साउदीमा हुनुहुन्छ ? ईदको समयमा यी कुरा नगर्नुहोस्

 साउन २३, २०७६ बिहिबार १४:४६:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीमा हुनुहुन्छ ? हुनुहुन्छ भने ईदका समयमा सावधानी अपनाउनुहोस् । नत्र समस्यामा पर्न सक्ने सम्भावना हुन्छ । साउदीमा रहेको नेपाली दूतावासले ईदको बेला नेपाली कामदारलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

साउदी अरबमा ईद-उल-फित्र र ईद-उल-जुहाको समयमा लामो बिदा हुने हुँदा यो समयमा  साउदी कानूनले पूर्णतः निषेध गरेका कार्यहरु नगर्न दूतावासले आग्रह गरेको हो । 

जाँडरक्सी, असन्तुलित खानपान, सवारी वा सडक दुर्घटना, आपसी वा अन्य देशका नागरिकसँगको झैझगडा, लेनदेन विवाद लगायतका कारणले धेरै नै नेपाली श्रमिकको ज्यानै जाने, घाइते हुने, अस्पताल भर्ना वा कानुनी कारबाहीमा पर्ने गरेको भन्दै दूतावासले सावधानी अपनाउन अनुरोध गरेको हो । 

यी कुरामा ध्यान दिनुहोस् :

१. ईदका समयमा नेपालीसहित विदेशी कामदारलाई बिदा दिइन्छ । त्यसैले फुर्सद हुन्छ । यस्तो समयमा खेलकुद, आपसी भेटघाट, खानपिन, यात्रा, भ्रमण आदि विभिन्न कार्यक्रम गरी रमाइलो गर्दै गर्दा जाँडरक्सी खाने, झगडा गरेर ज्यानमाथि नै खतरा भएका घटना हुने गरेकाले सतर्क हुन पर्छ ।

२. एकैसाथ भेला भइ खानपिनकै क्रममा घरेलु जाँडरक्सी, अत्याधिक धुम्रपान, लागूपदार्थ तथा वर्जित खाद्यपदार्थ नखाने । 

३. खाद्यपदार्थ र खाद्य शैली नमिलाउँदा फुड प्वाइजन भएर ज्यान जानेसम्मका घटना भएका छन् । माछामासु र दूध दही जस्ता प्रोटिन र मोटोपन ल्याउने पदार्थयुक्त खाद्यान्नहरु एकैपटक खाँदा शरीरले सन्तुलन मिलाउन नसक्ने भएकोले खाना खाँदा सावधानी अपनाउने ।

४. जाँडरक्सीको उत्पादन, ओसारपसार, वितरण नगर्ने ।

५. यात्रा गर्दा अकामा नभएका व्यक्तिलाई आफ्नो सवारीमा सँगै नलैजाने । कागजपत्रबिना गाडी नचलाउने ।  ट्राफिक नियमको पालना गर्ने । जाँडरक्सी खाएर सवारी नचलाउने । 

६. यात्रा वा भ्रमणमा जाँदा साथीभाइ एकआपसमा झगडा नगर्ने । खुला ठाउँमा भेला भएका बेला साउदी कानूनले निषेध गरेका क्रियाकलाप नगर्ने । 

७. यात्रा वा अन्य समयमा सहकर्मी, अन्य साथी वा अग्रजले तपाईंको रोजगारी, आम्दानी, सहयोग, सरसापट लगायतका विषयमा गर्ने कुनै पनि लोभलाग्दा कुराकानीमा तुरुन्त विश्वास नगर्नुहोस् । यसले समस्या निम्त्याउन सक्छ र भइरहेको रोजगारी समेत गुम्ने र गैरकानूनी हुने अवस्था आउन सक्छ ।

८. जाँडरक्सी खाएको बेला कसैले तपाईँको अकामा  (अकामा) वा बैंक कार्ड मागेमा नदिने । 

९. समुदायमा तपाईंले भेटेका कतिपय आफूलाई समाजसेवी भनी चिनाउन खोज्ने कतिपय व्यक्तिहरुको आवरण एउटा र आचरण अर्को पनि हुन सक्छ । होस पुर्‍याउनुहोस् । कुनै पनि कागजमा बुझ्दै नबुझी सही नगर्नुहोस् ।

१०. अरूको लहै लहैमा लागेर काम छोड्ने, कम्पनी छोड्ने वा लोभमा परेर चोरी गर्ने वा अवैध बन्ने काम नगर्नुहोस् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया