कोशी टप्पुमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु भेटियाे

 साउन २७, २०७६ सोमबार ८:३१:३५ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी - कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ । आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमुना परीक्षणका क्रममा एन्थ्रेक्सको जिवाणु भेटिएकाे हाे । 

पशु रोग अन्वेषण प्रयोगशाला बिराटनगरका डाक्टर संजयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमुना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज अर्थात एन्थ्रेक्सको जिवाणुु फेला परेको जानकारी दिनुभयो  । याे जिवाणु माटोमा रहने र घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै रोग सर्ने गर्दछ ।

मरेका पशु छुँदा, स्वास लिँदा र जिवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिस पुग्दा जिवाणु शरीरमा प्रवेश गर्न सक्ने सम्भावना रहने पशु चिकित्सकहरु बताउँछन् ।

बिराटनगरमा रहेकाे ल्याबबाट परीक्षणका क्रममा एन्थ्रेक्स प्रमाणित भैसकेको बताउँदै डाक्टर यादवले त्यही अनुरुपको रिपोर्ट केन्द्रीय ल्याब काठमाण्डौंमा पठाइएको बताउनु भयाे ।  

एन्थ्रेक्स  मानिसमा समेत सर्न सक्ने भएकाले बेलैमा सावधानी अपनाउनु पर्ने उहाँले बताउनुभयो । आरक्षभित्रको चरण क्षेत्रमा एन्थ्रेक्सको जिवाणु भेटिएसँगै कोशी टप्पु बन्यजन्तु आरक्षभित्रका अर्ना सहितका संरक्षित जनावरको अस्थित्वमा खतरा उत्पन्न हुन सक्ने सम्भावना तर्फ समेत सचेत रहनु पर्ने पशु चिकित्सकहरुले बताएका छन् ।

 एन्थ्रेक्सको जिवाणु भेटिएको भन्ने विषयलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले समेत स्विकार गर्नु भएको छ । एन्थ्रेक्सको जिवाणु पशु तथा मानवका लागिसमेत घातक हुने भएकाले प्रदेश सरकारसहित पशु निर्देशनालय र मातहतका कार्यालयमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी राउतले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया