सबैभन्दा बढी कश्मीरका महिला र बालबालिकाको चिन्ता लागेको छ : नोबेल विजेता मलाला

 साउन २३, २०७६ बिहिबार १९:५३:५० | एजेन्सी
unn.prixa.net

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले बिहीबार एक विज्ञप्ति जारी गर्दै कश्मीर विवाद शान्तिपूर्ण तरिकाले समाधान गर्न आग्रह गरेकी छिन् । 

ट्वीटमार्फत मलाला भन्छिन्, ‘जब म सानी थिएँ, जब मेरा बुवाआमा बालक हुनुहुन्थ्यो, जब मेरा हजुरबुवा–हजुरआमा युवा हुनुहुन्थ्यो । त्यसबेलादेखि कश्मीर संघर्ष जारी छ । सात दशकदेखि कश्मीरका बालबालिका हिंसाको साक्षी बन्दै हुर्किरहेका छन् ।’

सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाएकी मलालालाई कश्मीरमा समस्या हुँदा आफू निकै दुःखी हुने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई कश्मीरको माया लाग्छ, किनभने मेरो घर दक्षिण एसियामै छ । एउटा त्यस्तो साझा घर जहाँ कश्मीरीसहित एक अर्ब ८० करोड मानिस बसोबास गर्छन् ।’

मलालाले यो क्षेत्रले विभिन्न संस्कृति, धर्म, भाषा, व्यञ्जन तथा परम्पराको प्रतिनिधित्व गर्ने बताउँदै सबै शान्तिपूर्वक बस्नेमा आशा व्यक्त गरेकी छिन् । उनी भन्छिन्, ‘हामीले पीडा सहेर एकअर्कालाई नोक्सान पुर्याउन आवश्यक नै छैन ।’

मलालाले आफूलाई विशेषगरी महिला तथा बालबालिकाको चिन्ता रहेको बताएकी छिन् । यस्तो वातावरणमा महिला तथा बालबालिकालाई सजिलै निशानामा पार्न सकिने सम्भावना रहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छिन् । उनले यस्तो परिस्थितिमा सबै दक्षिण एसियाली देश, अन्तर्राष्ट्रिय समुदाय तथा संगठनलाई कश्मीरीको पीडाबारे प्रतिक्रिया दिन अपिल गरेकी छिन् ।

मलाला भन्छिन्, ‘हामीबीच कुनै मतभेद त होला तर हामीले ७ दशक पुरानो कश्मीरको संघर्षलाई शान्तिपूर्वक समाधान गर्न आफ्नो ध्यान केन्द्रित गर्नु आवश्यक छ ।’

गएको मंगलबार जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेजीपछि कश्मीरलाई लिएर विश्व समुदायमा चर्चा र बहस हुन थालेको छ । भारत सरकारले जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेशमा रुपान्तरण गरेको छ । साथै जम्मू–कश्मीर लाई दुइटा प्रदेशमा विभाजन गर्ने निर्णय पनि गरिसकेको छ ।

जम्मू–कश्मीरको पुनर्गठन र धारा ३७० खारेज गर्नेसम्बन्धी विधेयक भारतको राज्य सभा र लोक सभाबाट पारित भैसकेको छ । तर कश्मीरको अवस्था भने शान्तिपूर्ण छैन । भारतको पछिल्लो कदमले पाकिस्तान चिढिएको छ । उसले भारतसँगको कुटनीतिक सम्बन्ध तोड्ने तथा व्यवारिक कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

कश्मीर विवादले पूरा दक्षिण एसियाली राजनीतिलाई प्रभाव पार्ने सम्भावना रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया