विद्यालय कर्मचारी हत्याको छानबिनको माग गर्दै सडक अवरुद्ध

 साउन ३०, २०७६ बिहिबार १३:५१:२७ | किरण लोहनी
unn.prixa.net

गोरखा – जंगलमा मृत भेटिएका मनकामना बहिरा आवासीय माध्यामिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको मृत्युबारे छानबिन गर्न माग गर्दै स्थानीय बासिन्दाले गोरखा आबुखैरेनी सडक एक घन्टा अवरुद्ध गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ९ र १० का बासिन्दाले घिमिरेको हत्या भएको आशंका गर्दै छानबिनको माग राखेर बिहीबार बिहान पौने १२ बजेदेखि एक घन्टा सडक अवरुद्ध पारेका हुन् । उनीहरुले मनकामना बहिरा आवासीय माविको प्रशासन कक्षमा तालाबन्दी पनि गरेका छन् ।

‘हत्याको छानबिनका सम्बन्धमा विद्यालय व्यवस्थापन समितिको भूमिका प्रभावकारी देखिएन’ मृतक घिमिरेका आफन्त सुवास घिमिरेले भन्नुभयो, ‘जिम्मेवारी बहन गर्न नसक्ने व्यवस्थापन समिति खारेजीको मागसहित हाललाई विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरिएको हो ।’

उनीहरुले घटनाको सत्थतथ्य छानबिन गर्न, हत्यारालाई कारबाही गर्न, विद्यालय व्यवस्थापन समिति र जिल्ला बहिरा संघ खारेज गर्नुपर्ने, घिमिरेको पोष्टमर्टम रिपोर्ट सार्वजनिक गर्नुपर्नेलगायतका माग पनि राखेका छन् । निष्पक्ष छानबिनको माग गर्दै आफन्तले गोरखा अस्पतालमा रहेको शव बुझेका छैनन् ।

गोरखा नगरपालिका १० टक्सारमा रहेको विद्यालय नजिकैको जंगलमा मंगलबार बिहान बहिरा विद्यालयका कर्मचारी घिमिरे मृत भेटिएका थिए । सोमबार साँझ विद्यालयमा आफ्नो नियमित काम सकेर त्यही वडाकै नौबिसेमा रहेको घर गएका उनी मृत अवस्थामा जंगलमा भेटिएपछि स्थानीयले हत्याको आशंका गर्दै आएका छन् । उनको शव मूल सडकदेखि सय मिटर तल कुवाडी सामुदायिक वनमा खुट्टा र टाउकोमा चोट लागेको अबस्थामा भेटिएको हो ।

घटनास्थल र शवको अवस्थाका आधारमा दुर्घटनाभन्दा नियोजित रुपमा घटना गरिएको हुनसक्ने स्थानीयको आशंका छ । २० वर्षदेखि त्यही विद्यालयमा कार्यरत ५० वर्षका घिमिरे पनि बहिरा हुन् । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा त्यही विद्यालयका ३ विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया