राष्ट्रिय परिचय पत्र वितरणको काममा सरकारले ‘केटाकेटीपन’ देखायाे, तत्काल स्थगित गर्नुपर्छ : कांग्रेस

 साउन २४, २०७६ शुक्रबार १६:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ । 

नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भैरहेकै बेला परिचय पत्र वितरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गर्नु भएको हो । 

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उहाँहरुले आपत्ति जनाउनु भएको हो । 

छलफलमा भाग लिँदै कांग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भैरहेकै बेला परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको भन्दै तत्काल स्थगित गर्न माग गर्नु भयो । उहाँले राष्ट्रिय परिचय पत्र छाप्ने काम पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेको दावी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराउनु भयो ।

अर्बाैँकाे बजेट खर्च गरेर परिचय पत्र छाप्ने काम सरकारले सुरु गरे पनि त्यो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेकाले त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने नेता बडुको भनाइ छ । 

कांग्रेस सांसद अमरेशकुमार सिंहले कानुन विपरीत राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाउनुभयो । उहाँले कानुन नै नबनाइ कसरी राष्ट्रिय परिचय पत्र वितरण गरियो ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

त्यस्तै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले समितिमा विचाराधीन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिनुभयो । 

बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया