थियटरमा तीन नाटक: मीमांसा, अर्को कुरुक्षेत्र र वैजयन्ती

 साउन २५, २०७६ शनिबार १८:४७:५ | उज्यालो सहकर्मी

काठमाण्डाै - काठमाण्डाैका मुख्य थियटरमा अहिले तीन वटा नाटक मञ्चन भइरहेका छन् ।

अनामनगरमा रहेको मण्डला थियटरमा ‘मीमांसा’, कालिकास्थानमा रहेको सर्वनाम थियटरमा ‘अर्को कुरुक्षेत्र’ र बत्तीसपुतलीमा रहेको शिल्पी थियटरमा ‘वैजयन्ती’ प्रदर्शन भइरहेका हुन ।

तीन वटै नाटक फरक फरक विषयमा केन्द्रित छन् । नाटककार अशेष मल्ल लामो समयपछि ‘अर्को कुरुक्षेत्र’ मार्फत निर्देशनमा फर्किनु भएको छ भने नेपाली नाटकका गुरु मानिने सुनिल पोखरेल ‘मीमांसा’मार्फत फेरि रंगमञ्चमा झुल्किनु भएको छ ।

सुनिल पोखरेलको मीमांसा !

अनामनगरको मण्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘मीमांसा’मा सुनिल पोखरेलको मुख्य अभिनय छ । लामो समयपछि नाटकमा फर्किएका पोखरेलकै अभिनय हेर्न मण्डलामा नाटक हेर्नेको घुइँचो बढ्दो छ । मानिसहरुको आत्मचिन्तन, सामाजिक अवस्था, त्यसले निम्त्याउने समस्या र मनोविश्लेषणमा नाटक केन्द्रित छ ।

शंकर लामिछानेको कथा आत्माको मीमांसामा आधारित नाटक मीमांसालाई प्रवीण खतिवडाले निर्देशन गर्नु भएको हो । 

नाटकमा कलाकार पोखरेलसहित राजकुमार पुडासैनी, घनश्याम जोशी, विजय बराल, मौसम खड्का, सुरज तमु, सुमित तामाङ, राज न्यौपाने लगायतको अभिनय छ । साउन १० गतेदेखि शुरु भएको यो नाटक साउन ३२ गतेसम्म मञ्चन हुनेछ ।

फरक क्षमता भएकाहरुको ‘वैजयन्ती’ रुप !  

बत्तिसपुतलीको गोठालो नाटकघर भनिने चिनिने शिल्पी थियटरमा ‘वैजयन्ती’ मञ्चन भइरहेको छ । साउन १५ गतेदेखि मञ्चन भइरहेको वैजयन्ती नाटकलाई अशान्त शर्माले निर्देशन गर्नु भएको हो ।

नाटकमा फरक क्षमता र अपाङ्गता भएकाहरुको दैनिकीलाई देखाउन खोजिएको छ । अपांगङ्गता भएपछि भोग्नुपर्ने विभेद, भेदभावपूर्ण व्यवहार, अपहेलना र मौलिक अधिकारबाट बञ्चित भएका कुरालाई मिहिन ढंगले प्रस्तुत गरिएको छ ।

नाटकमा सुदीपजंग कार्की, मञ्जु श्रेष्ठ, सौभाग्य सिंह, चाँदनी शाह, हेमन तण्डुकार, विजय नेपाल र सञ्जु कार्कीको अभिनय छ । नाटक साउन २७ गतेसम्म मञ्चन हुनेछ 

अशेष मल्लको ‘अर्को कुरुक्षेत्र’ !

कालिकास्थानमा रहेको सर्वनाम थियटरमा शुक्रबारदेखि नाटक ‘अर्को कुरुक्षेत्र’ शुरु भएको छ । सम्पदा मल्लको कथामा रहेको नाटक ‘अर्को कुरुक्षेत्र’लाई सर्वनामका संस्थापक अशेष मल्लले निर्देशन गर्नु भएको हो । 

नाटकमा खासगरी महिलाहरुको कथालाई भिन्न भिन्न रुपबाट प्रस्तुत गर्न खोजिएको छ । भदौ २१ गतेसम्म मञ्चन हुने यो नाटकमा उषा रजक लगायतका कलाकारको अभिनय छ ।

 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया