मध्यपहाडी लोकमार्गका ५ निर्माण कम्पनी कारबाहीमा, १ करोड २२ लाख रुपैयाँ जरिबाना तिराइयो

 साउन २६, २०७६ आइतबार २०:४:४५ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल फोटो

साउन – पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत फिदिम आयोजना कार्यालयले  पूर्वी पहाडी जिल्लामा काम गर्दै आएका पाँच ओटा निर्माण कम्पनीलाई जरिबाना गरेको छ ।

आयोजना कार्यालयले तोकिएको समयभित्रमा लोकमार्ग अन्तर्गतको पुल र सडकको काम सम्पन्न नगर्ने पाँच ओटा निर्माण कम्पनीलार्ई जरिबाना तिराएको हो । कारबाहीमा परेका पाँच ओटा निर्माण कम्पनीबाट १ करोड २२ लाख असुली गरिएको छ ।  

नेपाल–भारत सीमा पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडी जिल्लाको झुलाघाटसम्म जोडिने लोकमार्गको एक हजार सात सय ७६ किलोमिटरमध्ये फिदिम कार्यालयको कार्यक्षेत्रभित्र दुई सय ८० किलोमिटर पर्दछ । यी क्षेत्रमा काम गर्दै आएका निर्माण कम्पनीहरुलाई कारबाहीस्वरुप जरिबाना तिराइएको आयोजना कार्यालय फिदिम प्रमुख अभिमान मुल्मीले बताउनु भयो । 

कारबाहीमा परेकाहरुमध्ये कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन प्रालिलाई ५९ लाख ६९ हजार एक सय ६५ रुपैँया, इलाइट कन्स्ट्रक्सन प्रालिलाई सात लाख ७३ हजार ३ सय रुपैँया, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालीलाई ५४ लाख ५३ हजार दुई सय २६ रुपैँया, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन प्रालिलाई एक लाख ७५ हजार एक सय ५२ रुपैँया र एरिना कन्स्ट्रक्सन प्रालिलाई एक लाख १९ हजार आठ सय २० रुपैँया जरिबाना तिराइएको हो । 

फिदिममा कार्यालय स्थापना भएपछि लोकमार्गको काममा तीव्रता दिइएको र कार्यालयको क्षेत्रभित्र झण्डै ४० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको कार्यालयले जनाएको छ । जरिबाना गरिएका कम्पनीहरुलाई काम सम्पन्न गर्न  निश्चित समयावधि दिइएको छ । तोकिएको समयसीमाभित्र पनि काम सम्पन्न नगरे कानुन अनुसार कालो सूचीमा राखिने प्रमुख मुल्मीको भनाइ रहेको छ । 

आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्यका साथ लोकमार्गको काम भैरहेको छ । आयोजनाले ३५ प्याकेजमा ६ अर्ब ४४ करोड ७३ लाख रुपैँयामा ठेक्का दिइसकेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया