सप्तरीका इतिहासविद् हरिकान्त लाल दासको ७८ वर्षको उमेरमा निधन

 साउन २८, २०७६ मंगलबार ७:३:४८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको राजविराज नगरपालिका-८ का इतिहासविद् हरिकान्त लाल दासको ७८ वर्षको उमेरमा निधन भएको छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक दासको राजविराज–८ मा रहेकाे स्थितको आफ्नै घरमा साेमबार राति साढे दुई बजे निधन भएको हो ।

त्रिभुवन विश्व विद्यालयमा ३७ वर्षसम्म सेवा गरेर अवकाश जीवन यापन गर्दै आइरहनु भएका दास केही वर्षदेखि मधुमेह र हृदयरोगबाट पीडित हुनुहुन्थ्याे । 
सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक तथा ऐतिहासिक क्षेत्रकाे गहन अध्ययन अनुसन्धान गर्नुभएका दासका आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भएको थियो । जिल्लाको राजनीतिक, धार्मिक एवं सांस्कृतिक विषयमा मिहीन ढङ्गबाट अध्ययन अनुसन्धान गर्ने उहाँ जिल्लाकै पहिलो व्यक्ति हुनुहुन्थ्याे ।

उहाँको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको थियाे । यस अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत उहाँको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा नेपाली र मैथिली भाषामा प्रकाशन छन् ।

कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा उहाँद्वारालिखित ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ ।

यस्तै २०६७ सालमा साझा प्रकाशनबाट उहाँको ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित भएकाे थियाे । त्यस पुस्तकमा जिल्लामा रहेका ऐतिहासिक गढीहरु, पूर्ण कर्णाटकालीन तथा कर्णाटकालीन गढीहरु, राजा पुरादित्यको बनौली गढ तथा सेनकालीन गढीहरुसमेतका विषयमा विस्तृत चर्चा गरिएको छ ।

पुस्तकलाई नै धन सम्पत्ति सम्झिने सरस्वतीपुत्र दासको घरमै करिब चार हजार पुस्तक सङ्ग्रहित छन् । सयौं वर्ष पुराना पुस्तकहरु उहाँले अध्ययन अनुसन्धानका क्रममा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट सङ्कलन गर्नुभएकाे हाे । उहाँले गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन बापत एक दर्जनभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएकाे छ 

मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको पूर्व अध्यक्ष समेत रहनुभएका दासका धर्मपत्नी विद्यादेवी दास, दुई छोरी अर्चना तथा अञ्जली र एक छोरा सन्दीप छन् । उहाँको अन्तिम संस्कार पैतृक गाउँ गढियामा मङ्गलबार बिहान गरिने धर्मपत्नी विद्यादेवीले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया