नेपाल पस्यो अमेरिकी फौजी किरा !

 साउन २८, २०७६ मंगलबार १५:३:२५ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो ।

यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले नेपालमा फौजी किरा प्रवेश गरेकोबारे थप अनुसन्धान गरेर केन्द्रलाई जानकारी गराउनु भएको थियो । वैज्ञानिकले अनुसन्धान गरेर नेपालमा फौजी किराको प्रवेश गरेको पुष्टि नै भए पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको थप परीक्षण सुरु गरेको थियो ।

परीक्षणका क्रममा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकैबालीमा देखिएको फौजी किराको नमुना परीक्षणका लागि भारत पठाइएको थियो ।

भारत पठाइएको मकैको बोट, पात र डाँठमा रहेको फौजी किराको नमुना परीक्षणका क्रममा पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको बैठकले नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुभयो ।

‘वैज्ञानिकले फौजी किराको अनुसन्धानपछि नेपाल प्रवेश गरेको जानकारी गराउनु भएको थियो । हामीले थप अनुसन्धान र परीक्षणका लागि नमुना भारतको बेंग्लोर पठाइएका थियौँ’, केन्द्रका बाली संरक्षण अधिकृत सुवेदीले भन्नुभयो, ‘भारतबाट पनि परीक्षण पुष्टि भएपछि नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेका हौँ ।’

यो किराले मकैको पात, डाँठ, घोगाा र बोट नै सखाप पार्ने गरेको छ । मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्ने गरेको छ ।

फौजी किराको उत्पत्ति र फैलावट

मकैबाली सखाप पार्ने यो अमेरिकी रैथाने फौजी किरा हो । अमेरिकापछि यो किरा सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको थियो । त्यसको दुई बर्वामै यो किरा पूरा अफ्रिकाभर फैलिएको वैज्ञानिकहरुले बताएका छन् ।

अफ्रिकालगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यमा देखिएको थियो । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।

फौजी किराको यही क्षमताका कारण गएको वर्ष भारतका १९ प्रान्तमा फैलिसकेको थियो । भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको वैज्ञानिकहरुले बताएका छन ।

त्यसलगत्तै सन् २०१९ को सुरुवातमा थाइल्याण्ड, चीन र भियतनाममा पनि देखिएको थियो । यसक्रममा नेपालका विभिन्न जिल्लामा समेत देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले अनुसन्धान सुरु गर्नु भएको हो ।

अनुसन्धानका क्रममा नेपालमा यो किराले मकैमा क्षति गरेको भेटिएको थियो । नार्कअन्तर्गतको किट विज्ञान महाशाखाले पत्रकार सम्मेलन गरेरै नेपालमा यो किरा प्रवेश गरेर मकैबालीमा नोक्सानी पुर्‍याएको घोषणा गरेका थिए ।

वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको रिपोर्ट बुझाएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि अनुसन्धान थाल्यो । झण्डै तीन महिना लामो अनुसन्धानका क्रममा केही नमुना संकलन गरेर केन्द्रले परीक्षणका लागि भारत पठायो ।

भारतको बंग्लोरमा गरिएको परीक्षणमा पनि फौजी किरा नेपालमा रहेको पुष्टि भएपछि केन्द्रले सोमबार बैठक बसेर यसको औपचारिक घोषणा गरेको हो ।

कसरी नियन्त्रण गर्न सकिन्छ ?

नेपालमा पहिलो पटक देखिएको यो किराले मकै बाली पुरै सखाप पार्न सक्छ । मकै उम्रेदेखि नै आक्रमण सुरु गर्ने यसले बोट नै सखाप पार्ने गरेकाले घोगा लाग्ने सम्भावना निकै कम हुन्छ ।

यसको बढ्दो प्रकोप र नियन्त्रणका उपायका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आउँदो हप्ता छलफल गर्ने जनाएको छ । कृषि, मकैबाली तथा किरासम्बन्धीका सरोकारवाला, सरकारी अधिकारी, संघसंस्था र वैज्ञानिकबीच फौजी किराको प्रकोप नियन्त्रणबारे छलफल हुने केन्द्रका सूचना अधिकारीसमेत रहेका सुवेदीले बताउनुभयो ।

‘अब नेपालमा फौजी किरा प्रवेश गरेको र नोक्सानी गरेको औपचारिक घोषण भयो । यासँगै यसको प्रकोप नियन्त्रण कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ’, उहाँले भन्नुभयो, ‘यसका लागि छलफल सुरु गर्दैछौँ । छलफलबाट जे निष्कर्ष आउँछ । त्यहीअनुसार अगाडि बढ्छाैँ ।’

सबै फोटो : किट वैज्ञानिक सुदीप कुमार उपाध्यायको फेसबुकबाट

अन्तिम अपडेट: चैत १४, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया