आफूले नगरेकाे अपराधका आराेपितहरुले गुमाएकाे सामाजिक प्रतिष्ठाकाे क्षतिपूर्ति कसले दिने ?

 साउन २५, २०७६ शनिबार १७:१८:८ | साजन सुबेदी
unn.prixa.net

गएको असार २३ गते स्याङ्जा घर भएका खगेन्द्र पाठकलाई बनेपामा बसको यात्रा गर्दै गर्दा महिलामाथि सिरिञ्ज आक्रमण गरेको आरोप लाग्यो । घटनामा पीडित भनिएकी युवतीले पछाडि रहेका उहाँलाई र एक युवतीलाई पोलिन् । 

बसमा रहेका अन्य यात्रुले खगेन्द्रलाई भकुर्न थाले । उहाँले आफूले केही नगरेको र हातपात नगर्न भिडसँग अनुनय विनय गर्नुभयो । तर उहाँको स्वर भिडको कानसम्म पुगेन । केही समयमै प्रहरी घटनास्थल नपुगेको भए उहाँमाथि भिडले अझै आक्रमण गर्ने थियो ।

यो घटना मिडियामा एकाएक भाइरल बन्यो । महिला अधिकारकर्मी तथा सामान्य हिसाबले सोच्नेहरुले उहाँलाई खुच्चिङ पनि भन्न भ्याए होलान्, जस्तो काम त्यस्तै परिणाम भनेर ।

तर उहाँ स्वयंलाई कस्ताे अनुभव भयो होला आफूले गर्दै नगरेको अपराधको अकस्मात भागीदार भएर अन्धाधुन्ध पिटाइ खानुपर्दा ? वा बिरामी भेट्न अस्पताल हिँडेका बेला बेइज्जतीका साथ अपराधीका रुपमा प्रहरीको खोरभित्र थुनिनुपर्दा ?

त्यसबाहेक उहाँका घर–परिवार, साथीभाइ, इष्टमित्र, छर–छिमेकमा उहाँप्रतिको सोचाइ, उनको सामाजिक प्रतिष्ठामा पक्कै पनि गिरावट आयो होला ।

तीन दिनसम्म हिरासतमा राखेर सोधपूछ र अनुसन्धान गरिसकेपछि उहाँलाई दोषी नपाइएको भन्दै छाडियो ।

आरोप लगाउने र आरोप लागेका पक्षबीच मिलापत्र पनि भयो । आरोप लगाउनेले त ‘हो जस्तो लागेको थियो, होइन रहेछ’ भनेर सजिलै उन्मुक्ति पाए । तर आरोप लागेर कम्तीमा पनि ७२ घण्टा विभिन्न शारीरिक र मानसिक यातना खप्न बाध्य भएका पाठककाे इज्जत, प्रतिष्ठा र आत्मसम्मान त्यो घटनाभन्दा अगाडिको जस्तै दुरुस्त रहला ?

हामी कुनै पनि घटनालाई एकतर्फी मात्रै सोच्ने गर्छाैँ । अर्को पाटो अर्थात आरोपितको दृष्टिकोणबाट खासै हेर्ने गरेको पाइँदैन । तर यो पाटोबाट पनि सोच्नु जरुरी देखिन्छ ।  

यो या यस्ता अन्य घटनाबाट विक्षिप्त भएर आरोपितले आत्महत्या गरेमा त्यसको जिम्मेवारी कसले लिन्थ्याे ? प्रहरीले, आरोप लगाउनेले या अरु कसैले ?
के मिलापत्र नै उनीहरुको सामाजिक प्रतिष्ठा र आत्मसम्मानको भर्पाइ हो त ?

के शंकाकै भरमा गलत आरोप लगाएर निर्दोष व्यक्तिहरुलाई मरणासन्न हुनेगरी पिटाउने र प्रहरीको हिरासतसम्म पुर्‍याउने युवतीको कुनै दायित्व रहँदैन ? के उनले क्षतिपूर्ति दिनु पर्दैैन ? दोषी सावित भएको भए कानुन अनुसारको सजाय पाउनेले सावित नभएपछि क्षतिपूर्ति पाउनुपर्दैन ?

यस्ता अनगिन्ती प्रश्नहरु यी र यस्ता घटनाहरुले उब्जाउँछन् । तर उत्तर दिने कसले ? यस्ता घटनामा आरोपितहरुको सहज व्यवस्थापन वा सम्बोधन कसरी हुन्छ  या हुनुपर्छ?

के भन्छन् जानकारहरु ?

मानव अधिकारकर्मी : गौरी प्रधान 

तत्काल भिडले गरेको आवेशपूर्ण क्रियाकलापलाई ‘मब साइकोलोजी’ अर्थात् भिडको मनोविज्ञान भनिन्छ । जसलाई रोक्न सकिँदैन । यो एक प्रकारको दुर्घटना हो जुन हुँदैछ भन्ने जानकारी कसैलाई पनि थिएन र हुँदैन पनि । तर प्रहरी चौकीमा लगिसकेपछि अपराधी नै सावित भएझैँ मिडियाले जसरी हेडलाइन लेखे वा प्रचारबाजी गरियो, त्यसबाट पीडितले जुन मनोसामाजिक क्षति बेहोर्छ, त्यसको शत प्रतिशत भरपाइ कुनै तरिकाले हुँदैन । 

अर्को कुरा हामीकहाँ जानी नजानी गल्ती भएको रहेछ भने स्वीकार गरेर क्षमा माग्ने चलन छैन । यो घटनामा पनि त्यो भिडले माग्यो, न प्रहरीले, न त मिडियाले नै । माफी मागिदिँदा पनि आरोपितलाई क्षमा दिनुपर्छ भन्ने भावना पलाउँछ । यसो हुँदा उसको पीडा व्यवस्थापन गर्न सहज हुन्छ ।

यस्ता अप्रत्याशित घटनामा पीडितका लागि क्षतिपूर्ति भनेको रकम वा पीडकलाई सजाय दिलाउनु मात्र होइन । रकम दिँदैमा वा पीडकलाई सजाय दिलाउँदैमा उसको घाउ पुरिँदैन । पीडकले गुमाएको मान प्रतिष्ठा र उसमा गुजे्रको मनोसामाजिक क्षीणतालाई परिपूरण गर्नका लागि माफी माग्ने वा मनोसामाजिक हिसाबले नै उप्रति गलत गरिएछ आउँदा दिनमा यस्तो हुँदैन भन्ने प्रतिबद्धता दिलाउन सकियो भने मात्र उसले त्यसलाई सहज रुपमा लिन सक्छ ।

होइन भने बाहिर ठिक भए पनि मनमा लागेको गहिरो चोटका कारण आराेपित व्यक्ति मनोवैज्ञानिक समस्याको शिकार पनि बन्न सक्छ । आरोपितले गुमाएको मनोसामाजिक   प्रतिष्ठा वा मर्यादालाई मनोसामाजिक विमर्शका माध्यमबाट सम्बोधन गर्न सकिन्छ वा गर्नुपर्छ किनकि जुनसुकै घटनाको पनि न्यायपूर्ण अवतरण वा व्यवस्थापन हुनैपर्छ ।

कानुन व्यवसायी : सागर विष्ट

कसैले आरोप लगाएको भरमा हिजोआज भिडले निर्णय गर्ने प्रवृत्ति बढ्दो छ । कुनै पनि घटनामा आरोप लागेको व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम सरकारको सुरक्षा संयन्त्रको हो र आरोपित अपराधी हो होइन भन्ने अदालतले प्रमाणित गर्ने हो ।

तर हिजोआज आरोपितलाई सञ्चार माध्यमले आफैँले अपराधी भनेर लेखिदिन्छन् । भिडले न्यायकर्ता बनेर कुटपिट गर्छ, अहिले अराजकता बढेको छ ।

प्रहरीकै अगाडि मरणासन्न हुनेगरी आरोपितलाई भिडले कुटपिट गरेको पाइए पनि उनीहरु विरुद्ध प्रहरीले कुनै कारबाही गरेको छैन । यस्तो अवस्थामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुका साथै पीडक र भिडमा देखिएका कुटपिट गर्नेलाई कारबाही गर्नुपर्छ । 

राज्य आफैले क्षतिपूर्ति दिँदैन भने त्यस घटनाका पीडित पाठक तथा यस्ता घटनामा पीडा भोगेकाहरुले राज्यसँग क्षतिपूर्ति माग्नुपर्छ । आफूले नगरेको कुनै अपराधमा अपराधी बनेर जेल जानुपर्दा सहन नसकेर आत्महत्या गरे भने त्यसको जिम्मेवार को हुन्छ ?

मनोविद् : बासु आचार्य 

यो र यस्ता घटना प्रायः थाहा नभइ अप्रत्याशित रुपमा हुने गर्दछन् । अचानक आइपर्ने हुनाले केही केही पीडितहरुमा पीटीएसडी (पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर) अर्थात कुनै भयावह घटनापछि आइपर्ने मानसिक विचलन पनि हुन सक्छ । यस्तो बेला पीडितलाई मनोपरामर्शको आवश्यकता हुन सक्छ ।

यस्ता व्यक्तिले घटनालाई सहज तरिकाले लिने र साथीभाइ तथा इष्टमित्रले पनि साथ दिने हो भने केही समयमा नै स्थिति सामान्य हुन्छ । तर उनीहरुले त्यसलाई ज्यादै ठूलो रुपमा लिने, ‘इज्जत गयो, जिन्दगी नै गयो’ भन्ने तरिकाले नकारात्मक सोच्ने हो भने परिवारको साथ सहयोग र मनोपरामर्शका माध्यमबाट उपचार गर्नुपर्ने हुन सक्छ । 

यो त एउटा प्रतिनिधि घटनामात्र हो र खगेन्द्र पाठक प्रतिनिधि पात्र । यस्ता घटनाहरु देशका विभिन्न ठाउँमा थुप्रै होलान् जहाँ साँच्चै दोषी पाइएका बाहेक निर्दोष रहेका वा अपराध नै नगरेका व्यक्तिलाई पनि कुटपिट गरिएका, हिरासतमा लिइएका र सजायसम्म दिइएका होलान् । 

कुनै व्यक्तिमाथि लागेको आरोप सावित भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्दछ । तर आरोप लागेर वा लगाइएर कुटपिट गरिएका वा अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु त्यसबेला भोग्ने मानसिक तथा शारीरिक पीडाबाट छटपटिन पुग्छन् । त्यसक्रममा उनीहरुले गुमाउनुपरेको सामाजिक तथा मानसिक प्रतिष्ठाको हिसाबकिताब हुनु जरुरी हुन्छ । 

आरोप लगाउनेलाई गलत आरोप लगाएको कसुरमा सजाय दिइनु पर्छ । यसो नभए आउँदा दिनहरुमा रिसीइबी भएका वा सम्बन्ध राम्रो नभएका व्यक्तिले रिसीइबी साँध्न यस्तै र योभन्दा संगीन आरोप लगाउँदै उसको इज्जत तथा प्रतिष्ठाको हुर्मत नलेला भन्न सकिन्न ।

अन्तिम अपडेट: भदौ २९, २०७६

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया