कश्मीर मामिलामा पाकिस्तानलाई मुस्लिम देशबाट पनि निराशा !

 साउन २७, २०७६ सोमबार १२:३४:१३ | एजेन्सी
unn.prixa.net

नरेन्द्र मोदीको सरकारले संसदमा जम्मू कश्मीरको विशेष दर्जा खारेजी गर्ने घोषणा गरेसँगै पाकिस्तान सक्रिय बनिरहेको छ । 

जम्मू कश्मीरमा तीन इलाका आउँछन्– जम्मू, कश्मीर र लद्दाख । जम्मू हिन्दू बाहुल्यता भएको इलाका हो भने कश्मीर पूरै मुस्लिम बाहुल्यता भएको इलाका हो । त्यस्तै लद्दाख बौद्ध धर्मको बाहुल्यता भएको इलाका हो । मोदी सरकारको निर्णय अनुसार जम्मू कश्मीर केन्द्रशासित प्रदेश हुनेछ, जहाँ विधानसभा पनि हुन्छ तर लद्दाखमा कुनै विधानसभा हुने छैन । 

भारत सरकारको यो निर्णयसँगै पाकिस्तानको तिखाे प्रतिक्रिया आयाे । पाकिस्तानले भारत सरकारको फैसलाको विरोध गर्दै लगभग सबै द्विपक्षीय सम्बन्धहरु तोडेको छ । भारतको राजदूतलाई फिर्ता पठाइएको छ भने सबै व्यापारिक सम्बन्ध पनि समाप्त गर्ने घोषणा गरिएको छ । 

पाकिस्तानले यो मामिलालाई लिएर मुस्लिम देशहरुको संगठन अर्गनाइजेसन अफ् इस्लामिक को–अपरेसन अर्थात् ओआईसीसम्म पनि पुग्यो । जसका विश्वभरि ५७ ओटा मुस्लिम बाहुल्यता भएको देश सदस्य छन् । ओआईसीले जम्मू कश्मीरमा मानवअधिकार उल्लंघनको निन्दा गर्दै समाधान खोज्न वार्ता सुरु गर्नुपर्ने बताएको छ । 

पाकिस्तानका विदेश मन्त्री शाह महम्मुद कुरैशी भारतको गुनासो लिएर चीन पुगेका छन् । चीनले पनि कश्मीर समस्याको समाधान दुवै देश मिलेर खोज्न सुझाव दिएको छ । यद्दपि लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएकोप्रति भने चीनले आपत्ति जनाएको छ, लद्दाखलाई लिएर चीनले आफ्नो दावी पेस गर्ने गरेको छ । 

पाकिस्तानले विशेषगरी मध्य–पूर्वको मुस्लिम देशप्रति आफ्नो भरोसा जनाएको थियो । यसका साथै पाकिस्तानले मुस्लिम देशहरुसँग निकै भरोसा राखेको थियो । 

यही हप्ता पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलसँग पत्रकारले उनलाई सोधेका थिए, ‘पाकिस्तानले भारतसँग कसरी सामना गर्नेछ ?’ जवाफमा प्रवक्ताले भने, ‘हामी मुसलमान हौँ र हाम्रो शब्दकोषमा ‘डर’ नामको कुनै शब्द नै छैन ।’

यूएईका राजदूतले पनि जम्मू कश्मीर दुई देशको आन्तरिक मामिला भएको र दुवै पक्षले संयमतापूर्वक र संवाद मार्फत समाधान खोज्नुपर्ने बताएका छन् । यूएईका साथै मध्य–पूर्वका बाँकी मुस्लिम देशहरुले पनि यस्तै बयान दिएका छन्, जसमा साउदी अरब, ईरान र टर्की पनि सामेल छन् । तीन ओटै देशका अनुसार भारत र पाकिस्तानले सहमतिबाट नै तनावलाई सुल्झ्याउनु पर्छ । 

मध्य–पूर्वका मुस्लिम देशहरुका लागि पाकिस्तानभन्दा भारत महत्वपूर्ण कारोबारी साझेदार भएकोले पनि यस्तो प्रतिक्रिया आएको हो । पाकिस्तानको तुलनामा भारतको अर्थव्यवस्थाको आकार नौ गुणा ठूलो छ । 

त्यस्तै विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका र रुसले पनि दुई देशले नै आपसी समझदारीमा विवाद सुल्झ्याउनु पर्ने बताउँदै आएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया