नेपाल एयरलाइन्सको जापान उडान निश्चित : हिराचनको हार, एआईजे प्रतिनिधि बन्ने पक्का

 साउन ३०, २०७६ बिहिबार ७:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एयरलाइन्सको भदौ १२ गतेदेखि जापानको ओसाकामा हुने उडान पक्का भएको छ । जापानमा रहने एजेन्टको विषयमा भएको कानुनी अड्चन फुकेसँगै जापान उडान पक्का भएको निगमले जनाएको छ ।

एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाल वायुसेवा निगमविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको छ । यो आदेशसँगै निगमको ओसाका उडान निश्चित भएको हो ।

ओसाका उडान नै रोक्ने हिसाबले हिराचनले सर्वोच्चमा रिट दायर गरेको नेपाल एयरलाइन्सको आरोप छ । तर निगम अन्तरिम आदेशकाविरुद्ध भ्याकेटमा गएपछि सर्वोच्चले हिराचनको रिटमा दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गर्दै निगमको माग सदर गरेको छ ।

निगमले जापानको ओसाका उडानका लागि टिकट बिक्री गर्नका लागि नेपाल प्रतिनिधिको रुपमा चिनाउँदै आएका हिराचनलाई हटाएर एआईजेलाई दिएको थियो ।

हिराचनले आफूलाई नेपाल प्रतिनिधिबाट हटाउने निर्णयकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले २०७६ साउन ८ मा उहाँलाई जापान प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । 

तर निगम भ्याकेटमा गएपछि बुधबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलाशले निगमको माग सदर हुने आदेश दिएको छ ।

निगमले ओसाकाको लागि दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ ।  यस्तै एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

सुरुमा जापान उडानलाई प्रवर्द्धनात्मक बनाउन यो भाडादर निर्धारण भए पनि सेप्टेम्बरपछि भने नयाँ भाडादर लागू हुने एयरलाइन्सले जनाएको छ । निगमले एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाजमार्फत जापान उडान गर्दैछ ।

नेपाल एयरलाइन्सले गएको असार १९ गतेदेखि जापानको ओसाकामा हप्ताको २ वटा उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । तर यो पटक पनि उत्साहजनक रुपमा टिकट बिक्री भएका छैनन् ।

निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ ।

निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया