कश्मीरी बालकलाकार : जसले राष्ट्रिय पुरस्कार पाउँदा समेत खबर पाएनन्

 साउन २६, २०७६ आइतबार ९:३२:३ | एजेन्सी
unn.prixa.net

शुक्रबार घोषणा भएको भारतीय राष्ट्रिय चलचित्र पुरस्कारमा ‘हामिद’ले उर्दू भाषाको सर्वश्रेष्ठ चलचित्रको अवार्ड जित्यो । चलचित्रका मुख्य कलाकार ८ वर्षीय तल्हा अरशर रेशीले सर्वश्रेष्ठ बालकलाकारको अवार्ड जितेको घोषणा गरियो ।

तर जम्मू–कश्मीर घर भएका रेशीलाई अहिलेसम्म आफूले राष्ट्रिय पुरस्कार पाएको थाहा छैन । भारतको केन्द्र सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेसँग जम्मू–कश्मीरमा मोबाइल फोन, ल्याण्डलाइन तथा इन्टरनेटमाथि प्रतिबन्ध लगायो । त्यसैले जम्मू–कश्मीरका नागरिकलाई बाँकी दुनियाँमा के भैरहेको छ मात्रै होइन, कश्मीरमै पनि के भैरहेको छ भन्ने थाहा छैन ।

शुक्रबार पुरस्कार घोषणापछि चलचित्रका निर्देशक एजाज खानले तल्हा अरशद रेशीलाई सम्पर्क गर्न खोजेको तर असफल भएको बताए । खानले भने, ‘मैले हामिदको भूमिका निर्वाह गरेका तल्हालाई सम्पर्क गर्ने धेरै प्रयास गरेँ । उनका बुवाआमा कसैको पनि फोन लागेन ।’

निर्देशक खानले आफूले अवार्ड पाएको कुराको खुसीसमेत अरशदले नपाएको बताएका छन् । 

‘हामिद’ अमीन भटको नाटक ‘फोन नम्बर ७८’ मा आधारित चलचित्र हो । यो कश्मीर घाटीका एक बालकको त्यस्तो कथा हो जहाँ उनका बुवा हराइरहेका हुन्छन् । यी बालक भगवानसँग(अल्लाह) कुरा गर्दै आफ्ना बुवालाई फर्काउन आग्रह गर्छन् ।

चलचित्रमा अभिनेत्री रसिका दुग्गल, अभिनेता सुमित कौल तथा विकास कुमारको समेत अभिनय रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया