मिस नेपाल अर्थ-२०१८ प्रिया सिग्देल साझा पार्टीमा

 साउन २६, २०७६ आइतबार १३:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएकाे वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।

‘डेभलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया सिग्देल पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने सामाजिक संस्था 'हात्ती हात्ती'की संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उहाँले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नु भएकाे थियाे । त्यस्तै ‘युवा चेन्ज मेकर’को रूपमा स्विजरल्याण्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुति दिनु भएकाे छ । 

राजनीतिमा प्रवेश गरेसँगै सिग्देल भन्नुहुन्छ, 'मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेसन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ। तर मलाई चाहिँ भित्रैदेखि राजनीतिक रूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।' 

देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक रहेकाे पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया