सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ एक्लै, बाँकी २ विधायक पनि एसकेएममा

 साउन २९, २०७६ बुधबार १३:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

१० जना विधायक भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गरेको भोलिपल्टै सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) का २ जना विधायक सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) मा प्रवेश गरेका छन् ।

बुधबार एसडीएफका विधायकहरु अमप्रसाद शर्मा र जीटी ढुंगेल एसकेएममा प्रवेश गरेका हुन् । सिक्किमको सत्तारुढ दल एसकेएम प्रवेश गर्दै उनीहरुले भने, ‘हामीमा क्षेत्रीय भावना भएकै कारण क्षेत्रीय दलमा आवद्ध भएका हौँ ।’

पछिल्लो राजनीतिक उथलपुथलसँगै सिक्किममा २५ वर्ष मुख्यमन्त्री रहेका पवन चाम्लिङको राजनीतिक भविष्य संकटमा परेको छ । पार्टीका अधिकांश विधायक बीजेपीमा प्रवेश गरेसँगै सिक्किममा २५ वर्ष सरकार चलाएका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको राजनीतिक भविष्यमा धक्का पुगेको छ ।

सिक्किम राज्यको विधानसभामा एक सिट पनि नजितेको बीजेपी अब प्रमुख प्रतिपक्ष दल बनेको छ ।

एसडीएफबाट गएको विधानसभा चुनाव जितेका १० जना विधायक बीजेपीका कार्यकारी अध्यक्ष जेपी नड्डा र बीजेपीका महासचिव तथा उत्तर पूर्वी राज्यका इञ्चार्ज राम माधवको उपस्थितिमा बीजेपीमा प्रवेश गरेका छन् ।

एउटा पार्टीका दुई तिहाई तथा त्यसभन्दा बढी विधायक नयाँ पार्टीमा प्रवेश गर्दा एन्टी डिफेक्सन कानुनको उल्लंघन हुँदैन । त्यसैले बीजेपीले सिक्किममा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने देखिन्छ ।

३२ सिट रहेको सिक्किम विधानसभामा चाम्लिङ नेतृत्वको एसडीएफले १५ सिट जितेको थियो । त्यस्तै पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जितेको थियो । एसडीएफका दुई जना विधायकले दुई ठाउँबाट चुनाव जितेका थिए । त्यस्तै एसकेएमका एक विधायकले दुई ठाउँबाट चुनाव जितेका थिए ।  उनीहरुले एक सिटबाट राजीनामा दिएका छन् । अहिले सिक्किम विधानसभामा ३ सिट खालि रहेको छ ।

सिक्किमको राजनीतिमा लामो इतिहास रहेको एसडीएफमा अब पूर्व मुख्यमन्त्री पवन चाम्लिङ मात्रै रहेका छन् ।

बीजेपी प्रवेश गर्नेहरुमा चाम्लिङ नेतृत्वको सरकारमा तीन पटक मन्त्री बनेका तथा पाँच कार्यकालका लागि विधायक बनेका दोर्जी छिरिङ लेप्चासमेत रहेका छन् । त्यस्तै तीन पटक विधायक बनेको उगेन ग्यात्सो पनि बीजेपीमा प्रवेश गरेका छन् ।

बीजेपीमा प्रवेश गरेका लेप्चा आफूहरु प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लूक इस्ट’ नीतिबाट प्रभावित भएको बताएका छन् । उनले भने, ‘हामी सिक्किममा कमल फुलाउन चाहन्छौँ ।’

बीजेपीलाई मुख्य चुनौती भनेको अब हुने उपचुनावमा तीन सिटमा कस्तो प्रदर्शन गर्छ भन्ने हो । सिक्किमको पछिल्लो राजनीतिक घटनाक्रमलाई केही सिक्किमेली नागरिकले आफूहरुसँग धोका भएको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया