अध्ययन टोली भन्छ : सगरमाथामा मौसम राम्रो नहुँदा लाम लागेको हो, जाम भएको होइन

 साउन २९, २०७६ बुधबार १६:४१:३६ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल फाेटाे - एएफपी

काठमाण्डौ – सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना भएको विषयमा छानबिन गर्न बनेको समितिले सगरमाथामा जामका कारण दुघर्टना नभएको जनाएको छ ।

यो सिजनमा सगरमाथासहित ८ हजारभन्दा अग्ला हिमाल आरोहणका क्रममा १५ जनाको ज्यान गएको थियो, २ जना अझै बेपत्ता छन् । सगरमाथामा आराेहणमा मात्रै ८ जनाकाे ज्यान गएकाे थियाे भने एक जना बेपत्ता भएका छन् ।

धेरै आरोहीका कारण सगरमाथामा जाम भएकोले केही आरोहीको ज्यान गएको भनेर अन्तर्राष्ट्रिय मिडियामा समेत नेपालको आलोचना भएपछि गएको जेठ २५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन टोली बनाएको थियो ।

टोलीले बुधबार मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा सगरमाथामा धेरै आरोही जाँदा केहीको लडेर ज्यान गएको हल्ला साँचो नभएको उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सहसचिव उपाध्यायले भन्नुभयो, ‘सगरमाथामा जाम भएको होइन, लाम भने लागेको थियो, त्यसैले आरोही धेरै हुँदा दुघर्टना भएको भन्ने कुरा हाम्रो अध्ययनले देखाउँदैन ।’

सन २०१९ को वसन्त ऋतुमा सगरमाथा हिमचुलीका लागि ४४ दलमार्फत ३ सय ८१ जना आरोही र ६ सय ४२ जना आरोहीलका सहयोगीलाई अनुमति प्रदान गरिएकोमा २ सय ८० जना आरोही र ३ सय ६४ जना आरोहीका सहयोगीले सफल आरोहण गरेको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । सगरमाथामै ८ जनाको ज्यान गएको र १ जना हराइरहेको अध्ययन टोलीले जनाएको छ । 

मौसम अनुकुल भएन

अध्ययन टोलीले सन् २०१९ मा सगरमाथा आरोहणका लागि वसन्त ऋतु खास सहज र अनुकूल नरहेको देखाएको छ । मे ९ र १० मा मौसम अनुकूल रहे पनि त्यसभन्दा अगाडि आएको फानी आँधीको प्रभावले डोरी टाँग्ने काम प्रभावित भएको थियो ।

आँधीका कारण डोरी टाँग्न क्याम्प २ मा पुगेको समूहले काम स्थगित गर्नु परेको थियो । आँधीले डोरी टाँग्ने र आरोही बस्नका लागि बनाइएका १९ वटा टेन्ट उडाएको  थियो । मौसममा सुधार आएपछि डोरी टाँग्ने काम सुरु गरेको समूहले मे १४ मा मात्रै डोरी टाग्ने काम सक्यो र आरोहणका लागि बाटो खुल्यो ।

मे १४ देखि १६ सम्म सगरमाथामा दोस्रो पटक मौसम अनुकूल  थियो ।  फणी आँधीको त्रासबाट आधारशिविर फर्किएका आरोही तत्काल ठूलो संख्यामा आरोहणमा जान नसकेको हुँदा १५ मे मा ३१ र १६ मेमा ८४ जनामात्र आरोहीले सफल आरोहण गरे ।

अध्ययन टोलीले मे १७ देखि २० सम्म चार दिन सगरमाथाको मौसम प्रतिकूल रहेको देखाएको छ । पटक–पटक मौसम प्रतिकुल हुँदा रोकिएका आरोही मे २१ र २२ गते एकैपटक सगरमाथातर्फ जाँदा बाटोमा लाम लागेको प्रतिवेदनमा उल्लेख छ । मे २२ गते अहिलेसम्मकै धेरै २ सय २३ जनाले सगरमाथा आरोहरण गरेका थिए । 

मे २२ मा सगरमाथा चुचुरोमा २२३ जनाले सफल आरोहण गरेका थिए, त्यस दिन १ जना आरोहीको मृत्यु भएको अभिलेख पर्यटन विभागमा रहेको देखिएको र ट्राफिक जाम भनेर विभिन्न सञ्चार माध्यममा भनिए पनि त्यो गलत भएको अध्ययनको निष्कर्ष छ ।

तथ्याङ्कको अध्ययन गर्दा हालसम्मकै धेरै २ सय २३ जनाले सगरमाथा आरोहरण गरेको तर त्यस दिन एक जनाको मात्रै मृत्यु भएको थियो । यो तथ्याङ्क हेर्दा त्यस दिन भएको सफल आरोहणका आधारमा मृत्यु प्रतिशत ०.४४ प्रतिशत मात्र रहेकाले सञ्चार माध्यममा भनिए जसरी सगरमाथाका लागि आरोहणको अनुमति अधिक भएको,  अधिक अनुमतिपत्रका कारण ट्राफिक जाम भएको र त्यही कारणले आरोहीको मृत्यु भएको विषय तथ्यले पुष्टि गर्न नसकिने अध्ययन टोलीले जनाएको छ । 

मौसम खराब हुँदा सगरमाथाको बीचमा पुगेर पर्ख र हेरको अवस्थामा बस्दा हाइ अल्टिच्युड सिकनेसको कारण मे २३ का दिन ३ जना आरोहीले आफ्नो ज्यान गुमाएको देखिएको छ ।

यस्तै सगरमाथा हिमालचुलीमा झण्डै झण्डै आरोहीले आफ्नो आरोहण समाप्त गरी सकेको अवस्था तथा बाटो र टाँगिएको डोरीमा हिँड्नु पर्ने मान्छे नभएको समय अर्थात मे २४ र २५ मा समेत १/१ आरोहीको मृत्यु भएको अभिलेखबाट देखिएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया