जसले ‘म्याउँ म्याउँ बिरालो’ लेखे‍‍...

 साउन २५, २०७६ शनिबार १३:२५:२ | दयाराम आचार्य
unn.prixa.net

फाइल तस्बिर

साउनको महिना  नारायणी नदी उर्लिँदो छ । नदीनजिकै रहेको मन्दिरबाट बेला–बेलामा घण्टहरुको आवाज गुञ्जिरहेको छ । सानो टिनले छाएको घर  । घरको भित्ता र भुईँ माटोले लिपिएको छ । भित्तामा रहेका साना चरहरुबाट कोठामा प्रवेश गरेका सूर्यका किरणहरुले मधुरो प्रकाश छरेको छ ।

मधुर प्रकाशका बीच भित्ताका काँटीहरुमा झुण्डिएका सम्मान पत्रहरु  टलक्क टल्किएको छ । छेउमा बस्नुभएका दिपक सोतीको मन भने त्यति प्रफुल्लित छैन । २०२५ सालमा लेखिएको बाल गीत शनिबार आफ्नै भनेर प्रमाणित गर्नुपर्ने अवस्था उहाँका अघि आएको छ ।

धेरैले सुनेको र पढेको बाल गीत हो ‘म्याउँ म्याउँ बिरालो यता तिर आउ’ । बालबालिकाको अध्ययनका लागि सुरुका चरणमा सिकाइने बाल गीतमा समेत यो गीत पर्ने गर्दछ । तर धेरैले सुनेको, पढेको यो बाल गीत कसले लेख्यो थाहा पाउने भने छैनन् । थाहा पाउनु पनि कसरी यो गीत जहाँजहाँ प्रकाशित भयो, प्रसारण भयो बेनामी रुपमा प्रकाशन र प्रसारण भयो ।

जसरी यो गीतबाट लेखकको नाम हरायो ,यसै गरी गुमनाम छन् यसका लेखक कवि दिपक सोती । नवलपरासीको कावासोती नगरपालिका –१२ , पिठौलीमा बस्दै आउनु भएका ७१ वर्षीय  कवि सोती, गीतमा हराएको नाम जस्तै गुमनाम हुनुभएको छ ।

कवि सोती सम्झनुहुन्छ – २०२५ साल असारको महिना थियो ।  बुबा आमा खेतमा जानुभयो । भाइ मनहरि सोतीलाई हेर्ने जिम्मा मेरो थियो । त्यति नै बेला कराईको दूध बिरालोले चाट्दै थियो । मलाई पनि रमाइलो लाग्यो र हेरिरहे । अनि लेखेँ ‘म्याउँ म्याउँ बिरालो ।’

म्याउँ म्याउँ बिरालो यतातिर आउ
मेरो नाना काटी गर्ने मुसा मारी खाउ
कराईको  दूध   खाइदेउ भने
म त भोकै हुन्छु, नखाइदेउ भन्छु
बाबा भन्छिन् खाली बुबु चोर्न जाली
आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली
चोर्लिस नि के....
 
बुबु चोर्यो भने लट्ठीले म हान्छु
नआइज न यता चोर्नै म्याउ भन्छु
म्याउँ म्याउँ आवाज रोकी अब आउ
मेरो नाना काटी गर्ने मुसार मारी खाउ

यो बाल कविता वि.सं २०२९ तिर रत्न रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको कवि सोतीले बताउनुभयो । लमजुङबाट ५ दिन हिँडेर काठमाण्डौ पुगेको बेला पशुपतिमा  प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भयो । ‘श्यामदाससँग  मलाई धर्मराज थापाले चिनाइदिनु भएको थियो’,  कवि सोतीले भन्नुभयो, ‘श्यामदाससँग डिल्लीबजार पुगियो । चिया खादै गर्दा उहाँले मेरो म्याउँ म्याउँ बिरालो कविता हेर्नुभयो । उहाँले त्यति नै बेला यसलाई रेकर्ड गर्नुपर्छ भन्नुभयो ।’

‘स्व. भैरव बहादुर थापासँग उहाँले समय मिलाउनु भयो, भैरव बहादुरकी छोरी त्यतिबेला सानी थिइन् संगीता थापा, उनले यो गीत गाइन् । रेकर्डका  दिन मैले ८५ रुपैयाँ पारिश्रमिक पाएको थिएँ । अरुले १० रुपैयाँ पाउँथे रे मैले धेरै पाएको थिएँ’, कवि सोतीले भन्नुभयो ।

रत्न रेकर्डको प्लेट नम्बर  ८१ मा यो गीत रेकर्ड भएको कवि सोतीले बताउनुभयो । त्यतिबेला  नै समयमा  ‘मै छोरी सुन्दरी’ र  ‘क, ख, ग’ गीत रेकर्ड भएको उहाँ सम्झनुहुन्छ ।   रेकर्ड भएपछि यो गीत निकै चर्चित भयो । गीत सिनेमा हलमा पनि बज्थ्यो । अल इण्डिया रेडियोबाट पनि बज्यो , त्यति बेला श्रीलङ्काबाट पनि नेपाली कार्यक्रम आउँथ्यो । त्यहाँबाट सोतीले लेखेको गीत बज्यो, निकै चर्चित भयो । ‘तर पछि पाठ्यपुस्तकमा राखिएछ । त्यहाँ भने मेरो नाम राखिएनछ’, कवि सोतीले भन्नुभयो  ।

‘मैले त्यति बेलाका शिक्षा सहायक मन्त्री क्षेत्रप्रताप अधिकारीलाई पाठ्यपुस्तकमा राखिदिन भनेको थिए ।  देशमा आन्दोलन चल्या ,सरकारी पुस्तकमा राख्न त्यतिकै भयो  । पछि पाठ्यपुस्तकमा छापिएको थाहा पाएँ’, उहाँ भन्नुहुन्छ । ‘थापाथलीमा रामचन्द्र टिमोथी  कि के हो मैले  अलि नाम भुलेँ, उहाँको   एकता प्रकाशनले  छापेछ ,नामै नराखी’,  कवि सोतीले भन्नुभयो, ‘म झगडा गर्न पुगे, उहाँले  पछि नाम हाल्छु, देवकोटालाई नदिएको पारिश्रमिक म तपाईँलाई दिन्छु भनेर २ हजार दिनुभयो । पछि पनि नाम  राखेनछन् , अनि यस्तै भयो , नामै नराखी आयो जताततै ।’

‘एक जना नाम थाहा भएन  वस्ती थर भएकाले  मेरो गीत सम्पादन गरेका थिए रे, उनले सम्पादन गर्दा केही शब्द फेरेका थिए’, सोतीले दुःखेसो पोख्नुभयो, ‘नाम पनि काटिएछ ।’

‘एकता प्रकाशनले २०४६÷४७  तिर प्रकाशन गरेको हो जस्तो लाग्छ’, कवि सोतीले भन्नुभयो, ‘२०५२÷०५३ तिर मात्र गीतको पारिश्रमिक दुई हजार रुपैयाँ प्रकाशनले उपलब्ध गराएको थियो । त्यो पनि मुकुन्दशरण उपाध्यायले भनिदिए पछि  मात्र ।’

‘अहिले सबै तिर बिनानामको आउँछ, यो मप्रति भएको अन्याय हो’, कवि सोतीले भन्नुभयो, म फेरि यो खोज्न काठमाण्डौं जान्छु, दिपक जंगमलाई भेटे सबै थाहा हुन्छ भन्ने छ । उहाँलाई सबै थाहा छ, अझै आफ्नो नाम उल्लेख गर्न सक्छु भन्ने लागेको छ । मसँग भएको रेकर्ड पोखरा हुँदा फुट्यो’, कवि सोतीले भन्नुभयो, ‘नत्र त्यही रेकर्ड प्रमाण हुने थियो ।’
 
त्यतिबेला नै  रेडियो नेपालमा रामराज पन्तले थप ४ वटा आफ्ना गीत टेप गरिदिएको सोतीले बताउनुभयो । त्यसबापत ४० रुपैयाँ प्राप्त गरेको उहाँले सम्झनुहुन्छ । 

सेतै फुलेको कपाल ,चाउरिएको अनुहार तर कवितामा भने सधैं बुलन्द रुपमा प्रस्तुत हुने कवि सोती भन्नुहुन्छ, ‘मेरो गीतमा नाम दिन मन छ, म हिम्मत हारेको छैन, काठमाण्डौ जाने विचारमा छु ।’

२०२८ सालमा लमजुङको कुन्छा साहित्य  परिषद्को अध्यक्षदेखि , २०३८ मा मकवानपुर साहित्य परिषद् हटौंडाको संस्थापक उपाध्यक्ष,  २०४६ सालमा युवा साहित्य सदन पोखराको संस्थापक सचिव समेत रहनुभएका कवि सोतीको  ‘मेरी  मर्स्याङ्दी’ कविता संग्रह, –२०२८,  ‘दुई बत्ती निभेर’ कविता संग्रह –२०३०, ‘जगदम्बा’  काव्य २०४५, ‘समालोचक’ शोक काव्य २०४१ , ‘मेरीे आमा रुँदी हुन्’  कविता संग्रह– २०६७ प्रकाशित भएका छन् । उहाँका  यस बाहेक थुप्रै फुटकर कविताहरु प्रकाशित भएका छन् ।

लमजुङमा २००६ सालमा जन्मिए पनि देशका विभिन्न स्थान हुँदै हाल कावासोतीको पिठौलीमा बस्दै आउनु भएका कवि सोती अझै पनि साहित्यमा उत्तिकै तल्लीन हुनुहुन्छ । जीवनको ७ दशक बितिसक्दा पनि उहाँको सक्रियता अझै उत्तिकै छ ।  स्थानीय स्तरमा हुने साहित्यिक कार्यक्रम उहाँको उपस्थिति सधैँ हुने गर्दछ ।

‘उमेरमा पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न साहित्यिक कार्यक्रममा पुगियो । आजभोलि जान अलि गाह्रो हुन्छ , तर साहित्य लेखन अविराम रहिरहने छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: कात्तिक १२, २०७६

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया