल्न पाउने भएको हो । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, कुवेत, श्रीलंका र यूएई खेल्नेछन् ।

सेप्टेम्बर ५ देखि ११ सम्म एसीसी यू–१९ एसिया कप क्रिकेट आयोजना हुँदैछ । अन्तिम तयारीका लागि भारतमा प्रशिक्षण गर्ने नेपालको प्रस्ताव एसीसीले अस्वीकृत गरिदिएको थियो । नेपाली टोलीले प्रतियोगिताअघि १० दिन श्रीलंकामा प्रशिक्षण गर्नेछ । त्यसबीचमा ३ अभ्यास खेल तय भएको प्रशिक्षक दासले जानकारी दिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया