हस्तकलाका सामानबाट मनग्य आम्दानी: स्थानीयलाई पनि राेजगारी

 साउन ३०, २०७६ बिहिबार १८:३७:९ | श्यामशितल परियार

लमजुङ - मध्यनेपाल नगरपालिका–६, भोर्लेटारकाे सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुराकाे समय आफ्नै उद्योगमा बित्ने गर्छ । उहाँ उद्योगमा चर्खा चलाउँदै, धागो उत्पादनका साथै अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउने सीप सिक्नमै व्यस्त हुनुहुन्छ ।

यस उद्योगमा उहाँसँगै अहिले अन्य ९ जना स्थानीय महिला पनि यही सीप सिक्दैछन् । उनीहरुलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सीप सिकाउँदै हुनुहुन्छ। सीप सिकेर व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादन गरेर बिक्री गर्ने लोककुमारीको लक्ष्य छ।

‘पहिले त हातमा सीप चाहियो । अहिले हामी सीप सिक्दै छौँ,’उहाँले भन्नुभयो, ‘सीप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ ।’

फुसर्दको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्नसके मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । ‘त्यसैले मसँगै मेरो उद्योगमा अन्य ९ जना दिदीबहिनीहरु पनि सीप सिक्दै हुनुहुन्छ । सँगै भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदै हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

५ लाखको लगानीमा उद्योग सुरु

सुरुमा ५ लाखको लगानीमा उहाँले २०७५ साल फागुन १५ गते उद्योग सुरु गर्नुभएको हो । सुरुमा एक सय केजी अल्लो,धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र २ वटा हाते चर्खा ल्याएर उद्योग अघि बढाएको उहाँले बताउनुभयो ।

सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सीप सिक्नथाल्नुभयो उहाँले । सीप सिक्नका लागि उहाँसँगै अन्य १४ जना स्थानीय महिला पनि सहभागी थिए । 

स्थानीय महिलालाई सीप सिकाएर व्यावसायिक कर्ममा लागीआफुसंगै अन्यमहिलाहरुको आर्थिक स्तर माथिउकास्नकालागि यस उद्योग सुरु गरेको उहाँ बताउनुहुन्छ । ‘गहना धितो राखेर ५ लाखको लगानीमा मैले यो उद्योग सुरु गरेकी हुँ,’उहाँले भन्नुभयो, ‘उद्योगमा अहिले झण्डै १० लाख लगानी भइसकेको छ ।’

परिवारको साथ

सीप सिक्ने, सीप सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने कार्यमा जुट्नुभएकी लोककुमारीलाई सासू-ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ मिलेको छ ।

‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उहाँले भन्नुभयो, ‘महिलाहरुलाई  सीप सिकाउनुका साथै सीप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ,’उहाँ भन्नुहुन्छ ।

हस्तकलाका सामानको माग र मूल्य दुवै राम्रो

उहाँका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ ।अबको ६ महिनाभित्रमा २-३ सय भाङग्रा, जुहारी कोटका साथै झण्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँका साथै नजिकै पर्ने तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उहाँ ढुक्क हुनुुहन्छ । उद्योगको उत्पादन विदेशसम्म पुर्याउने उहाँकाे सपना छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया