सस्तिएको अलैँचीको बिरुवा समेत नबिक्दा लमजुङका किसान मर्कामा

 असार २७, २०७५ बुधबार ७:४२:५८ | श्यामशितल परियार

लमजुङ– पाँच वर्षअघि लमजुङमा अलैँचीको बिरुवा अन्यत्रबाट ल्याउनुपर्दथ्यो । अलैँचीको बिरुवाको माग बढेसँगै जिल्लाका अधिकांश किसानले अलैँची खेतीमा भन्दा बिरुवा उत्पादनमा जोड दिए । 

छोटो समयमै राम्रो कमाई हुन सक्ने भएकाले पनि किसानहरु बिरुवा उत्पादनमै बढी केन्द्रित भए । अलैँचीको बिरुवाको माग र मूल्य दुवै उच्च भएकै कारण केही समय बिरुवा बिक्रीबाट मात्रै पनि यहाँका किसानले मनग्य कमाए । यहाँ उत्पादित बिरुवा लमजुङसहित पर्वत, स्याङ्जा, गोरखा, तनहुँ र कास्कीसम्म पुग्थे । 

तर पछिल्ला केही वर्षमा जिल्लामा उत्पादित अलैँचीको बिरुवा बिक्री हुन सकेको छैन । लाखौँ खर्चेर नर्सरी स्थापना गरी अलैँचीको बिरुवा उत्पादन गरेका किसान उत्पादित बिरुवा बिक्री नहुँदा चिन्तित बनेका छन् । 

बर्सेनि बिरुवा उत्पादन बढ्दो, मूल्य घट्दो   

लमजुङमा बर्सेनि अलैँचीको बिरुवा उत्पादन बढेको छ । बिरुवाको मूल्य भने बर्षेनि घट्दो छ । सस्तिएको अलैँचीको बिरुवा समेत बिक्री नहुँदा किसानलाई पर्नुसम्मको पीर परेको छ । गएको वर्ष मात्रै २ लाख अलैँची बिरुवा बेचेका क्वहोलासोँथर गाउँपालिका–८, घाम्राङका अलैँची बिरुवा उत्पादक किसान इश्वर गुरुङको यसवर्ष एउटा पनि बिरुवा बिक्री भएको छैन । 

‘१५ रोपनी जग्गामा नर्सरी बनाएको छु । बिरुवा हुर्काएको छु । तर उत्पादित बिरुवा बिक्री भएको छैन । बिरुवा बिक्री नहुँदा साह्रै समस्या भएको छ । लगानी त बाुलवामा पानी नै हुने भो,’ उहाँले दुखेसो पोख्नुभयो ।   

उत्पादित अलैँची बिक्री नहुँदा व्यक्तिगतका साथै समूहगत रुपमा नर्सरीमा बिरुवा उत्पादन गरेका किसानहरु निकै निराश बनेका छन् । ९ जना युवा मिली ४५ लाख बढी लगानी गरी ५० रोपनी जग्गामा ग्रीन हाउस निर्माण गरी उत्पादन गरिएका झण्डै ८ लाख बिरुवा बिक्री नहुँदा आफूहरु निकै मारमा परेको मस्र्याङ्दी गाउँपालिका–७, शेरामा रहेको शेरा अलैँची नर्सरी फर्मका किसान केशलाल तामाङ बताउनुहुन्छ ।

जिल्लामा सरोकारवालबीच छलफल गरी अलैँचीको बिरुवाको मूल्य यसअघि निर्धारण गरिसकिएको छ । नर्सरीमा उत्पादित ३२ महिना पूरा भएका प्रतिबिरुवाको मूल्य ८ रुपैयाँ निर्धारण गरिएको छ । अलैँचीको पुरानो गाँज (पान्ना)बाट निकालिएको प्रति बिरुवाको मूल्य ५ रुपैयाँ तोकिएको छ । 

गएको वर्षभन्दा यसवर्ष अलैँचीको बिरुवाको मूल्य घटेको हो । गएको वर्ष नर्सरीमा उत्पादित प्रति बिरुवाको मूल्य ९ रुपैयाँ थियो । पुरानो गाँजबाट निकालिएको प्रति बिरुवाको मूल्य ७ रुपैयाँ निर्धारण गरिएको थियो । गएको वर्षको तुलनामा बिरुवाको माग कम भएको, अलैँचीको मूल्य घटेको, अलैँचीको बिरुवा उत्पादक किसान समेत बढेका कारण जिल्लामा यसवर्ष अलैँचीको बिरुवाको मूल्य घटेको नेपाल अलैँची व्यावसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

अलैँची उत्पादक किसान एवम् अलैँची व्यावसायी समेत रहनुभएका तामाङका अनुसार जिल्लामा फर्म दर्ता गरी व्यावसायिक रुपमा नर्सरीमै अलैँचीको बिरुवा उत्पादन गर्ने किसान १० जना रहेका छन् । अलैँची उत्पादक किसान भने झण्डै २५ हजारको हाराहारीमा छन् । उहाँका अनुसार जिल्लामा वार्षिक ५ लाख अलैँची बिरुवा आवश्यक पर्छ । जिल्लामा वार्षिक २० लाखभन्दा बढी अलैँची बिरुवा उत्पादन हुन्छ । 

‘बिरुवा उत्पादक किसान बढेका छन् । बिरुवा उत्पादन पनि बढ्दो छ । तर बिरुवाको माग घट्दो छ’, उहाँले भन्नुभयो, ‘त्यसैले बर्सेनि अलैँचीको बिरुवाको मूल्य घटेको छ । उत्पादित बिरुवा बिक्री हुन सकेको छैन । किसानहरु निराश छन्,’ उहाँले तीतो यथार्थ सुनाउनुभयो । 

बिरुवा किनेर खेती गर्न छाडे   

केही वर्षअघि अलैँचीले राम्रो मूल्य पाउँथ्यो । किसानहरु बिरुवा किनेरै अलैँची खेती गर्न लालयित बन्थे । पछिल्ला वर्षहरुमा अलैँचीको मूल्य घट्दो छ । किसानहरुले बिरुवा किनेर अलैँची लगाउनै छाडेका छन् । 

तामाङका अनुसार किसानले लाखौँ लगानी गरी हुर्काएका अलैँचीका बिरुवा बिक्री नहुँदा किसानको लगानी डुब्ने खतरा छ । उत्पादित बिरुवा सम्बन्धित निकायले खरीद गरी किसानलाई वितरण गर्न सकेको खण्डमा उत्पादित बिरुवाले बजार पाउँछ । अलैँचीको खेतीको क्षेत्र विस्तार हुन्छ । देशमा अलैँची उत्पादनमा पनि वृद्धि हुन्छ ।              
 

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया