ललितपुरको पुल्चोकमा तिज व्यापार मेला

 साउन ३२, २०७६ शनिबार १०:५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको पुल्चोकमा तिज व्यापार मेला सुरु भएको छ ।

आइतबारसम्म चल्ने मेलामा महिला उद्यमीले तयार पारेका हस्तकलाका सामान तथा खाद्य सामग्री राखिएको छ ।

मेला १० हजार जनाले अवलोकन गर्ने आयोजक विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ । महिलाले पनि केही गरेर देखाउन सक्छ भन्ने सन्देश दिनका लागि मेला गरिएको सहकारीका अध्यक्ष रेखा अर्यालले जानकारी दिनुभयो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कला, सीप र उत्पादनका लागि महिला उद्यामीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुना सामान, हाते कागजका बस्तुहरू, काष्ठजन्य बस्तुहरू, जैविक खाद्यपदार्थ, सजावटका सामानलगायतका एक सय स्टल राखिएका छन् ।

मेलामा सहभागी घरेलु तथा साना महिला उद्यमीहरुले घरेलु हस्तकलाका समस्यालाई ठूला व्यपारीले नबुझेको गुनासो गरेका छन् । कार्यक्रममा स्वच्छ व्यवसायी संघका अध्यक्ष मिरा भट्टराईले सन् २००६ देखि महिला उद्यमीहरुका लागि व्यापार प्रवद्र्धन गर्न मेला सुरु गरिएको बताउनुभयो ।

महिला उद्यमी महासंघका अध्यक्ष शारदा रिजालले विश्वमा ५३ औँ स्थानमा नेपालका महिला उद्यमीहरु रहेका भन्दै राजनीतिमा लागेका महिलाले पनि महिलाको आर्थिक शसक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

मानुसीकी अध्यक्ष एवं महिला उद्यमी पदमासना शाक्यले महिला उद्यमीहरुमा सुचना, नेटवर्किङ र काउन्सिलिङको अभाव रहेको भन्दै केही गरेर देखाउने महिलाको थलोको रुपमा विन स्थापित भएकोमा खुसी व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया