बाँकेको बागेश्वरी मन्दिर विवादः 'सपिङ कम्प्लेक्स बन्न लागेको होइन'

 साउन ३१, २०७६ शुक्रबार १६:५:४५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहागरपालिकाका मेयर डा. धवलशम्शेर राणाले बागेश्वरी मन्दिरमा सपिङ कम्प्लेक्सको शिलान्यास भएको तस्बिर बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्नुभयो । 

मेयर राणाले तस्बिर सार्वजनिक गरेसँगै अहिले नेपालगञ्जको माहोल चर्किएको छ । मन्दिरमा सपिङ कम्पलेक्स निर्माण नगरिकन खुला छोड्नुपर्ने अधिकांशको माग छ । यो विवादमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईसमेत तानिनु भएको छ । मन्त्रालयले बिहीबार शिलान्यासको काममा रोक लगाउन गृह मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ । 

खासमा मन्दिरमा सपिङ कम्प्लेक्स बन्न लागेको होइन । ५० वर्ष वर्षभन्दा बढी समयदेखि मन्दिरको १७ ओटा सटरमा केही व्यक्तिले व्यवसाय गर्दै आएका थिए । सडक विस्तारका क्रममा ती सटर भत्केपछि अहिले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले नयाँ सटर निर्माण गर्न लागेको हो । 

बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर हाताभित्र सपिङ्ग कम्प्लेक्स बनाउने योजना नरहेको जनाएको छ । समितिको बैठकपछि शुक्रबार सचिव गोपालप्रसाद अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा आउँदा दिनमा पनि त्यहाँ कुनै पनि किसिमको सपिङ्ग कम्प्लेक्स निर्माण नगरिने प्रतिबद्धता व्यक्त गरिएको  छ ।

पहिलेकै मन्दिरको सटरकोठा र मन्दिरको पूजाअर्चनामा प्रयोग हुँदै आइरहेको कोठाहरु रहेको स्थानमा नै मन्दिरको आन्तरिक स्रोतबाट १७ ओटा वटा सटरकोठा, मूल महन्तको कार्यालय, विशिष्ट अतिथि कक्ष, सत्सङ्ग भवन निर्माण गर्न लागिएको हो । विज्ञप्तिमा पहिलेभन्दा बढी मन्दिरको क्षेत्र खुला रहने र मन्दिरको परम्परागत मर्यादालाई यथावत राख्ने गरी निर्माण कार्य गर्न सार्वजनिक बोलपत्र आह्वान गरी ठेक्का बन्दोबस्त भएको उल्लेख गरिएको छ । 

सटरको निर्माण कार्यबाट मन्दिरको सुरक्षा र गोपनियता कायम हुने र मन्दिरको नियमित आम्दानी पनि हुने भनेर सटरको निर्माण थालिएको उल्लेख छ । सटर निर्माणबाट मन्दिरको स्वरुप, मन्दिरको सौन्दर्यकरण, मन्दिरप्रतिको जनआस्था लगायत कुनै पनि किसिमको प्रतिकुल असर नपर्ने भन्दै समितिले मन्दिरजस्तो पवित्रस्थलको बारेमा बिना प्रमाण अनावश्यक रुपमा विवाद सिर्जना नगर्न र मन्दिरको सर्वाङ्गिण विकासमा सकारात्मक सहयोग गरिदिन आग्रह गरेको छ । 

समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मन्दिरको व्यवस्थापनमा समिति इमान्दारिताका साथ लागेको बताउनुभयो । समितिको नेतृत्व मेयरले गर्नुभन्दा पहिले मन्दिरमा विद्युत्को मात्रै १८ लाख रुपैयाँ बक्यौता थियो । अहिले अवस्था फेरिएको छ, खातामा ४० लाख जम्मा छ ।

मूल महन्त चन्द्रनाथ योगीको भनाइ उद्धृत गर्दै अध्यक्ष राणाले मन्दिरको गोपनियताका लागि पनि खुला छोड्न नमिल्ने बताउनु भयो । नयाँ सटरबाट मासिक एक लाख ७० हजार रुपैयाँ भाडा संकलन भएपछि मन्दिर आत्मनिर्भर हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया