थाइल्याण्ड : एउटा असाधारण उद्धार अभियान

 असार २७, २०७५ बुधबार ७:२०:३३ | एजेन्सी
unn.prixa.net

‘हामीलाई थाहा छैन कि यो चमत्कार हो कि, विज्ञान हो कि वा अरु केही । १३ जना नै गुफाबाहिर छन् ।’

थाइल्याण्डको एउटा गुफामा १८ दिनदेखि फसिरहेका १२ बालक तथा उनीहरुका एक जना फुटबल प्रशिक्षकको सकुशल उद्धारपछि थाइल्याण्डको नौसेनाले फेसबुकमा लेखेका शब्द हुन् यी ।

गएको जुन २३ देखि गुफामा फसेका १२ बालक र एक प्रशिक्षकको मंगलबार सकुशल उद्धार भएको छ । आइतबार चार, सोमबार चार र मंगलबार ५ जनाको उद्धार भएको हो । अँधेरो गुफा त्यसमाथि जलमग्न । विश्वको ध्यान असाधारण मानिएको यो उद्धार अभियानमा केन्द्रित थियो । विश्वभरका मानिस उनीहरुको सकुशल उद्धारको कामना गरिरहेका थिए ।

यसलाई असाधारण मानिएको थियो किनकि लेदो भरिएको र साँघुरो बाटो भएका कारण उद्धारमा निकै नै कठिनाइ थियो । अक्सिजनको कमी भएका कारण भित्रैसम्म अक्सिजनको पाइप बिछ्याइएको थियो । उद्धार अभियान पूरा भएपछि चियांग राय राज्यका गभर्नर नारोंगसक ओसोटानकोर्नले अभियानलाई ‘संयुक्त राष्ट्र टिम’ भनेका छन् । 

बालक तथा प्रशिक्षकको उद्धारमा थाइल्याण्डको नौसेना तथा वायुसेनाको अलावा बेलायत, चीन, म्यानमार, लाओस, अष्ट्रेलिया, अमेरिका, जापानलगायतका कैयौं देशका विशेषज्ञको संलग्नता थियो । विश्वभरबाट आएका विशेषज्ञ तथा गोताखोरले आफ्नो ज्यानको बाजी लगाउँदै लामो समय लगाए सफलतापूर्व उद्धार कार्य सकेका थिए ।

उद्धारपछि सबैले खुशीयाली मनाइरहँदा यस अभियानमा ज्यान गुमाउने स्वयंसेवक गोताखोर समन गुनानको बारेमा पनि मानिसहरु सोचिरहेका छन् । उनको उद्धार अभियानका क्रममै ज्यान गएको थियो । थाइल्याण्ड सरकारले समनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने बताएको छ ।

फेरि एकजुट भयो टिम

गुफाबाट उद्धार गरिएका बालक तथा प्रशिक्षक अस्पतालमा परिवारसँगै छन् । उनीहरुको स्वास्थ्य अवस्था ठिक भए पनि एक हप्तासम्म निगरानीका लागि अस्पतालमै राखिएको छ । बालकहरुलाई निगरानी गरिरहेका चिकित्सकका अनुसार उनीहरुको स्वास्थ्य अवस्था ठिक भए पनि दुई हप्ताभन्दा बढी अँधेरो गुफामा रहेका कारण मानसिक अवस्थाका बारेमा थाहा पाउन अस्पतालमा राखिएको हो । चिकित्सकका अनुसार उनीहरुलाई ‘एन्टी एन्जाइटी’ का औषधि दिइएको छ । 

विश्वभरबाट शुभकामना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्धार अभियान पूरा भएसँगै थाइल्याण्डको नौसेनालाई बधाई दिँदै भनेका छन्, ‘अमेरिकाको तर्फबाट १२ बालक र प्रशिक्षकलाई सुरक्षित उद्धार गरेकोमा थाई नेभी सिललाई बधाई । यो कति सुन्दर क्षण हो । सबै स्वतन्त्र । ग्रेट जब ।’

त्यस्तै जर्मनीकी चान्सलर एन्जेला मर्केलका प्रवक्ताले ट्वीट गरेका छन्, ‘प्रशंसा, गरीसाध्य छैन । बहादुर बालक तथा उनीहरुका प्रशिक्षकको दृढता, उद्धारकर्मीको क्षमता तथा दृढ संकल्प ।’

बेलायती प्रधानमन्त्री टरिजा मेले उद्धारकर्मीलाई बधाई दिँदै ट्वीट गरेकी छिन्, ‘थाइल्याण्डको गुफामा फसेका सबैको सकुशल उद्धार भएको अति नै प्रसन्न छु । यो अभियानलाई पूरा विश्वले नियालिरहेको थियो । यस अभियानमा सहभागी मानिसहरुको बहादुरीलाई सलाम छ ।’

विश्वभरबाट उद्धारकर्मी र बाकल तथा प्रशिक्षकलाई शुभकामना दिएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई बालकहरुलाई शुभकामना दिँदै उनीहरुलाई यो सिजनमा ओल्ड ट्राफोर्डमा स्वागत गर्न चाहेको इच्छा व्यक्त गरेको छ ।

सबै उद्धारकर्मीको साहसलाई सलाम तथा बालक र प्रशिक्षकलाई शुभकामना छ । उद्धार अभियानमा ज्यान गुमाएका समनलाई श्रद्धासुमन । 

याे पनि पढ्नुहाेस् 

गुफाबाट उद्धार गरिएका बालकहरु विश्वकप फाइनल हेर्न रुस जान नसक्ने

थाइल्याण्डको गुफामा फसेका फुटबल प्रशिक्षकसहित सबै बालकको सकुशल उद्धार

यसरी भयो गुफामा फसेका ४ जनाको उद्धार

थाइल्याण्डको गुफामा फसेकामध्ये दुई जनाकाे सकुशल उद्धार

गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई विश्वकपको फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

थाइल्याण्ड : गुफामा फसेकाको उद्धारमा खटिएका एक पूर्व सैनिकको मृत्यु

नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’

थाइल्याण्डको गुफामा फसेका बालकहरुको पत्र : चिन्ता नगर्नुहोस्, हामी बहादुर छौँ

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया