'स्वदेश फर्किएपछि दैलोमा सुन फल्यो’

 साउन ३०, २०७६ बिहिबार १३:५९:५५ | सन्जिता देवकोटा

काठमाण्डौ – ‘सपना देख्नुपर्छ, र ती सपना पूरा गर्न मेहनत गरिन्छ’ आफ्नो सफलताको कथा सुरु गर्दा शर्मिला अधिकारी राउत र निरबहादुर राउत दम्पतीले मुस्कुराउँदै सपनाका कुरा गरे । जुन सपना उनीहरु परदेशमा छँदा देख्थे । 

यूएईको पाँच तारे होटलको ५७ तलामा काम गर्दा निरबहादुर भोजपुरको बाँझो जमिन हराभरा भएको सपना देख्नुहुन्थ्यो । यूएईकै ब्यूटीपार्लरमा अरु महिलालाई सिंगारपटार गरिरहँदा आफ्नै माटोमा आफ्नो भविष्य सिंगार्ने कल्पना गर्नुहुन्थ्यो शर्मिला । 

पाँचतारे होटलमा काम गर्ने निरबहादुरको परदेश बसाई भनेजस्तै थियो । श्रीमान र दुई छोरासँगै परदेशमा बस्न पाउँदा सुन्दर घर उतै थियो शर्मिलाका लागि पनि । 

तर स्वदेशको सपना देख्ने मानिस किन परदेशको सुखमा निदाउन सक्थ्यो र ? परदेशको कमाइलाई स्वदेशमा केही गर्ने सपनाले तानिरह्यो । यूएईको कमाइमा रमाउन र चित्त बुझउन पटक्कै दिएन ।

राउत दम्पतीलाई यस्तो लाग्थ्यो – ‘घरमा बुवाआमाले मात्र हैन, बाँझो जमिन र हावापानीले पनि आफूलाई कुरिरहेका छन् ।’

आफ्नै ठाउँमा केही गर्ने सपनाले राउत दम्पतीलाई परदेशबाट फर्कायो । परदेशमा हुँदा देखेको सपना पूरा गर्न उनीहरुले कृषि कर्म गरे । बाँझो जमिनलाई हराभरा बनाए । नाम, दाम र सम्मान पनि पाए । अरुलाई पनि रोजगारी दिए ।

गएको असार ३१ गते सरकारले विदेशबाट फर्किएर राम्रो काम गर्नेलाई सम्मान गर्दा सम्मानित हुनेमा राउत दम्पती पनि परे । 

‘मानिसले सपना देख्नुपर्छ, र त त्यो सपना पूरा गर्न लागिपर्छ, अनि पूरा पनि हुन्छ,’ निरबहादुर मुस्कुराउँदै भन्नुहुन्छ । अब त राउत दम्पतीले परदेशमा छँदा देखेको सपना पूरा भएको छ । तर सपना देख्ने मान्छेले त हरेक दिन नयाँ सपना देख्छ । राउत दम्पतीले जस्तै । 

यूएईमा मिलेको काम र दाम

निरबहादुर काठमाण्डौमा होटल म्यानेजमेन्ट पढ्नुहुन्थ्यो । पढाइअनुसार नै उहाँले काठमाण्डौका पाँचतारे होटलमा काम पनि सिक्नु हुन्थ्यो । पढ्दै अनि काम पनि सिक्दै गरिरहेका निरबहादुरलाई यूएईमै रहेका मामाका छोराले बोलाए । 

होटलमै काम गर्न सन् २००१ मा निरबहादुर यूएई लाग्नुभयो । यूएईमा काम र कमाइ सोचेजस्तै भयो उहाँलाई । आबुधावीमा रहेको पाँचतारे होटल रोयल मेरिडियनमा काम मिल्यो । 

फुड एण्ड वेभरेजका बारेमा जानेका निरबहादुरलाई काम गर्न अप्ठ्यारो भएन । पाँचतारे होटलमा ठूलाठूला मान्छे आउँथे । सुपरभाइजरका रुपमा कार्यररत निरबहादुर निर्धक्क भएर काममा खटिनुहुन्थ्यो । 

‘यूएईका राजादेखि भारतीय ठूला व्यापारी अनिल अम्बानी, मुकेश अम्बानी लगायत विश्वका खेलाडीहरुलाई मेरै नेतृत्वमा सर्भिस दिइयो’ निरबहादुर भन्नुहुन्छ, ‘मेरो काम चुनौतीपूर्ण थियो, तर मैले तनमन दिएर राम्रो काम गरें ।’

खाडीका देशमा धेरै नेपालीका काममा दुःख मिसिएको हुन्छ । तर निरबहादुरले काममा अनावश्यक कष्ट सहन परेन । कम्पनीको नियम थियो । सबै कुरा नियममा हुन्थ्यो । 

कमाइ बढ्दै गएपछि सन् २००८ मा उहाँले श्रीमती शर्मिलालाई पनि स्पोन्सर गरेर यूएई लैजानुभयो । भिजिट भिसामा यूएई पुगेकी शर्मिलाले पनि यूएईमै काम खोज्नुभयो । सुपरमार्केटमा काम मिल्यो । 

साढे तीन वर्षको छोरालाई बुवाआमाको साथ छाडेर गएकाले शर्मिलाको मन यूएईमा बसेन । घरमा छँदा परदेशमा रहेका श्रीमानको याद, श्रीमानसँगै परदेशमा हुँदा छोराको ।

‘त्यो बेला त परदेशमा हुनेसँग कुरा गर्न पनि अहिले जस्तो कहाँ सजिलो थियो र, फोनमा कुरा गर्दा महङ्गो पर्ने,’ शर्मिला भावुक हुँदै सुनाउनुहुन्छ । एक वर्ष बसेर उहाँ सन् २००९ मा स्वदेश फर्किनुभयो । 

शर्मिलाको मनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । तर श्रीमान परदेशमा, आफू स्वदेशमा । टाढा हुँदाको पीरले नै गलाउँथ्यो । सोच्नुभयो, म पनि विदेश नै गएर कमाउँछु । सन् २०१२ मा फेरि यूएई जानुभयो । 

हातमा ब्युटीपार्लरको सीप थियो । उहाँले त्यही कामको खोजी गर्नुभयो । काम मिल्यो पनि । परदेशको ठाउँमा श्रीमान श्रीमती सँगै भएर काम गर्दा एक खालको ढुक्क त भयो । तर मन रमेको थिएन । 

यूएई बस्दा राउत दम्पतीलाई थुप्रै कुरा मिल्यो । जुम्ल्याहा छोराहरु जन्मिए । निरबहादुरको कमाइ बढ्दै गयो । एक हिसाबले सबै कुरा पुग्दै गएको थियो ।

निरबहादुरको मासिक आम्दानी झण्डै १० हजार दिर्हाम हुन्थ्यो । सेवा सुविधा पनि गज्जबकै थियो । जति पुरानो भयो, त्यति सेवा सुविधा त बढेकै थियो । 
तर पाँच तारे होटलको ५७ औं तलामा काम गरिरहँदा निरबहादुरको मन भने भोजपुरमा बाँझो रहेको जमिनमा हुन्थ्यो । 

‘यतिका वर्ष भयो, उमेर जान लाग्यो, सधैं यसरी बसेर के गर्ने जस्तो मात्र लाग्ने,’ निरबहादुर भन्नुहुन्छ, ‘गाउँगाउँमा गाडी पुगेको थियो, मैले त्यहाँ कम गर्दै स्वदेशमा फर्किएर गर्ने कामको योजना बनाएँ ।’

देशमै केही गर्ने अठोट बोकेर सन् २०१५ मा राउत दम्पती स्वदेश फर्किए ।

‘स्वदेश फर्किएपछि दैलोमा सुन फल्यो’

आफ्नै माटोमा केही गर्ने योजना त थियो । तर के गर्ने टुङ्गो थिएन । निरबहादुरसँग होटलको कामको अनुभव थियो भने शर्मिलाको ब्यूटीपार्लरको ।

दुवैले एउटै काम गर्ने सोच बनाए । ‘ब्यूटीपार्लरको काम शहरिया र शौखिनका लागि हुने भयो, मलाई त देशका हरेक महिलालाई सहयोग गर्ने खालको काम गर्न मन थियो, सल्लाह गर्दै जाँदा कृषिको काम गर्ने निर्णय गरियो,’ शर्मिलाले व्यवसाय थाल्नुअघि बनाएको योजना सुनाउनुभयो ।

गाउँको बाँझो जमिन र देशको हावापानी अनुसार कृषिकै काम गर्ने र कृषिमा सफल भएपछि थप अरु व्यवसाय पनि बिस्तार गर्ने योजनासहित शर्मिलाले राम लक्ष्मण अर्गानिक एग्रिकल्चर फर्म दर्ता गर्नुभयो । 

यूएईमा जन्मिएका दुई छोराको नामबाट शर्मिलाले कीर्तिपुरमा तरकारी खेती थाल्नुभयो । निरबहादुरले भने एक जना साथीसँग मिलेर छुट्टै कृषि फर्म सुरु गर्नुभयो । 
काम एउटै भए पनि उनीहरुले फरक फरक फर्म सुरु गरे । राम्रो हुने र सिंगारपटारमा खटिने शर्मिलाको हात पहिलोपटक माटोमा लतपतियो । 

क्रिम पाउडरसँग भन्दा माटोसँग शर्मिलाको हात बस्यो । ‘सुरुमा काम थाल्दा त कस्तो कस्तो लागेको थियो, तर पछि तरकारी फल्न थालेपछि त मलाई ढुङ्गामा सुन फल्छ, दैलोमा सुन छ भनेजस्तै भयो,’ शर्मिला भन्नुहुन्छ । 

माटोमा खेल्दा शर्मिलाई शुरु शुरुमा दुःखी काम जस्तो लाग्थ्यो । तर जब आफ्नै हातले रोपेका बिरुवामा फल लाग्छ तब संसार जितेजस्तै हुन्छ भन्नुहुन्छ शर्मिला । 

निरबहादुरको कृषि फर्म पनि उसैगरी फस्टाएको छ । सितापाइलामा १५० रोपनी जग्गामा उहाँहरुले कृषिको काम गर्नुभएको छ । निरबहादुरले ४० जनाले प्रत्यक्ष रोजगारी दिनुभएको छ भने शर्मिलाले पाँच जनालाई रोजगारी दिनुभएको छ । कामको चाप भएका बेला दिनगन्तीमा काम लगाउनुहुन्छ । 

काठमाण्डौमा मात्र हैन भोजपुरमा पनि उसैगरी मौलाएको छ राउत दम्पतीको कृषि कर्म । बाँझो रहेको १५० रोपनी जग्गामा किबी र अलैंची लगायत लगाउनुभएको छ । 

कृषिका सजिला–अप्ठ्यारा र सफलता

फरक काम गरेर कृषिमा आउँदा सुरुमा उहाँहरुलाई निकै अप्ठ्यारो भयो । ऋण र अनुदान पाउन पनि असहज भयो । सरकारी कर्मचारीको रुखो व्यवहार । अनि ऋण माग्दा भोगेका सास्ती शर्मिलालाई सम्झन मन लाग्दैन ।

‘म कृषिको काम गर्छु, केही अनुदान पाइन्छ कि बुझ्न आएको भन्दा पनि रिसाउने’ शर्मिला भन्नुहुन्छ, ‘ऋण माग्न बैंकमा जाँदा, काठमाण्डौमा घर छ धितो राख्न भनेर पनि सोधे, तर मैले हार खाइनँ ।’

भनेजस्तो प्रविधि छैन । उत्पादन अनुसारको बजार नहुँदा समस्या छ । जुम्ल्याह दुई छोरालाई हुर्काउँदै र घरव्यवहार सम्हाल्दै काममा खटिन सजिलो त छैन । तर यस्ता हैरानीलाई एक ठाउँमा राख्ने हो भने नेपालमा काम गर्न परदेशमा भन्दा कयौं गुणा सजिलो हुने राउत दम्पतीको अनुभव छ । 

आफैंले काम थालेपछि उर्जावान समय विदेशमा बिताएछौं भनेर दुवैलाई पछुतो लाग्छ । तर ढिलोचाँडो जे भए पनि आफू स्वारोजगार भएर अरुलाई पनि रोजगारी दिन पाउँदाको खुशी छुट्टै छ । 

आफ्नो काम गर्दा अरुको दबाब सहन पर्दैन । परदेशको जति दुःख गर्न पनि पर्दैन । आफ्नै तरिकाले आफ्नै ठाउँमा चाहेजस्तै काम गर्न सकिन्छ । 

अरुको लाख आफ्नाका काख भन्छन् नि । हो त्यस्तै लाग्छ राउत दम्पतीलाई पनि । परदेशको सुखसुविधा भन्दा हिजोआज स्वदेशमा दुःख नै किन नहोस्, सन्तुष्टी मिलेको छ । 

पहिले पहिले विदेशमा त्यतीका समय काम गरेर फर्किएपछि कृषिको काम किन गरेको होला भनेर आफ्नै मान्छेले नाक खुम्च्याउँथं । तर अहिले उनीहरु नै राउत दम्पतीको सफलताको प्रशंसा गर्छन् । 

आफन्तले मात्र हैन, राउत दम्पतीले गरेको कामलाई सरकारले पनि प्रशंसा गरेको छ । 

गएको असार ३१ गते सरकारले विदेशबाट फर्किएर स्वदेशमै राम्रो काम गरिरहेका ६ जना युवालाई सम्मान गरेको थियो । सम्मानित हुने ६ मध्ये दुई थिए, राउत दम्पती । छुट्टाछुट्टै फर्म खोलेर कृषि कर्ममा रमाइरहेका राउत दम्पती दुवैको कामले सम्मान पायो । 

आफ्नो कामले सम्मान पाउँदा राउत दम्पतीलाई काम गर्ने उर्जाको अर्को ईँटा थपिएको छ । श्रीमान् श्रीमतीको एउटै काम हुँदा दुवैलाई सजिलो भएको छ । 

केही पर्दा विज्ञको सुझाव लिनुहुन्छ । नयाँ नयाँ प्रविधि भित्र्याएर काम गर्न पाए अझैं सजिलो हुन्थ्यो भन्ने लाग्छ, शर्मिलालाई । भोजपुरलाई कृषि पर्यटनको रुपमा विकास गर्ने योजना छ, निरबहादुरको । 

‘कृषिमा केही गरौं, अनि होटल व्यवसाय पनि विस्तार गर्ने योजना छ,’ भावी योजना सुनाउँदै निरबहादुर भन्नुहुन्छ, ‘पर्यटकलाई पहिला त आफूले उत्पादन गरेको कुरा खुवाउँछौं भनेर विश्वास दिलाउने वातावारण बनाउन पर्‍यो नि ।’

कृषिमा नयाँ प्रविधि भित्र्याएर अझ राम्रो काम गर्ने राउत दम्पतीको सपना छ ।  हिजोआज आफ्नो खोरिया बाँझो राखेर खाडी लाग्नेको ग्राफ बढ्दो छ । तर खाडीको गर्मीमा गर्ने मेहनत आफ्नै जमिनमा गर्ने हो भने दामसँगै नाम पनि कमाउन सकिन्छ भन्छन्, राउत दम्पती । 

‘परिवारसँग टाढा भएर कमाएको लाखको मूल्य लाख नै हुन्छ तर परिवार र आफन्तसँगै आफ्नै ठाउँमा दुःख गर्दाको मेहनत अमूल्य हुन्छ,’ राउत दम्पती एकै स्वरमा भन्छन्, ‘हामीले विदेश गएर धेरै समय खेर फाल्यौं, तपाईँहरु सोच्नुहोस्, विदेश नजानुहोस् ।’

अन्तिम अपडेट: भदौ ११, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया