आउँदाे ३ दिन ठूलाे पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

 साउन ३१, २०७६ शुक्रबार २०:५:२८ | रासस
unn.prixa.net

काठमाण्डाै - मनसुनको न्यूनचापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले त्यसको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।

चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पूर्व र मध्यका तराई तथा चुरेका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार शुक्रबार राति देशभरि सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आगामी भदौ १ गते आइतबार पनि देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज काठमाण्डौको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । काठमाण्डौमा २७ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २०, धरानमा २८, सिमरामा ३८, भैरहवामा १६ र डडेलधुरामा १६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया