छात्रावासमा पानी नहुँदा दृष्टिविहिन विद्यार्थीलाई खानेपानीकाे समस्या, शौच गर्न जंगल जान्छन्

 भदौ १, २०७६ आइतबार ६:४२:३३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – दृष्टिविहीन विद्यार्थीहरु बस्ने छात्रावासमा पानी नहुँदा समस्या भएको छ । छात्रावासमा पानी नहुँदा विद्यार्थीहरु दिनहुँ घण्टौँ हिँडेर पानी लिन जान बाध्य छन् ।   

सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यामिक विद्यालय नराकोटमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाको छात्रावासमा बस्ने विद्यार्थीहरुका लागि पानी नहुँदा उनीहरुको अधिकांश समय पानी लिन जानमा नै बित्छ ।  

छात्रावासमा पानी नहुँदा बिहानैदेखि लाइन लाग्नु पर्नै बाध्यता रहेको विद्यार्थी चैतु बुढाले बताउनुभयो । ‘खानेपानी नहुँदा नराकोट गाउँमा पुगेर हरेकका धारा चाहार्नुपर्छ । पालो पाएपछि पानी भरेर ल्याउने भएकाले कतिपय दिन विद्यालय जान पनि ढिलो हुन्छ,’ चैतुले भन्नुभयो ।  

‘छात्रावासमा शौचालय छन् । खानेपानीका धारा पनि छन् । नुहाउने बाथरुम छन्, खानेपानीको ट्यांकी पनि छन् तर कसैले पनि पानी जडानमा ध्यान नदिँदा विद्यार्थीहरु शौचालय गर्न जंगल जानुपर्ने बाध्यता छ’, दृष्टिविहीन स्रोत कक्षाकी शिक्षिका शान्ति रोकायाले गुनासो गर्नुभयो । 

दृष्टिविहीन विद्यार्थीहरु शौचालयका लागि जंगलमा जाने गरेको र कहिलेकाहीँ फोहोर कुल्चेर आउने गरेको बताउनु भयो । पानी नहुँदा कपडा धुन भिरालो बाटो एक घण्टा लगाएर हिमा नदीमा जानपर्ने र विद्यार्थी नदीमा बग्छन् कि भन्ने डरले पिरोलिरहेको शिक्षिका रोकायाले बताउनुभयो । छात्राहरु महिनावारी हुँदा निकै ठूलो समस्या हुने गरेको उहाँले भन्नुभयो । 

‘धेरै पटक यो समस्या विभिन्न सरोकारवाला निकायहरुसँग राख्दा पनि सुनुवाइ हुन सकेको छैन । गाउँपालिकाले पनि खानेपानीका लागि सहयोग गर्छु भनेको छ तर गरेको छैन’, स्रोतकक्षा शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । 

विद्यालयका निमित्त प्रधानाध्यापक देवराज धितालले भन्नुभयो, ‘खानेपानीको मुहान टाढा छ तर छात्रावासमा पटक पटक धारा जोडे पनि बीचमा काट्ने चलन भएकाले समस्या भएको छ ।’ 

नयाँ भवन पनि चुहिन थाल्यो 

दृष्टिविहीन विद्यार्थीहरुका लागि मध्यनजर गर्दै प्लान नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाले बनाएको भवन हस्तान्तरण गरेको एक महिनामै चुहिन थालेको छ । 

नयाँ भवन चुहिन थालेपछि वर्षायाममा विद्यार्थीहरुलाई सुत्न समेत कठिन भएको शिक्षक दत्तबहादुर बुढाले बताउनुभयो । ‘छतमा लगाइएको जक्सनबोर्ड चुहिएर कोठाभरि पानी हुन्छ । एक दिन पानीले भिजेको जक्सनबोर्ड माथिबाट खस्दा झण्डै विद्यार्थीलाई लागेको थियो’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया