२ वर्षभित्र नेपाल एअरलाइन्ससँग २३ वटा जहाज !

 असार २६, २०७५ मंगलबार १८:४०:४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमले आउँदो २ वर्षभित्र आफ्ना जहाजको संख्या २३ पुर्‍याउने भएको छ । 

अहिले अन्तर्राष्ट्रिय उडान गर्ने ५ वटा (अबको दुई हप्तापछि आउने वाइड बडीसहित)  र राष्ट्रिय उडान गर्ने ८ वटा विमान रहेका छन् । तर सन् २०१९ को अन्त्यसम्म निगमले २ वडा न्यनरो बडी विमान किनेर अन्तर्राष्ट्रिय गन्तव्य थप गर्ने भएको छ । यस्तै सन् २०१९ कै अन्त्यसम्म थप आठ वटा आन्तरिक उडान उडान गर्ने विमान थप्ने निगमको योजना रहेको महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिनुभयो । 

निगमले अहिलेका १३ वटा र थप १० वटा जहाज गरी २ वर्षभित्र २३ वटा जहाज पुर्‍याएर आफूलाई अब्बल बनाउने पनि महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो । २ वर्षपछि निगमसँग ७ वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज हुनेछन् । यस्तै १६ वटा आन्तरिक उडान गर्ने विमान हुनेछन् ।

‘लगानीको लागि हामीले सञ्चयकोषसँग अनौपचारिक रुपमा कुरा गरिरहेका छौं, सरकार जमानी बस्न तयार भएमा ऋणको लागि समस्या हुने छैन’, महाप्रबन्धक कंशाकारले भन्नुभयो, ‘हामीसँग पर्याप्त जहाज नभएकाले हामीले पर्यटकहरु आउने गन्तव्यमा उडान गर्न पाएका छैनौँ अब जहाज थप्ने हो र नेपाल एअरलाइन्सलाई बलियो बनाउने हो ।’

आउँदो आर्थिक वर्षमा सबै प्रक्रिया पूरा गरेर खरिद आदेशमा लैजाने निगमको योजना रहेको छ । २ वटा न्यारो बडीको लागि १३ अर्ब र साना ८ वटा जहाजको लागि ५-६ अर्ब रुपैयाँ लाग्ने निगमले जनाएको छ ।

पर्यटक आउने गन्तव्यमा निगमका जहाज

अहिले नेपाल वायुसेवा निगमसँग २ वटा न्यारो बडी र एउटा बोइङ ५७५ ले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका छन् । यसै असारमा आएको वाइड बडी र अबको दुई हप्तापछि आउने अर्को वाइड बडीले थप गन्तव्यमा उडान गर्नेछन् । सुरुमा दोहा, हङकङलगायतका गन्तव्यमा उडान गरिसकेपछि नयाँ जहाजले साउदी अरब, जापान र दक्षिण कोरियामा उडान गर्नेछन् । यी दुईवटा वाइड बडीले अष्ट्रेलियाको सिड्नी र युरोपमा पनि उडान भर्नको लागि पहल भैरहेको निगमले जनाएको छ । 

त्यसैगरी नेपालमा श्रीलंका, म्यानमार, भियतनाम लगायतका देशबाट पनि धेरै पर्यटक नेपाल आइरहेकाले सन् २०१९ को अन्त्यसम्म आउने दुइवटा न्यारो बडी विमानले भारत, श्रीलंका, म्यानमार भियतनामलगायतका देशमा उडान गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।

‘सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्राउने भनिरहेको छ, त्यसैलाई लक्षित गरेर हामीले विमान र गन्तव्य थप्ने योजना बनाइरहेका छौँ, पछिल्लो समय पर्यटक जहाँबाट धेरै आएका छन् अबका हाम्रा गन्तव्य त्यतै हुनेछन्’, महाप्रबन्धक कंसाकारले भन्नुभयो । 

जहाँ–जहाँ विमानस्थल त्यहाँ–त्यहाँ उडान

निगमसँग अहिले भैरहेका ८ वटा आन्तरिक उडान गर्ने विमानमध्ये ६ वटाले मात्रै नियमित उडान गरिरहेका छन् । चीनबाट ल्याइएका ४ वटा वाई–१२ मध्ये २ वटाले मात्रै उडान गरिरहेका छन्, २ वटा उडान अनुमतिपत्र (एओसी) लिने तयारीमा छन् । यस्तै एमए –१६, २ वटा विमान र २ वटा ट्विनअटर विमानले पनि उडान गरिरहेका छन् । तर कहिले जहाज बिग्रने अनि कहिले पाइटलको समस्याले गर्दा ८ वटा जहाज भएर पनि निगमको अन्तरिक उडानतर्फको बजार हिस्सा जम्मा ३ प्रतिशत रहेको छ । तर अब निगमले २ वर्षभित्र थप ६ वटा साना (१९ सिटसम्मका)  र २ वटा मध्यम (७२ सिटसम्मका) विमान ल्याएर बजार हिस्सा बढाउने जनाएको छ । 

‘सरकारले ठूलो लगानी गरेर धेरै ठाउँमा विमानस्थल बनाएको छ, अब जहाँ–जहाँ विमान बस्न लायक विमानस्थल छन्, त्यहाँ–त्यहाँ एनएसीका विमान जानेछन्, नियमित उडान भएपछि यात्रु पनि बढ्नेछन्’, महाप्रबन्धक कंसाकारले भन्नुभयो, ‘निगम भनेको निजी जस्तो पैसा मात्रै हेर्ने संस्था होइन, समाजसेवा पनि गर्ने हो ।’

२ वर्षभित्रमा आउने ८ वटा विमानमध्ये ६ वटा साना विमानले विकट क्षेत्रमा उडान गर्ने र मध्यम साइजका विमानले सुगम क्षेत्रमा उडान गर्ने निगमले जनाएको छ । 

पाइटलको अभाव मुख्य समस्या

अहिले अन्तर्राष्ट्रिय उडान गर्ने ५ वटा (अबको दुई हप्तापछि आउने वाइड बडीसहित)  र राष्ट्रिय उडान गर्ने ८ वटा विमान गरी १३ वटा विमान रहेका छन् । १३ वटा विमान चलाउनको लागि १ सय १६ जना पाइलट चाहिन्छ । तर निगमसँग अहिले जम्मा ८८ जना मात्रै पाइलट रहेका छन् । निगमलाई सबै जहाज चलाउन २८ जना पाइलटको अभाव रहेको छ । अहिले भैरहेका आन्तरिक विमान चलाउनकै लागि निगमलाई ८ जना पाइलटको अभाव रहेको छ । 

‘नेपालमा पाइलट नै छैनन्, नेपालमा नभएका पाइलट निगमसँग हुने कुरै भएन, त्यसैले विदेशी पाइलट ल्याउने योजना बनाएका छौँ’ महाप्रवन्धक कंसाकारले भन्नुभयो, ‘विदेशी ल्याउँदा तलब त महंगो दिनुपर्छ, तर के गर्नु जहाजै नचलाउनु भएन, त्यसैले विदेशी पाइलट ल्याउनुपर्छ ।’

अहिले नेपाल आइसकेको र अब आउन लागेको वाइडबडी एअरबस ३२०–२०० विमानको लागि निगमले अहिले ६ जना पाइलट र ६ जना को–पाइलट तयार गरिरहेको छ । अर्को विमान आएपछि पाइलट र को–पाइलट गरेर २४ जना चाहिछन् । विदेशी पाइलट ल्याएर त्यो संख्या पूर्ति गरिने निगमले जनाएको छ । 

अबको योजना डिजिटलाइजेसन र चुस्त सेवा

निमगले अरु विमान कम्पनीले प्रविधिको पूर्ण प्रयोग गरिरहेको सन्दर्भमा अब आफू पनि नयाँ प्रविधिमार्फत नै अघि बढ्ने जनाएको छ । ‘अन्तर्राष्ट्रिय टिकटतर्फ त हामीले अनलाइन बुकिङको सेवा दिइरहेका छौँ, अबको २ महिनाभित्रै आन्तरिक उडानतर्फ पनि ई–टिकेटिङको सुरुवात गर्नेछौँ, त्यसको लागि ई–सेवा र आईएमई–पे सँग कुरा भैसकेको छ’, महाप्रबन्धक कंसाकारले भन्नुभयो । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया