जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

 असार २७, २०७५ बुधबार १३:२८:२० | नेत्र शाही

जुम्ला – कर्णालीमा पर्यटन प्रवर्द्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथन बुधबार सुरु भएको छ । 

पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु गरिएको हो ।

जुम्ला रारा अल्ट्रा म्याराथोन प्रतियोगितामा अन्तराष्ट्रिय धावकदेखि साहित्यकार तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको सहभागिता रहेको छ । 

अन्तराष्ट्रिय धावक  सुनमाया बुढा पनि जुम्ला देखि रारा तालसम्मको  प्रतियोगितामा सहभागिता भएकी छिन् । 

‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराई पर्यटन प्रबद्र्धन गर्नका लागि अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

उनका अनुसार,  खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने तथा रारा कर्णाली पर्यटन बर्ष २०७५ लाई सफल पार्न पनि प्रतियोगिताले सघाउनेछ ।

शाहीका अनुसार राष्ट्यि स्तरको अल्ट्रा म्याराथोन प्रतियोगितामा राष्ट्यि स्थानीय गरी ८० खेलाडी सहभागी भएका छन् ।

जिल्ला बाहिरका मात्रै ३६ खेलाडीले सहभागिता जनाएका छन् । विभिन्न प्रतियोगितामा गएर उपाधि पाइसकेका खेलाडीहरु पनि सहभागी छन् । ती मध्य १६ जना महिला रहेका छन् । 

जुम्ला सदरमुकामदेखि सुरु भएको दौड मुगुको हुटु लेकमा सकिने सकिने छ । जुम्ला सदरमुकामको चन्दननाथ मन्दिर अगाडिबाट सुरु गरिएको ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टाकामा मिट प्वाइन्टमा पुगिसक्नु पर्ने कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।

‘जुम्ला रारा अल्ट्रा म्याराथोनको रुट जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुँदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ ।’

प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लबलगायतका खेलाडी सहभागी हुने भएका छन् । 

पर्यटन प्रबद्र्धन र खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला, चन्दननाथ नगरपालि लगायतको समन्वयमा ११ लाख लागत बजेटमा उक्त प्रतियोगिता हुने भएको आयोजक क्लबले जनाएको छ ।

 चार स्थानमा चेकिङ प्वाइन्ट  

प्रतियोगिता सुरु हुने जुम्ला सदरमुकाम चन्दननाथ मन्दिरदेखि मुगुको हुटु लेकसम्म पुगुन्जेलसम्मका लागि पाँच ठाउँमा खेलाडी चेक प्वाइन्ट राखिएको छ । बाटो भिरालो तथा अप्ठयारो भएका कारण खेलाडी हराउन सक्ने सम्भावना पनि छ ।

जुम्लादेखि मुगु पुग्दासम्म खाली, चौथा, बुलबुले र चुचामारे लेकमा चेक प्वाइन्ट स्थापना गरिएको आयोजकले जनाएको छ । 

यसैगरी बीच बाटोमा आउने सक्ने स्वास्थ्य खराबीलाई मध्यनजर गर्दै पाँच स्थानमा स्वास्थ्य क्याम्प पनि राखिएको छ । नेपाली सेना, प्रतिष्ठान तथा स्वास्थ्य चौकीसँगको समन्वयमा पाँच स्थानमा स्वास्थ्य जाँच क्याम्प राखिएको आयोजकले जनाएको छ ।

च्यारेचौर, डाँफे लेक, काब्राचौर र चुचामारे लेकमा स्वास्थ्य क्याम्पका साथ स्वास्थ्यकर्मी तयारी अबस्थामा राखिएको छ । जुम्ला रारा अल्ट्रा म्याराथनलाई सफल पार्न ५० जना स्वयसेवकहरु परिचालन गरिएको छ ।

उद्घाटन कार्यक्रममा चन्नदननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल, एथलेटिक्स संघ केन्द्रीय प्रशिक्षक राजिब विक्रम शाहको उपस्थिति रहेको थियो । प्रतियोगिता मुगुको राराताल सम्म पुगेर सकिनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Jiban Neupane

    July 11, 2018, 1:54 p.m.

    I am interested about ultra marathon but i can found your notice please next time make you information broad i mean all most people easily can take your notices

  •  0 Reply

तपाईको प्रतिक्रिया