मूल्य घटेपछि स‌ंकलकले यार्सागुम्बा बेच्न मानेनन्, अघिल्लो वर्षकै २८ करोड लिन बाँकी

 साउन २५, २०७६ शनिबार ११:५२:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – यार्सागुम्बाको मूल्य घटेपछि बझाङका स्थानीय बासिन्दाले संकलन गरेको यार्सागुम्बा बेचेका छैनन् । गएको वर्षको तुलनामा यस वर्ष यार्सागुम्बाको मूल्यमा निकै कमी आएपछि यार्सागुम्बा संकलकहरुले यार्सागुम्बा बिक्री गर्न आनाकानी गरेका छन् ।

गएको वर्ष बिक्री गरेको यार्सागुम्बाको पैसा अहिलेसम्म पनि नपाएका संकलकहरु यार्सागुम्बाको मूल्य घटेको खबरले झन् चिन्तित छन् । ठूला व्यापारीहरुले गएको वर्षभन्दा प्रति किलो १० लाख मूल्य घटाएर यार्सागुम्बाको भाउ कायम गर्ने हल्लापछि उनीहरु चिन्तामा परेका हुन् । 

गएको वर्ष प्रति किलो १७ लाख २० हजार रुपैयाँमा जिल्लामा बिक्री भएको यार्सागुम्बाको मूल्य यस वर्ष प्रतिकिलो सात लाख रुपैयाँ मात्र कायम गरेका कारण धेरैजसो संकलकहरुले यार्सागुम्बा बिक्री गर्न मानेका छैनन् । अप्रत्याशित ढंगले यार्सागुम्बाको मूल्यमा आएको गिरावटले तीन महिनासम्म जोखिम मोल्दै उच्च हिमाली क्षेत्रमा गएर यार्चा संकलन गरेका उनीहरु झस्किएका छन् । 

गएको वर्ष व्यापारीहरु यार्सागुम्बा लिन जिल्लामै पुग्ने गरेको तर यस वर्ष भने व्यापारीहरु नै आएको सुर्मा गाउँपालिकाका यार्सागुम्बा संकलक प्रेमबहादुर बोहराले बताउनुभयो । त्यस्तै सुर्मा गाँउपालिका दौलिचौरका गोरखबहादुर बोहराले भन्नुभयो, ‘गएको वर्ष संकलन गरेर बिक्री गरेको ३ किलो यार्सागुम्बाको रकम मैले अहिलेसम्म पाएको छैन । यस वर्षको यार्सागुम्बा कहिले बिक्री हुने हो भनेर यार्सागुम्बा संकलकहरु चिन्तित छन् । 

यार्सागुम्बाको मुख्य बजार मानिने चीनबाट माग कम भएका कारण मूल्यमा गिरावट आएको ठुला व्यापारीहरुले बताउने गरेका छन् । ‘पोहोर सालको सामान पनि बिक्री नभएर काठमाण्डौमा थन्किएको छ’, बझाङबाट प्रति वर्ष एक सय किलो बढी यार्सागुम्बा चीन निर्यात गरिरहनु भएका व्यापारी फुन्चोक लामाले भन्नुभयो, ‘मूल्य घट्नुका पछाडि धेरै कारण छन्, मुख्य कारण भनेको अमेरिका–चीन व्यापार युद्ध हो ।’

यार्सागुम्बाबाट निर्मित विभिन्न औषधि तथा खाद्य पदार्थहरु अमेरिका निर्यात हुने गरेको र अमेरिकाले चीनमा निर्मित सामग्रीमा करवृद्धि गरेका कारण यार्सागुम्बामा असर पुगेको उहाँले बताउनु भयो । 

यद्यपि यार्सागुम्बा संकलकहरु भने यार्सागुम्बाको मूल्य बढ्नेमा आशावादी रहेको र दुई तीन महिना पर्खने बताएका छन् । 

अघिल्लो वर्षकै २८ करोड बाँकी   

गएको वर्ष बेचेको यार्सागुम्बाको रकम अहिलेसम्म पनि नपाउँदा यार्सागुम्बा संकलकहरु आर्थिक संकटको सामना गरिरहेका छन् । यार्सागुम्बा बेचेको रकम नपाउँदा पैसाको अभाव भएको र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरुको जोहो गर्नसमेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । 

बझाङको हिमाली भेगमा पर्ने दुर्गम सुर्मा र साइपाल गाउँपालिकाका बासिन्दाहरु पूर्णरुपमा यार्सागुम्बाको कमाइमा निर्भर छन् । वर्षमा एक बालीमात्र खेती हुने गरेका कारण यहाँका बासिन्दाहरु समयमै यार्सागुम्बाको रकम नपाउँदा स्वास्थ्योपचार गर्न, विवाह, व्रतबन्धजस्ता काम गर्न पनि समस्या भैरहेको उनीहरु बताउँछन् । 

त्यस्तै मस्टा, तल्कोट, दुर्गाथली र छविस पाथिभेरा गाउँपालिका तथा बुंगल जयपृथ्वी नगरपालिकाको माथिल्लो भेगमा बस्ने संकलकहरु पनि यार्सागुम्बाको रकम नपाएका कारण समस्या भएको बताउँछन् । 

गएको साउनको पहिलो हप्ता यहाँका व्यापारीहरुले प्रति किलो १७ लाख २० हजारका दरले संकलकहरुबाट उधारोमा यार्सागुम्बा किनेका थिए । जिल्लाभरिका झण्डै २० हजार संकलकहरुबाट स्थानीय व्यापारीले ३ सय किलोभन्दा बढी यार्सागुम्बा उधारोमा लिएको भए पनि अहिलेसम्म रकम दिएका छैनन् । व्यापारीहरुले जिल्लाभरिका संकलकबाट ५२ करोडभन्दा बढी मूल्यको यार्सागुम्बा उधारोमा किनेको व्यापारी शेरबहादुर बोहराले बताउनु भयो ।   

बझाङका स्थानीय व्यापारीहरुले संकलकहरुबाट किनेको यार्सागुम्बा काठमाण्डौ लगेर चिनियाँ व्यापारीहरुलाई बेच्ने गर्दछन् । जिल्लामा आफूहरुले तिरेको मूल्यमा चिनियाँ व्यापारीहरुले किन्न नमानेपछि हालसम्म पनि यार्सागुम्बा बिक्री नभएको र संकलकहरुको रकम तिर्न नसकिएको व्यापारीहरुको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया