सुधारका लागि नेपाल वायुसेवा निगमका कागजात अध्ययन गर्दै कार्यदल

 साउन ३१, २०७६ शुक्रबार २०:२४:१८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ ले निगमका पुराना कागजातको अध्ययनका साथै  विज्ञसँग परामर्श गरिरहेको छ ।

समितिले निगमको समग्र व्यवस्थापन सुधारका लागि विगतका प्रतिवेदनको विस्तृत अध्ययन तथा विज्ञसँग छलफल तथा राय सुझाव लिँदै गरेको कार्यदलका संयोजक सुशील घिमिरेले जानकारी दिनुभयो ।

‘हामी (निगम सुधार सुझाव कार्यदल) ले काम शुरु गरिसकेका छौँ, अहिले निगमका पुराना प्रतिवेदन अध्ययन गर्नुका साथै विभिन्न विज्ञहरुलाई बोलाएर राय लिइरहेका छौँ, अब निगम व्यवस्थापन बोर्डसँग छलफल गछौँ, पूर्व पर्यटन सचिव तथा निगमका पूर्व महाप्रबन्धकहरुसँग पनि लिखित राय मागेका छौँ‘, उहाँले भन्नुभयो ।

निगमका कागजातको अध्ययन तथा विज्ञ एवं सरोकारवाला निकायको राय सुझाव लिएपछि कार्यदलले आफ्नो कामलाई किनारा लगाउने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (साउन २२ मन्त्रिस्तर) को निर्णयअनुरूप पूर्वपर्यटन सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलका सदस्यमा लेखाविज्ञ (चार्टर्ड एकाउण्टेण्ट) सुबोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया