त्रिशूली दुर्घटना अपडेट : हराइरहेकाहरुको खोजी कार्य सुरु

 साउन २५, २०७६ शनिबार ९:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परि हराइरहेकाहरुको खोजी सुरु भएको छ ।

शनिबार बिहानै गोताखोरको टोली र नेपाल प्रहरीले खोजी गर्ने भनिए पनि गोताखोरको टोली अहिलेसम्म पुगेको छैन । अहिले सेना र प्रहरीले खोजी गरिरहेका धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । शुक्रबार दिउँसोदेखि खोजी कार्य रोकिएको थियो । 

दुर्घटनामा कति यात्रु थिए भन्ने अहिलेसम्म यकिन भएको छैन । तर ४५ जना गाडीमा रहेका घाइते यात्रुले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका अजय दास, विजय कुर्मी, सर्लाही मलंगवाका सुनिल कुमार श्रीवास्तव, उहाँकी श्रीमती मिना र सर्लाही हरिवनका विनोदप्रसाद उप्रेतीको मात्रै परिचय खुलेको उहाँले जानकारी दिनुभयो । अरु ४ जनाको परिचय खुल्न बाँकी छ । 

घाइते १६ जनामध्ये ७ जनाको काठमाण्डौको ट्रमा सेन्टर र गजुरी अस्पताल धादिङमा उपचार भइरहेको छ । अरु भने उपचारपछि घर फर्किएका छन् । 

सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस हिजो विहान धादिङको सलाङघाटबाट त्रिशूलीमा खसेको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया