भाकपा (मार्क्सवादी) का महासचिव येचुरी श्रीनगर विमानस्थलबाट गिरफ्तार

 साउन २४, २०७६ शुक्रबार १५:४४:३७ | एजेन्सी
unn.prixa.net

भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट हिरासतमा लिइएको छ ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी. राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए ।

येचुरीले भंग भएको जम्मू–कश्मीर विधानसभाका सदस्य तरिगामीको स्वास्थ्य अवस्था ठिक नभएकाले आफूहरु भेट्न आउन लागेको जानकारी गराएका थिए । 

भाकपा (मार्कस्वादी) ले शुक्रबार दिउँसो ट्वीट गर्दै श्रीनगरमा ओर्लनेबित्तिकै येचुरीलाई हिरासतमा लिइएको बताएको छ । त्यस्तै उनलाई नियन्त्रणमा लिने काम गैरकानुनी भएको भाकपाले जनाएको छ । तर समाचार संस्था एएनआईले भने येचुरीलाई केवल रोकिएको मात्रै जनाएको छ । 

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० को खारेजीसँगै राज्यमा सञ्चार सेवामाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । 

बिहीबार कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादलाई पनि श्रीनगर विमानस्थलमा रोकिएको थियो । श्रीनगर जानुअघि आजादले कश्मीरीहरुसँग सडकमा खाना खाइरहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको कडा आलोचना गरेका थिए ।

कश्मीरमा  गएको ५ अगस्टदेखि यता पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती र उमर अब्दुल्लासहित ५०० भन्दा स्थानीय नेताहरुलाई पक्राउ गरिएको छ ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरी नागरिकलाई भयभित नहुन आग्रह गरेका थिए । उनले आउँदो सोमबार रहेको ईद पर्वको शुभकामना दिँदै ईद पर्व मनाउन कश्मीरीहरुलाई कुनै अप्ठेरो नपर्ने आश्वासनसमेत दिएका थिए । 

कश्मीरमा रहेका अधिकारीहरुका अनुसार शुक्रबार पनि नमाजका लागि भन्दै कर्फ्यु केही खुकुलो पारिने छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया