सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको टुङ्गो लाग्यो

 साउन २९, २०७६ बुधबार १५:२६:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउन १ गतेदेखि कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्ताले रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको टुङ्गो लागेको छ ।

योगदानकर्ताले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आवद्ध  आइपीएस भएका जुनसुकै बैंक तथा वित्तीय सँस्थाबाट सामाजिक सुरक्षा कोषको नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ००२११६०६७२००१२०००००२ मा  रकम जम्मा गर्न सक्नेछन् । 

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त संस्था हो । एनसीएचएलसँग २५ वटा बैंक, १९ वटा विकास बैंक र ९ वटा फाइन्नास् कम्पनी रहेका छन् । 

योगदानकर्ताले अनलाइनबाट पनि कोषको खातामा रकम जम्मा गर्न सकिने कोषकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो । 

कोषले सूचना निकालेर साउन महिनाको पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रुपमा नियमानुसार सञ्चय कोष र उपदान लगायत आधारभूत पारिश्रमिकको ३१ प्रतिशतले हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्न आग्रह गरेको छ ।

सबै रोजगारदाता र श्रमिकलाई सूचीकृत हुन कोषले असोज मसान्तसम्मको समय दिएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रियामा रहेका अन्य श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुञ्जेल सम्बन्धित रोजगारदाताले साविक बमोजिम नै योगदान रकम जम्मा गर्न बाधा नपर्ने जनाएको छ ।

बुधबार बिहानसम्ममा कोषमा ४२ सय भन्दा बढी रोजगारदाता र झण्डै ३५ हजार श्रमिक सूचीकृत भएका छन् । कार्यविधि परिमार्जन गरेर कोषले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

तर अझै पनि आउनु पर्ने संख्यामा रोजगारदाता कोषमा नआएको प्रवक्ता भट्टराइले बताउनुभयो । सूचीकृत हुनको लागि असोज महिनासम्मको समय थप गरिएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया