यूएईमा समस्यामा परेकी महिलालाई नेपाल पठाइयो

 साउन २४, २०७६ शुक्रबार १६:४५:५६ | उज्यालो सहकर्मी

यूएई – यूएईमा समस्यामा परेकी झापा सुरुङ्गाकी शोभा न्यौपाने बिहीबार नेपाल फर्किनुभएको छ ।

कम्पनीले तीन महिनादेखि तलब नदिएर कामबाट निकालेपछि दूतावासको संरक्षणमा रहेकी शोभा यूएईमा रहेको नेपाली दूतावासको पहलमा नेपाल फर्किनुभएको हो ।

उहाँ एक वर्षअघि काठमाण्डौमा रहेको पर्फेक्ट रिक्विटिङ्ग सर्भिस प्रालिमार्फत क्लिनरको काममा यूएई पुग्नुभएको थियो । रसलखेमा रहेको रकिज अमार क्लिनिङ कम्पनीमा काम कार्यरत शोभालाई कम्पनीले तलब नदिएर कामबाट निकालेपछि डेढ साताअघि उद्धार गरी दूतावासमा राखिएको थियो ।

शोभालाई घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको भन्दै ढिलाई गरेको थियो ।

कम्पनीले टिकट उपलब्ध नगराएपछि दूतावासका श्रमसहचारी मोतीराम भुषाल र उद्धारमा संलग्न एनआरएन आबुधाबी क्षेत्रीय समितिका फणिन्द्र ढकाल (रोशन)ले उहाँलाई म्यानपावर कम्पनीलाई टिकट उपल्बध गराउन आग्रह गर्नुभएको थियो । म्यानपावर कम्पनीले टिकट उपलब्ध गराएपछि एयर अरेबियामार्फत उहाँ बिहीबार नेपाल फर्किनुभएको हो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया