पैसा नतिरेकाे भन्दै म्यानपावर कम्पनीका एजेन्टले डोजर लगाएर घर भत्काए

 साउन २६, २०७६ आइतबार १४:४१:२५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - विदेश पठाउँदा लागेकाे रकम फिर्ता नगरेको भन्दै महोत्तरीमा एक जनाले डोजर लगाएर ऋणीकाे घर भत्काएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका-१, कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन् । 

शनिबार सम्पूर्ण परिवारलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक डोजर लगाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले दुखेसो पोख्नुभयो । घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाका विषयमा थोरै मात्र जानकारी भएको बताउनुभयो । पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको उहाँको भनाइ छ ।

पीडित जाहिराका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाइ हुने कम्पनीमा काम पाइने भन्दै विदेश पठाइदिएका थिए । तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाउनुभएन ।

आफ्ना पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले ८५ हजार रुपैयाँको जाली तमसुक बनाएकाे र त्यही पैसाको ब्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम माग गर्ने गरेकाे र जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेकाे जाहिराले बताउनुभयाे ।

शेखको सम्पतिको नाममा ५ धुर घडेरीमा काठ र माटोले बनाएको यही एउटा सानो घर थियो । पति विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उहाँकी श्रीमती जाहिराले बताउनुभयो । घरमा १७ र १५ वर्षका दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन् ।

‘विदेशमा पतिको कमाइ थाेरै भएकाले घर व्यवहार चलाउन  र २ छोरीको बिहे गर्न बाहेक केही सकिएको छैन, बस्ने घर पनि एजेन्टले भत्काएर सडकमा पुर्‍याए । अब हामी कहाँ बस्ने ?’, जाहिराले आँसु झार्दै भन्नुभयो ।‘

पतिले पठाएको डेढ लाख र आफ्नो बुबाले दिएको ५० हजार गरी २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता-कपडासमेत निकाल्न नदिइ डोजर लगाएकाे जाहिराको दुखेसाे छ । एजेन्टले पैसा असुलीका लागि मुद्दा हालेपछि गएकाे असारमा ३ लाख रुपैयाँ दिएर हरहिसाब मिलाउन आग्रह गर्दा नमानेको र अहिले एकाएक घर भत्काएकाे जाहिराले आराेप लगाउनुभयाे ।

जाहिराले केही वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्ने गरेकाे गुनासाे गर्नुभयाे । एक पटक त होहल्ला समेत भइपछि भागेकाे र यस विषयमा पञ्चायत समेत राखिएको थियो । त्यो रीसीबी साँध्नलाई घर तोडेको हुनसक्ने केही स्थानीयको अनुमान छ ।

घर मैले होइन अदालतले तोडेको हो: एजेन्ट ठाकुर

एजेन्ट ठाकुरले शेखको घर आफूले नभइ जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दावी गरे । शेखले विदेश जानकाे लागि नभएर घर व्यवहारका लागि ७ वर्ष अघि २ लाख ५० हजार ऋण लिएको ठाकुरको भनाइ छ ।

‘मसँग शेखले लिएको ऋण तिरेन । त्यसपछि मैले जिल्ला अदालत महोत्तरीमा असुल उपर गरी पाऊँ भनी मुद्दा हालेँ । डेढ वर्ष अघि अदालतले घरघडेरी लिलाम गर्न आदेश दियो’, एजेन्ट ठाकुरले भने, ‘पटक पटक घर खाली गर्न आग्रह गर्दा समेत मानेन । शनिबार अदालत, प्रहरी प्रशासन मिलेर उसको घर भत्कायो । यसमा मेरो कुनै दोष छैन ।’

 तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटना सम्बन्धमा अनभिज्ञता देखाएकाे छ ।

दोषीलाई कारबाही गर्नुपर्छ: नगरप्रमुख साह

भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूले लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले केही गर्न नमिल्ने बताउनुभयाे । घर भत्काएको घटना थाहा पाएपछि निकै दु:ख लागेकाे बताउँदै नगरप्रमुख साहले प्रहरी प्रशासनले कानुनी प्रक्रिया अनुसार दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभयो ।    

 

 

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया